रास्वपाका सांसदको आग्रह : ‘बाहरू’ले काण्डमा कारबाहीको नयाँ एपिसोड देखाइदिनुहोस् (भिडिओ) – Nepal Press

रास्वपाका सांसदको आग्रह : ‘बाहरू’ले काण्डमा कारबाहीको नयाँ एपिसोड देखाइदिनुहोस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले नेटफिलिक्सको वेब सिरिजमा रमाउने आजको पुस्तालाई देश भित्रका ‘बा’ले काण्डमा कारबाही गरेको नयाँ एपिसोड हेर्न युवा पुस्ता आतुर रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा उनले ओलीफिलिक्सको वेब सिरिज हेर्न टेरामक्स होस् कि टि–इस्टेट, टीकापुर होस् कि सहकारी खोलीदिन आग्रह गरेका हुन् ।

सांसद साहले सबैको फाइल २०४७ साल यताका सबै काण्डको अनुसन्धान गर्नका लागि आग्रह गर्दै भने, ‘नेटफिलिक्सको वेब सिरिजमा खुब रमाउने आजको पुस्तालाई देश भित्रका ‘बा’हरुले काण्डहरुमा कारबाहीको नया–नयाँ एपिसोड, देखाउन युवा पुस्ता आतुर छ यस्तो ओलीफिलिक्सको वेब सिरिज हेर्न टेरामक्स होस् कि टि–इस्टेट, टीकापुर होस् कि सहकारी, खोलदिनुस सबको फाइल ४७ साल यताका सब काण्डको अनुसन्धान गर्नुस् ।’

सांसद साहले सदनबाट जसले जतिसुकै विश्वासको मत पुष्टि गरे पनि जनताबाट सबै राजनीतिक दलले विश्वासको मत गुमाईसकेको बताउँदै सरकारको नेतृत्वमा जोसुकै आए पनि आम नागरिकमा कुनै उत्साह नरहेको बताए । उनले यस्तो राजनीतिक अस्थिरतामा स्थिर आम नागरिकमा देखिएको अविश्वास र निराशा मात्रै रहेको बताए ।

सांसद साहले अब विदेश पलायन युवा नभएर युवा बेच्ने नेतृत्वको पलायन आवश्यक छ भन्ने युवामा आक्रोश भएको देखेको बताउदैँ अहिले युवामा आक्रोश र जोशको आगो बलेको र यस्तो हुँदा समेत कसैले नचेत्ने हो बंगलादेशकी हसिना जस्तै नेपालका राजनीतिक नेतृत्वले पनि भाग्ने दिन छिट्टै आउन सक्ने भन्दै होसियार हुन आग्रह गरे ।

रास्वपाका सांसद साहको भनाइ जस्ताको त्यस्तै

सभामुख महोदय,

फेसबुकमा एउटा चर्चित ग्रुप छ, मेन्स रूम रीलोडेड, त्यहाँ अस्ति कसैले सोधिरहेका थिए, ‘देशभित्र बस्दा ठीक की विदेश ठीक ?, त्यो पोस्टमा आउने कमेन्ट लगभग सबैको विदेश विदेश विदेश छ । कक्षा १२ सक्ने बित्तिकै जोकोहि बाहिरिन चाहन्छन् । युवा पलायनको महामारी नै चलिरहेको छ । मेरा अधिकांश साथीहरु विदेश छन्उ । उनीहरूको नेपाल जोड़ने कड़ी आफ्नो आमा बुबा मात्र हुन ऊनीहरुको मृत्यु पछि त्यो पनी बन्द हुन्छ । अहिले जुँगाको रेखी नबस्दै देश छाड़नेको लर्कों छ, के देखाएर देश फर्काउने ऊनीहरुलाई ? बिदेशबाट युवा हामिलाई फÞर्कÞीने बाताबरण बनाऊनूस है रबी दाई भन्छन्, अनी म रबी दाई लाई हेर्छु । अनि म्यूजिकल चेयरमा बस्ने हाम्रो नेतृत्वलाई हेर्छु । आफÞै लज्जित हुन्छु ।

अबको केही वर्ष भित्रमा हामीलाई युवा दक्ष कर्मचारीको हाहाकार हुनेवाला छ । हाम्रा सेना प्रहरीमा भर्ती हुनेको सङ्ख्या पुर्याउन मुस्कील हुनेवाला छ ।

हाम्रा गाउँघरका क्याम्पस, कलेज रित्तिसके । विश्वविद्यालयले विद्यार्थी पाउन छाडिसके । एउटा समाज चलाउन समाज भित्र किसान चाहिन्छ, पसले चाहिन्छ, कपडा सिलाउने (टेलर) चाहिन्छ, कपाल काट्ने हजाम चाहिन्छ, विद्युतीय समान बनाउने मेकानिक चाहिन्छ, गाडी चलाउने ड्राइभर चाहिन्छ, समाजमा हामीलाई चाहिने सम्पूर्ण जनशक्ति पर्याप्त मात्रामा छन् त पक्कै छैन, देशबाट बाहिरिनेको लहर हेरौं । अवस्था चिंताजनक छ, तैपनि हामी यस विषयमा गम्भीर देखिँदैनौं, चिन्तित देखिदैनौं ।

हामीलाई चिन्ता छ त केवल सरकार गठन र विघटन मात्र । हामीले सदनबाट जसले जतिसुकै विश्वासको मत पुष्टि गरे पनि जनताबाट हामी सबैले विश्वासको मत गुमाईसक्यौं । सरकारको नेतृत्वमा जोसुकै आओस् आम नागरिकमा कुनै उत्साह छैन । यस्तो राजनीतिक अस्थिरतामा स्थिर केही छ भने त्यो आम नागरिकमा देखिएको अविश्वास र निराशा मात्र हो ।

घरमा बाआमा आफु सही बाटोमा हिंड्न सके भने मात्र छोराछोरीलाई अनुशासनमा बाँधेर घर भित्र राम्रो वातावरण बनाउन सक्छन् । देशको हकमा पनी उस्तै हो सभामुख महोदय । यो देशमा प्रधानमन्त्री बनेका ‘बा’को जिम्मामा यो देशका नागरिक छन् । बा सही बाटोमा हिँडे मात्र देश भित्रका छोराछोरीलाई अनुशासनमा देश भित्रै राख्न सकिन्छ । देशको नेतृत्वमा रहेका ‘बा’हरुले नै गलत कामलाई बड़ावा दिने हो भने छोराछोरी के देखेर देशमा बस्ने ? नाती पुस्ता ले के सिक्ने ?

केही दिन अगाडिको बंगलादेशको घटनाले झस्काएको छ । यो युवा पलायनको महामारी भोग्न बाध्य युवाको आक्रोशले कतै देश लुट्नेलाई भगाउने आन्दोलन नथालुन् । अब पलायन हुने युवा होइन युवा बेच्ने नेतृत्वको पलायन आवश्यक छ भन्ने युवामा आक्रोश भएको देखछु । हसिनालाई देखेर कति नेतृत्वको पसिना आयो की आएन होला, तर युवामा आक्रोश र जोशको आगो बलेको छ । यस्तो हुँदा समेत कसैले नचेत्ने हो भने भाग्ने दिन छिट्टै आउन सक्छ । होसियार हुनुहोस् ।

सदनमा एक जना माननीय ज्यूले हामी सत्तापक्षमा हुँदा दिनु भएको भाषण खुब मनपरेको थियो । सायद सरकारमा गएपछि उहाँले बिर्सनु भयो कि ? उहाँको, सरकारको र सम्पूर्ण सांसदको ध्यानाकर्षणका लागि म पुनः उहाँको मन्तव्य दोहोर्याउन चाहन्छु । उहाँ भन्नुहुन्थ्यो, एउटा पनि काण्डमा संलग्न भएको एक जनाले पनि मुक्ति नपाओस् । दाहिने बस्ने होस् की देब्रे बस्ने होस्, कसैले उन्मुक्ति नपाओस् । नेता होस् कि नाता पर्ने होस्, कसैले उन्मुक्ति नपाओस् । रुखको छहारी मुनि बस्ने होस् की घाम ताप्ने होस्, हँसिया हथौडा बोक्ने होस् कि घण्टी बोक्ने होस्, कसैले उन्मुक्ति नपाओस् । सुन्दा राम्रो लाग्ने, तर कार्यान्वयनमा उहाँको पार्टी र उहाँहरू सहभागि सरकारको कुनै चाल देखिँदैन । प्रतिपक्षमा रही सदनमा कराऊने साथीहरु अहिले सरकारमा हुनुहुन्छ । ‘खोई गाई, खोलाले बगायो, खोई खोला सुक्यो’ भन्ने बाल उखान जस्तै ‘खोई काण्ड, सत्ताले बगायो, खोई सत्ता, निदायो’ भन्नु पर्ने अवस्थाको सिर्जना भएको छ ।

नेटफिलिक्सको वेब सिरिजमा खुब रमाउने आजको पुस्ता लाई देश भित्रका ‘बा’हरुले काण्डमा कार्बाहीको नयाँ–नयाँ एपिसोड, देखाउन युवा पुस्ता आतुर छ यसतो ओलीफिलिक्सको वेब सिरिज हेर्न टेरामक्स होस् कि टि–इस्टेट, टीकापुर होस् कि सहकारी, खोलदिनुस सबको फाइल ४७ साल यताका सब काण्डको अनुसन्धान गर्नुस ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको भर पर्न छोड़ दिउ, खाली नापी विभागका साना–साना कर्मचारी देख्नेले ठुला माछा कहिले देख्ने ? बरु एउटा सर्वसक्तिमान उच्चस्तरीय न्यायिक आयोगको गठन गरौ, पूर्वप्रधानन्याधीशको नेतृत्वमा । यस अन्तर्गत सहकारी होस् कि अन्य जुनसुकै काण्ड होस सबैको छानविन होस् । सहकारी काण्ड भनेर प्रतिपक्षमा रहँदा कुर्लनेहरु सत्तामा पुगेपछि तै चुप मै चुप हुन थाले । मकै पोलेको पैसा भनेको हैन खोइ कैले न्याय दिने हो मकै पोल्ने लाई ? हाम्रो राजनीति, हाम्रो संसदीय अभ्यासमा जे कुरा गरिनुपर्ने, जे अभ्यासमा आउनुपर्ने, त्यो भएन । त्यो बाहेक सबै हुँदैछ । त्यसैले पनि जनतालाई जुनसुकै सरकार आए पनि ताप्केबाट खसेर भुङ्ग्रोमा भन्ने भइरहेको छ । की सच्चिने, की सक्किने भन्ने विषयलाई गम्भीरतापूर्वक हेरौं ।

संसारकै इतिहासमा संसदको प्रथम र द्वितीय पार्टी मिलेर सरकार निर्माण गर्ने घटना कमै हुन्छ । देशका नेतृत्वमा पदासीन बाहरुले नयाँ पुस्तामा आशा जोगाउने गरेर काम गर्नुहोस् ।

युवाले विस्वास गरेका कुलमान र बालेनसंग जÞोरी खोज्न छोडेर अन्तिम अवसरलाई इतिहासले सम्झिने गरी काम गर्नुहोस, युवा पलायनको महामारीलाई रोक्नुस । हामी आफै पनि रचनात्मक बहसमा लागौं । धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर