चलचित्र संगीतमा दुर्गेशको धमाकेदार इन्ट्री, ‘ह्रस्व-दीर्घ’ को गीत २ दिनमै हिट – Nepal Press

चलचित्र संगीतमा दुर्गेशको धमाकेदार इन्ट्री, ‘ह्रस्व-दीर्घ’ को गीत २ दिनमै हिट

काठमाडौं । केही दिनअगाडि मात्रै गायक दुर्गेश थापाले आफू सुध्रिने घोषणा गरेको भनेर मिडियामा निकै चर्चा भयो । खासमा उनले अबदेखि गीतको शब्द चयनमा ध्यान दिने र राम्रो टीमसँग मात्रै काम गर्ने अर्थमा अभिव्यक्ति दिएका थिए ।

संयोगले अहिले दुर्गेशको एउटा नयाँ गीत दर्शक/स्रोताको रोजाइमा परेको छ, जसले उनको पुरानो छविलाई बदल्न सहयोग पुग्न सक्छ । असाेज ३ मा प्रदर्शनमा आउन लागेकाे चलचित्र ‘ह्रस्व दीर्घ’ का लागि आफ्नै शब्द र संगीतमा उनले यो गीत तयार पारेका हुन् ।

दुर्गेशले आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्केर ‘एक्पेरिमेन्ट’ गरेका छन् । आध्यात्मिक भावमा रचिएको भए पनि गीत पूर्णरुपमा व्यवसायीक छ ।

‘हे कृष्ण उठेर नाचिस्यो, बसेर नाचिस्यो…’ बोलको गीत लाई दर्शक/स्रोताले निकै मन पराएको देखिन्छ । गीतले २४ घन्टाभित्रै १० लाख भ्यूज क्रस गरेको थियो । कमेन्ट बक्समा दुर्गेशको अत्यधिक प्रशंसा भएको छ । गायकीमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । सदिच्छाको आवाज निकै सुमधुर सुनिएको छ ।

भव्य सेटमा छायांकन गरिएको गीतको कोरियोग्राफी पनि दमदार छ । नायिका नीता ढुंगानाको आकर्षक कोरस नृत्य हेर्न पाइन्छ । उनलाई हरिहर अधिकारीले साथ दिएका छन् । आउँदै गरेको श्रीकृष्ण जन्माष्टमीमा यो गीत निकै गुञ्जन सक्नेछ ।

चलचित्र ह्रस्व दिर्घको निर्माण अभिनेत्री नीता ढुंगानाले गरेकी हुन् । उनले यस्तो गीतका लागि दुर्गेशलाई किन अफर गरिन् त ?

खासमा उनी फिल्मको लागि प्रमोसनल गीतको अफर लिएर दुर्गेशकहाँ पुगेकी थिइन् । त्यस क्रममा दुर्गेशले आफूले पहिल्यै लेखेको यो गीत देखाएपछि उनी लोभिइन् ।

यद्यपि, त्यसबेला लिरिक्समा भगवान कृष्णलाई जोडिएको थिएन । नीतासँग सल्लाह भएपछि श्रीकृष्णलाई जोडेर गीतलाई आध्यात्मिक कलेवरमा ढालिएको हो ।

दुर्गेशले यसअघि ‘छक्का पञ्जा’ का लागि प्रमोसनल गीत गाए पनि फिल्ममै समावेश गीत तयार गरेको पहिलोपटक हो । पहिलो प्रयासमै सफलता पाएपछि उनी दंग छन् । थप चलचित्रका गीतमा काम गर्न उनलाई प्रेरणा मिलेको छ ।

उनी भन्छन्, ‘अब चल्छ भन्दैमा जस्तो पायो त्यस्तो गीत गाउँदिन । राम्ररी सोचविचार गरेर मात्रै काम गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *