कोशी प्रदेशमा उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु
विराटनगर । कोशी प्रदेशमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु भएको छ । प्रदेशका ५ वटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो ।
मङ्गलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबिच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो ।
झापाको गौरा दह नगरपालिका, सुनसरीको राम धुनी नगरपालिका, खोटाङको ऐसेलु खर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ ।
प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रममा प्रदेश सरकारले ४० लाख, पालिकाले २० लाख र दायित्वले १५ लाख रुपैयाँ यो कार्यक्रममा खर्च गर्नेछ ।
सम्झौता कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशीलता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
उनले रोजगार वृद्धि गर्न र बजारीकरणको लागि प्रदेश सरकार लागिपरेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दाबी गरे ।
कार्यक्रमबाट २०० व्यक्तिलाई उद्यमशीलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब १ लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्लले बताए ।