शेयर मूल्यमा आकर्षक वृद्धि देखिएको नेपाल लाइफको वित्तीय अवस्था कस्तो छ ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा बढाएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफको नाफा ३०.८१ प्रतिशतले बढेर ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । जबकि अघिल्लो वर्ष कम्पनीले ३९ करोड २९ लाख १५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
कुल आम्दानी १२.३४ प्रतिशतले बढेर ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । बीमा कोषको आकार १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ भन्दा धेरैको छ ।
चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ । यस्तै प्रतिशेयर आम्दानी ६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ । यही आम्दानीका कारण कम्पनीको नाफा बढेको हो ।
नेपाल लाइफको दोस्रो बजारमा ९९५ रुपैयाँ प्रतिकित्ता शेयर मूल्य रहेको छ ।