नेपाल ट्रष्टको नाममा रहेका जग्गाको संरक्षण गर्न कर्मचारीलाई मन्त्री अधिकारीको निर्देशन – Nepal Press

नेपाल ट्रष्टको नाममा रहेका जग्गाको संरक्षण गर्न कर्मचारीलाई मन्त्री अधिकारीको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टको नाममा रहेको जग्गाको रेखदेख संरक्षण र यसको सम्पत्तिलाई उपयोगी हुने गरी प्रयोग गर्न सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको कार्यालयमा अध्यक्षको रूपमा पहिलो पटक नेपाल ट्रष्टको कार्यालय पुगेर मन्त्री अधिकारीले मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

नेपाल ट्रष्टसंग काठमाडौं लगायत देशका विभिन्न भूभागमा जग्गा जमिन, ऐतिहासिक दरबार, व्यावसायिक भवनहरू, विभिन्न निकायमा सेयर रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले भएका सम्पत्तिमार्फत ट्रष्टलाई मुनाफा हुने गरी कानुनसम्मत तरिकाले काम गर्न र ट्रष्टमातहत ल्याउनुपर्ने जग्गा तथा भवनहरूको खोजबिन गर्न मन्त्री अधिकारीले निर्देशन दिए ।

मन्त्री अधिकारीले ट्रष्टका सचिव रामआधार शाहलाई हालसम्मको प्रगति विवरण र आउने आर्थिक वर्षमा अनिवार्य सम्पादन गर्न सकिने कामहरूको लिष्ट तयार गरेर जतिसक्दो छिटो जानकारी गराउन पनि निर्देशन दिए ।

प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको अध्यक्ष प्रधानमन्त्रीले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई जिम्मेवारी तोकेका थिए ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले “राजा वीरेन्द्र, रानी ऐश्वर्या र निजहरूको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’ भन्ने व्यवस्था गरे बमोजिम नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भई नेपाल ट्रष्ट स्थापना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर