अनेरास्ववियु सुनसरीमा विवाद- प्रदेश अध्यक्षलाई काउन्टर दिँदै जिल्ला इन्चार्जले बनाए समानान्तर कमिटी
विराटनगर । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु सुनसरीको नयाँ नेतृत्व चयनमा विवाद हुँदा समानान्तर कमिमटी बनाइएको छ । एउटा कमिटीको अध्यक्षमा उज्ज्वल सिग्देल छन् भने अर्को कमिटीको अध्यक्षमा शेखर रेग्मीको नाम छ ।
अनेरास्ववियु सुनसरीको साउन ४ र ५ गते २३औं जिल्ला अधिवेशन भएको थियो । केन्द्रीय अध्यक्ष समिक बडालले उद्घाटन गरेको अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि स्थगित भयो । अधिवेशनले ५१ सदस्यीय प्लेन कमिटी गठन गरेको थियो । प्लेन कमिटीबाट सर्वसम्मत पदाधिकारी चयन गर्ने भन्दै बन्द सत्र सकिएको ३ सातापछि एकैपटक दुई वटा कमिटी गठन भएका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रदेश अध्यक्ष जीवी गजलले एउटा र केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले अर्को कमिटी घोषणा गरेपछि सुनसरी अनेरास्ववियुको विवाद सतहमा आएको हो । दुवैले प्लेन कमिटीको बहुमतबाट पदाधिकारी छनौट गरिएको दाबी गरेका छन् ।
पदाधिकारी चयनमा विवाद उत्पन्न भएर नेतृत्व चयन नगरी अधिवेशन सम्पन्न भएपछि एमाले सुनसरीले यस विषयमा कार्यदलसमेत बनाएको थियो । कार्यदलको सुझावका आधारमा उज्ज्वल सिग्देलको अध्यक्षतामा पदाधिकारी घोषणा गरेको प्रदेश अध्यक्ष गजलले दाबी गरे । उनले साउन २६ गते पदाधिकारी घोषणा गरेका हुन् ।
उनले घोषणा गरेको कमिटीको उपाध्यक्षमा शेखर रेग्मी, आदित्य खड्का, सुनिल सुब्बा छन् । सुरज भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् भने सहसचिवमा चित्रमान राई,अरुण चौधरी र आदर्श पोखरेल चुनिएका छन् । कोषाध्यक्षको जिम्मेवारी मन्दिरा लिम्बूले पाएकी छन् । बाँकी सदस्यहरू भूगोल, जात तथा लिङ्गका आधारमा समावेशी रूपमा छनौट गरिएको गजलले बताए । उनले प्लेन कमिटीका बहुमत सदस्य र पार्टीको लाइनअनुसार आफूले पदाधिकारी चयन गरेको दाबी गरेका छन् ।
उनले भने, ‘मैले पार्टीको लाइन अनुसार र बहुमत सदस्यको हस्ताक्षरमा पदाधिकारी छनौट गरेको हो । यसमा कुनै विवाद छैन । कसैले नाम राख्दैमा अर्को कमिटी बन्दैन ।’
आफूले घोषणा गरेको कमिटी आधिकारिक भएको उनको जिकिर छ । संगठनको नीतिविपरीत नाम घोषणा गर्ने विषय कारबाहीयोग्य भएको उनको भनाइ छ ।
गजलले पदाधिकारी चयन भएको घोषणा गरेसँगै केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले शेखर रेग्मीको अध्यक्षतामा नयाँ समानान्तर कमिटी घोषणा गरेका छन् । रेग्मीले साउन २७ गते घोषणा गरेको कमिटीको उपाध्यक्षमा उज्ज्वल सिग्देल, सन्तोष तामाङ छन् भने सचिवमा आदर्श पोख्रेललाई जिम्मेवारी दिइएको छ ।
रेग्मीले घोषणा गरेको कमिटीमा सहसचिवमा एनिस रेग्मी, रुजु राई, इबेश डाँगी र चित्रमान राईको नाम छ । कोषाध्यक्षमा संकल्प खतिवडा र कार्यालय सचिवको जिम्मेवारी सुनील सुब्बालाई रेग्मीले जिम्मेवारी दिएका छन् । उनले बहुमत सदस्यको उपस्थितिमा कमिटी गठन गरेको दाबी गरेका छन् ।
एमाले सुनसरी सचिव राम कोइरालाले पार्टीसँगको सल्लाहअनुसार प्रदेश अध्यक्षले बहुमत सदस्यको सहमतिमा पदाधिकारी चयन गरेको बताए । उनले प्रदेश अध्यक्ष जीबी गजलले घोषणा गरेको कमिटी आधिकारिक भएको बताए ।