विनोद चौधरीको आशंका- कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अलमलिएको हो ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अल्मलिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । पटक पटक भएका राजनीतिक आन्दोलनको मात्रै नभई आर्थिक विकासको नेतृत्व गरेको कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अस्पष्ट भएको बताउँदै दोस्रो चरणको सुधारमा आशंका गरेका हुन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा सांसद चौधरीले कांग्रेसको आर्थिक विकास गर्ने क्षमतामै प्रश्न उठाए ।
उनले भने, ‘यो देशको ठूलो पार्टी, लामो इतिहास भएको पार्टी अहिले पनि स्थानीय तहदेखि केन्द्रसम्म पहिलो पार्टी हो कांग्रेस । पटक पटक भएका राजनीतिक आन्दोलनको मात्रै नभई आर्थिक विकासको नेतृत्व गरेको हाम्रो पार्टीको आर्थिक नीति र दृष्टिकोण के हो भन्ने कुरा अस्पष्ट छ । कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने कुरामा अलमलिएको हो कि भन्ने देखिन्छ ।’
आर्थिक सुधारको नेतृत्व लिने विषयमा अलमलिए ८० प्रतिशतभन्दा बढी लगानी भएको नीजि क्षेत्रको निराशा चिर्ने अवसरबाट कांग्रेस बञ्चित हुने उनको भनाइ छ ।
निजी क्षेत्रको नेतृत्व गर्ने कांग्रेस नै अलमलिनु चिन्ताको विषय बताउँदै उनले भने, ‘८० प्रतिशतभन्दा बढि लगानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला अत्यन्तै निराश छ, त्रसित छ । कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्दैछ भन्ने कुरामा अन्योल छ । निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ ।’
यस्तै अहिले भएको कांग्रेस र एमाले सहमति अनुसार अगाडी बढ्न सके देशले काँचुली फेर्ने उनको भनाइ छ । यसका लागि एमाले कांग्रेस विचको अन्तरविरोध हटाउनु पर्ने चौधरीले सुझाए । चौधरीले एमाले कांग्रेस विचको अन्र्तविरोध हटाउँन सके अस्थिरताको चक्रब्युहबाट देशलाई बाहिर निकाल्न सक्ने बताए । तर यसको लागि अर्थतन्त्र राजनीतिको केन्द्रविन्दुमा हुनुपर्ने उनको भनाइ छ ।
कृषिको उत्पादन दिनप्रतिदिन कम हुँदै जाँदा जीडीपीमा यसको अंश २५ प्रतिशत घटेको छ भने कृषिमा निर्भर जनसंख्याको अनुपात अझै ५० प्रतिशतभन्दा बढि छ । यसले कृषि क्षेत्रमा जोडिएका जनताहरुको अवस्था कमजोर बन्दै गएको चा्रैधरीको भनाइ छ ।
वर्षेनी हुने मल अभाव, बेरोजगार युवाहरु, निराश जनता, मल नपाउने किसान, उद्योगधन्दा चलाउनै नसक्ने परिस्थितिबाट गुज्रिरहेका उद्यमी व्यवसायीहरुका अगाडि कस्तो नेपालको खाका पस्किने हो भनेर स्पष्ट भिजन ल्याउने बेला भएन भन्दै केन्द्रिय समितिलाई चौधरीले प्रश्न गरे ।