चार बंगलादेशी युवाबाटै सुनौं बंगलादेशकाे संकट र अबको बाटो – Nepal Press

चार बंगलादेशी युवाबाटै सुनौं बंगलादेशकाे संकट र अबको बाटो

काठमाडौं । साउन २१ मा कुर्सीबाट मात्रै होइन देशबाटै बहिर्गमन भएकी थिइन् शेख हसिना । सात महिना अगाडि मात्रै निर्वाचित प्रधानमन्त्री शेख हसिना अहिले भारतको शरणमा छिन् । हसिनाको बहिर्गमनसँगै बंगलादेशको राजनीतिक संकट चुलिएको छ । अन्तरिम सरकार बनेको छ । उच्च अधिकारीहरुले धमाधम राजीनामा दिइरहेका छन् । सदन छैन । निर्वाचित सरकार छैन । यस्तो अवस्थामा बंगलादेश आउनुको कारण जुलाई १५ बाट चर्किएको विद्यार्थी आन्दोलन हो ।

सुरुमा आरक्षणविरोधी आन्दोलन थियो । आरक्षणको माग पूरा भएपछि हसिनाविरोधी आन्दोलनमा परिणत भएको थियो । सुरुमा आरक्षण हटाउने एक बुँदे माग गरेको आन्दोलनले पछि नौ बुँदे माग अघि सार्‍यो । त्यसपछि आन्दोलनको स्वरुपमै परिवर्तन आयो ।

बंगलादेशको वर्तमान तरल राजनीतिक अवस्था, आरक्षणविरोधी आन्दोलनपछिको अवस्थाको बारेमा नेपाल प्रेसले बंगलादेशका चार युवासँग आठ प्रश्न गरेको छ । नेपाल प्रेसले जनबोली बुझ्नलाई बंगलादेशमा तथा बाहिर हुने चार जनासँग कुरा गरेको छ । एक जना हुन् बंगलादेशका युवा सफ्टवेयर इन्जिनियर मोहम्मद मिराज । उनी सन् २०१८ को आरक्षणविरोधी आन्दोलनमा सक्रिय अनुहार हुन् । गत जुलाईको आन्दोलनमा भने उनी दुई दिनमात्र सहभागी भएका थिए ।

अर्का हुन्, मोहम्मद हाफिज सिक्दर । मोमोडा फाउण्डेसनमा काम गर्ने उनी ढाकामा बस्छन् । उनी अहिलेको आन्दोलनमा फिजिकल तथा डिजिटल दुवै डोमेनमा सक्रिय थिए । यस्तै नौरोज इम्तियाज, जो बंगलादेशका पत्रकार तथा उद्यमी हुन् । उनले आन्दोलनलाई नजिकबाट हेरेका छन् ।

चौथो अनुहार हुन् एमबीबीएस र एमडी गरेर हाल चीनको पेकिङ विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका बंगलादेशी डाक्टर नाजमुस साकिब । उनी चीन बसेको १४ वर्ष भयो । फिजिकल डोमेनमा उनले आन्दोलन नबुझेपछि डिजिटल डोमेनबाट बुझेका छन् ।

नेपालप्रेसले यिनै चार जनासँग गरेको बंगलादेशी संकटको कुराकानीः

१) यो आरक्षणविरोधी आन्दोलन थियो, तर पछि हसिनाविरोधी हुन पुग्यो । आरक्षण बन्द गर्न सन् २०१८ मै भनिएको थियो । यो अदालती कुरा थियो । कसरी हसिनाविरोधी आन्दोलन हुन पुग्यो ?

मिराज : सन् २०१८ मै आरक्षण आन्दोलन भए पनि त्यसको कार्यान्वयन नभएको विद्यार्थीहरुलाई लागेको थियो । हालसालैको स्वतन्त्रता सेनानीलाई ३० प्रतिशत आरक्षण दिने कुराले त आन्दोलन सिर्जना गर्‍यो । सुरुमा आन्दोलन शान्तिपूर्ण नै थियो । हसिनाले मिडियाबाट रजाकर भनेर विद्यार्थीहरुलाई होच्याइन् । बंगलादेशमा रजाकर भनेका स्वतन्त्रता संग्राममा नजोडिएका जमात हुन् । विद्यार्थी आन्दोलनलाई बीएनपीको आन्दोलन भनिन् । बंगलादेशको जमात-इ-इस्लामीको आन्दोलन भनिन् । आन्दोलनमा दमन र बल प्रयोग भएर पनि हसिनाविरोधी हुन पुग्यो आन्दोलन ।

मोहम्मद मिराज ।

सिक्दर : खासमा यो अदालती मुद्दा थिएन । आन्दोलनकारीले सुरुबाटै भन्दै थिए, यो कार्यकारी कुरा हो, कानूनी होइन । सन् २०१८ मा सरकारले संविधानलाई नमिलाइ आरक्षण बन्द गरेको थियो, जसबारेमा उच्च अदालतले बोल्यो । सरकारले यो मुद्दा सहजै सुल्झाउन सक्ने थियो, तर उसले प्रदर्शन गर्ने विद्यार्थीहरुलाई गोली हान्न थाल्यो । त्यही भएको आरक्षणविरोधी आन्दोलन न्यायको आन्दोलनमा बदलियो । सरकारले आन्दोलनकारीहरुलाई रजाकर तथा लागुऔषधका अम्मली भनेपछि प्रदर्शन उग्र भयो । आवामी लिगको विद्यार्थी दस्ता, छात्र लिग र प्रहरी दुवैले दमन गर्दा आन्दोलनको रुप बदलियो र हसिनाविरोधी हुन पुग्यो ।

इम्तियाज : शेख हसिनाको पछिल्ल्लो १५ वर्षको सरकारले अभूतपूर्व विकास गरेको हो, तर असल शासन भने उनको पालामा भएन । शिक्षा तथा नैतिक विकासमा काम धेरै नभएको भन्दै चौतर्फी आलोचना भयो । सन् २००९ को चुनावमा भव्य जीत भएपछि धेरै लोकप्रिय आवामी लिगले पछि लोकप्रियता गुमाउँदै गयो । सुरुमा शान्तिपूर्ण भएको विद्यार्थी आन्दोलन पछि राजनीतिक बन्दै गयो ।

धेरैलाई विश्वास छ कि आन्दोलनको पछाडि अरु दलहरु र विदेशी शक्तिहरु पनि थिए । हसिना सरकारले छिटो समाधानभन्दा खराब प्रतिक्रिया दिएर आन्दोलन लम्ब्यायो । प्रहरी र आवामी लिगका विद्यार्थीहरुले पनि आन्दोलनमा दमन गरे । सरकारले इन्टरनेट बन्द ग¥यो ।

डाक्टर साकिब : आरक्षण सुधार्न आन्दोलन सुरुमा आरक्षणकै मुद्दामा जोडिएको थियो, तर सरकारी दमनपछि यसले अर्को स्वरुप लिएको हो । सन् २०१८ मा हसिनाले आरक्षण सुधार गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलन उठेको हो ।

२) कहिलेबाट गैरविद्यार्थीेहरु आन्दोलनमा जोडिए ?

मिराज : सुरुमा विद्यार्थीमात्रै सहभागी भएको आन्दोलनले जुलाई १५ पनि मिडियामा स्थान पाउन थालेपछि अरु पनि जोडिए ।

सिक्दर : हाम्रो एक बुँदे माग बदलिएर नौ बुँदेमा परिवर्तन भयो । म जस्ता मान्छेहरु न्यायको आन्दोलनमा जोडिए ।

इम्तियाज : यो आन्दोलन अचानक भएको आन्दोलन नभएर योजनाबद्ध आन्दोलन थियो जस्तो लाग्छ मलाई । मैले स्वदेशी तथा विदेशी मिडिया हेर्दा पनि यस्तै पाए । आरक्षणविरोधी आन्दोलन भए पनि सरकारी गुप्तचरले यो सरकारविरोधी आन्दोलन बुझेर सुरुबाटै दबाए । यसले धेरैलाई आन्दोलनमा ल्यायो ।

डाक्टर साकिब : सरकारसँग असन्तुष्ट भएकाहरु क्रमशः आन्दोलनमा जोडिन थाले ।

३) निर्वाचित सरकार छैन । संसद छैन, तर विद्यार्थी खुशी देखिन्छन् । किन ?

मिराज : पछिल्लो १५ वर्षमा जनताले तानाशाह र एकतन्त्र महसुस गरे । जब तपाईंको लुगामा आगो लाग्छ, तपाईं अरु केही नसोचेर लुगा फाल्नतर्फ लाग्नुहुन्छ । अहिले हामीलाई भएको यही हो । अहिले विद्यार्थीहरुले बुझेका छन्, यो देश उनीहरुको हो । त्यसैले विद्यार्थीहरु आफैं अगाडि बढेर सडक सफा गर्ने, ट्राफिक व्यवस्थापन गर्ने तथा बजार व्यवस्थापन गर्ने गरिरहेका छन् ।

सिक्दर : तपाईंलाई रात्रिकालीन चुनावको जानकारी होला । सन् २०१८ मा म पनि बुथ अधिकारी थिएँ । यहाँ जनता सहभागी भएका थिएनन् । पछिल्लो १५ वर्षमा जनता अन्यायमा थिए । खासमा भुईं तहका जनतालाई खाना नै पुग्ने अवस्था थिएन । अहिले कम्तीमा नयाँ राम्रो सरकार होला भन्ने आशा छ ।

मोहम्मद हाफिज सिक्दर ।

इम्तियाज : आवामी लिगको १५ वर्षे सत्तामा बीएनपी, जमात र अरु इस्लामिक दलहरुलाई धेरै दबाइएको थियो । आवामी लिगको पतनपछि उनीहरु चलमलाउन थालेका छन् । लुटपाट तथा हिंसामा सहभागी भएका छन् । आवामी लिगका नेताहरुको धनमाल डकैत गरिरहेका छन् । यदि यही अवस्था जारी भएमा जनताले हसिनाको पतन भएको बिर्सनेछन् । विद्यार्थी आन्दोलन दबाएकाले धेरै बेखुशी छन्, तर हसिनाको अचानक सत्ताबाट बाहिरिएकोमा दुःखी हुनेहरु पनि छन् । उनीहरुले त्यो दुःख सार्वजनिक गर्न सकिरहेका छैनन् ।

डाक्टर साकिब : हसिनाको राजीनामापछि बंगलादेशमा उत्सवको माहोल देखिएको छ । यसले नयाँ राजनीतिक शक्तिको उदय तथा आशाको दियो बालेको छ । यो संक्रमणकालमा केही स्थितिमा सुधार हुने संकेतहरु आउलान् पनि ।

४) केही सामाजिक सञ्जालमा आएका भिडिओ हेर्दा जनता प्रहरीसँग बेखुस, सेनासँग खुशी देखिएका छन् । यस्तो किन ?

मिराज : यो सत्य हो । सन् १९७१ मार्च २६ मा स्थापना भएको बंगलादेशी सेनामा व्यापक जनसमर्थन छ, तर प्रहरीमा व्यापक आलोचना छ । भ्रष्टाचारको आरोप छ । पछिल्लो १५ वर्षमा त बढेर गएको छ ।

सिक्दर : यो किनभने प्रहरीले धेरै विद्यार्थी मार्‍यो । सेनाले तटस्थ भूमिका खेल्यो । केही स्थानमा त सेनाले विद्यार्थीहरुलाई सहयोग पनि गर्‍यो ।

इम्तियाज : बेलायती उपनिवेशकालबाटै भ्रष्टाचार, अव्यवस्था र चरम शक्तिको दुरुपयोग जस्ता कुराले प्रहरीमा विश्वास छैन । यो दुश्मनी प्रहरीहरुले गरेको दमनपछि प्रहरीलाई आक्रमण गरेर व्यक्त भएको छ । यसको खास तथ्यांक आउनै बाँकी छ । निर्वाचित सरकारले संकटकाल लगाएको समयमा जनताले सेनालाई हेर्ने गर्छन् । अहिले भएको आन्दोलनमा पनि २०० भन्दा धेरैको मृत्यु भयो, तर सेनाले गोली नचलाउने बतायो ।

डाक्टर साकिब : प्रहरीभन्दा सेना बढी तटस्थ तथा व्यवसायिक भएकाले यस्तो भएको हो ।

५) यदि निष्पक्ष र स्वतन्त्र चुनाव भयो र शेख हसिनाको आवामी लिग र खालिदा जियाको बीएनपीसँगै चुनाव लडे भने कसको धेरै सीट आउला ?

मिराज : अहिलेको अवस्थामा खालिदा जियाको बीएनपीले धेरै सीट ल्याउँछ, तर हामी बीएनपी वा जमात–इ–इस्लामी जस्ता दलहरुभन्दा भिन्न शक्ति चाहन्छौं ।

सिक्दर : साँच्चै भन्नुपर्दा बंगलादेशी आवामी लिग ध्वस्त भएको छ । पछिल्ला केही दिनमा बीएनपीले पनि केही आतंककारी र हिंसाको चरित्र देखाएको छ । यदि साँच्चै स्वतन्त्र र निष्पक्ष चुनाव भएमा आवामी लिग र बीएनपी दुवै आउँदैनन् । अहिले चैँ बीएनपी नै सबैभन्दा बलियो दल हो । उनीहरुले स्वतन्त्र र निष्पक्ष चुनाव हुन दिन्छन् जस्तो मलाई लाग्दैन ।

इम्तियाज : प्रथमतः त हसिना र खालिदा जियाका दलहरु नै चुनावमा सहभागी हुन पाउँछन् वा पाउँदैनन् भन्ने नै अन्योल छ । छिटछिटो भइरहेका परिवर्तनले अब हुने चुनावको बारेमा कुनै निश्चितता छैन । अबको चुनावमा आवामी लिगलाई गाह्रो छ । यदि उनीहरुलाई जित्ने आत्मबल भएको भए पछिल्ला दुई चुनावमा हस्तक्षेप गर्ने थिएनन् ।

नौरोज इम्तियाज ।

यस्तै बीएनपीको संगठन पनि त्यत्ति बलियो छैन । आवामी लिगको पतन भएपछि उनीहरुको उदय भने हुनसक्छ । खुला रुपमा संगठन गर्न नपाए तापनि जमात-इ-इस्लामी र अरु इस्लामिक दलहरुले पनि राम्रो संगठन बनाइरहेका छन् ।

डाक्टर साकिब : यदि स्वतन्त्र र निष्पक्ष चुनाव भयो र हसिना अनि खलिदा जिया सहभागी भए भने के हुन्छ भन्न सकिन्न । किनभने दुवै दलको आधार बलियो छ । नजितामा भने विभिन्न तत्वहरुको प्रभाव हुनसक्छ । जस्तैः चुनावी अभियान, मतदाताको उपस्थिति र नागरिक सेन्टिमेन्ट ।

६) यो आन्दोलनबाट जन्मिएका नयाँ विद्यार्थी नेताहरुबाट नयाँ दल वा राजनीतिक शक्ति आउने कत्तिको सम्भावना छ ?

मिराज : हाम्रो पुस्ताले नयाँ दलको माग गरिरहेको छ । हामी भ्रष्टाचाररहित बंगलादेश चाहन्छौं । नोवेल पुरस्कार विजेता मुहम्मद युनुसको नयाँ सरकारलाई धेरैले आशाले हेरिरहेका छन् ।

सिक्दर : विद्यार्थीहरुको उमेर पक्ष हेर्दा उनीहरुले दल खोल्छन् जस्तो चैँ लाग्दैन, तर उनीहरुको दल खोल्ने सम्भावना र नैतिकता भने छ ।

इम्तियाज : अहिले धेरैले अनुमान गरिरहेका छन् कि विद्यार्थी आन्दोलनमा जोडिएका नेताहरुले नयाँ दल खोल्छन् । खासगरी अनलाइनहरुमा यस्तो चर्चा बढेको छ, तर बंगलादेशमा छिटछिटो भइरहेको घटनाक्रमहरुको कारणले गर्दा विद्यार्थीहरुले आन्दोलनको ऊर्जालाई राजनीतिक ऊर्जामा रुपान्तरण गर्ने सवाल चैँ अपरिपक्व नै हुन्छ । आगामी हप्ता तथा महिनामा यसबारेमा थप प्रस्ट हुनेछ ।

