कांग्रेस बैठक भदौ ७ सम्मलाई स्थगित (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गते बस्नेगरी स्थगित भएको छ ।
पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि बैठक भदौ ७ गते बस्ने गरी स्थगित गरिएको हो । पदाधिकारी र पूर्वपदाधिकारीले मात्रै धारणा राख्न बाँकी रहेको र आगामी बैठकमा त्यसले निरन्तरता पाउने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
सोमबारको बैठकमा चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्यलगायतले धारणा राखे । धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले वर्तमान सरकार सफल हुनुपर्ने, सुशासनका विषयमा खरो उभिनुपर्ने, पार्टीलाई तल्लो तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले सुनाए ।
आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका विचारलाई समावेश गरेर परिमार्जन पारित गर्ने र र समसामायिक विषयमा समेत निर्णय लिने महतले बताए ।
सोमबारको बैठकले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्म जयन्तीका अवसरमा उच्च सम्मान साथ श्रद्धासुमन अर्पण गर्ने निर्णय गरेको छ ।