सरुवा भएर आएका प्रशासकीय अधिकृतलाई रोक्न हाजिर खाता बोकेर मेयर बेपत्ता
चितवन । राप्ती नगरपालिकाका मेयर मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न हाजिरी कपी नै लिएर सम्पर्कविहीन भएका छन् ।
पूर्वी चितवनको यस नगरपालिकामा यसअघिका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते सत्यनारायण साहलाई पठाएको थियो ।
धनुषाको जिल्ला समन्वय समितिबाट रमाना लिएर साह आज हाजिर हुन गएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सरुवाको पत्रमा मेयर शमसेर लामाले हाललाई हाजिर गराउन नसक्ने जवाफ लेखिदिएर सम्पर्कविहीन भएका हुन् ।
राप्तीमा हाजिर हुन आएका साहले नेपाल प्रेससँग भने, ‘हाजिरी गराउन नसक्ने पत्र दिएर तपाईँलाई हाजिरी गराउन सकिँदैन भन्नुभयो । अनि मेयर सा’प कता जानुभयो थाहा छैन ।’
कर्मचारीलाई सोध्दा हाजिरी खाता मेयर सा’बले बोकेर जानुभएको जवाफ दिएको वडा नम्बर ४ का अध्यक्ष केदार आचार्यले बताए ।
उनले थमाएको पत्रमा नगरपालिकाको काम कारबाहीबारे उच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा उक्त विषय थाहा नभएको कारण हाजिरी गराउन नसकिने लेखेका छन् ।
मेयर लामाबाहेक उपमेयर देवेन्द्र लामासहितका सबै जनप्रतिनिधि भने सरुवा भई आएका प्रशासकीय अधिकृतलाई हाजिर गराउनुपर्नेमा एकमत छन् । उनीहरू दिनभर मेयर आउने आशामा नगरपालिका कार्यालय कुरिरहे पनि मेयर लामा दिनभर सम्पर्कमा आएनन् ।
नेपाल प्रेसले पनि नयाँ प्रशासकीय अधिकृतलाई हाजिरी गराउन नसक्ने कारणबारे बुझ्न पटक-पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।
राप्तीका अधिकांश वडा नेकपा एमालेले जितेको छ । निर्वाचित जनप्रतिनिधि पनि मेयरसहित ३ जनामात्रै नेकपा एसका छन् । नगरको कार्यपालिका बैठकमा आफू अल्पमतमा पर्ने भएकोले मेयर लामाले बैठक नबोलाएको उनीहरूको आरोप छ ।
जनप्रतिनिधिको यही विवादका कारण १० महिनापछि साउन २५ मा बसेको थियो । यसवर्षको नीति, कार्यक्रम तथा बजेट पनि पास भएको छैन ।