डाक्टर साकिब : विद्यार्थी आन्दोलनले लिएको भिजिबिलिटी र नागरिक साथले विद्यार्थी नेताहलाई नयाँ दल खोल्न ऊर्जा दिनसक्छ, तर उनीहरुको सफलता उनीहरुको अभियान कसरी औपचारिक राजनीति तथा व्यापक नागरिक साथमा रुपान्तरण हुन्छ भन्नेमा आधारित हुनेछ ।

७) सरकारी तथा निजी मिडिया तथा बंगलादेशी डायस्पोराको आन्दोलनमा भूमिका कस्तो थियो ?

मिराज : शेख हसिनाले १५ वर्ष मिडिया र वाक स्वतन्त्रता बन्दै गरेको भन्दा हुन्छ । आवामी लिगविरुद्ध कुनै मिडिया वा संस्था जान सकेको थिएन, तर च्यानल २४, जमुना टीभीलगायतका मिडियाहरुले भने आन्दोलनमा साथ दिए । हसिना सरकारले इन्टरनेट बन्द ग¥यो ताकि समाचार बन्द होस् । डायस्पोराले पनि योगदान गरे । उनीहरु प्रारम्भबाटै विद्यार्थी आन्दोलनको पक्षमा थिए । उनीहरुले सरकारलई दबाब दिए ।

सिक्दर : भारतमा जस्तै थियो । बहुसंख्यक मिडिया सरकारको पक्षमा थिए । जमुना टीभी र च्यानल २४ ले भने खास समाचार दिने प्रयत्न गरे । खासमा मुख्य मिडिया भन्नु नै टेलिग्राम र फेसबुक थिए । जनताले सकेसम्मको जानकारी त्यहीबाट बाँडे । तस्विर र भिडिओ बाँड्नेलाई सरकारले सकेसम्म र भेटेसम्म थुन्यो । इन्टरनेट बन्द भए पनि हामीले एकअर्कालाई सूचना अदानप्रदान गरिरह्यौं ।

इम्तियाज : खास मुद्दामा चल्ने भएकाले परम्परागत तथा नयाँ दुवै मिडियामा विश्वास गर्न चैँ गाह्रै छ । बंगलादेश हल्लाहरुको कारखाना भएको छ । धेरै तत्वहरुले यसबाट फाइदा लिइरहेका छन् । सरकारी टेलिभिजन बंगलादेश टेलिभिजनले सरकारी भाषामात्रै बोल्छ । प्रदर्शनकै क्रममा यसको मुख्यालयमा आगजनी गरिएको थियो । निजी मिडियाहरु दुई कित्तामा विभक्त भएका छन् । सरकार पक्षधरहरु सेल्फसेन्सर गरिरहन्छन् भने बीएनपी र जमातसँग जोडिएका मिडियाहरुले प्रदर्शनका सबै कुरा देखाए । यसले प्रदर्शन बढ्नमा सहयोग पुग्यो । अहिले बन्द भएका सरकारी मिडियाहरुले खुला भएर डाक्टर मुहम्मद युनुस, बीएनपी, जमात र विद्यार्थी आन्दोलनको समाचार देखाउन थालेका छन् ।

उच्च अदालतले मिडियामा देखाउन प्रतिबन्ध लगाएका बीएनपीका कार्यबाहक अध्यक्ष तारिक रहमानलाई हसिनाको बहिर्गमनपछि धमाधम देखाउन थालिएको छ । उनको मन्तव्यहरु प्रत्यक्ष प्रशारण हुन थालेका छन् । ढाकाको बीएनपी र्‍यालीलाई प्रत्यक्ष प्रशारण गरिएको थियो । शेख हसिनाको बहिर्गमनपछि अवामी लिगका नेता तथा कार्यकर्ताहरुको लुटपाट, हिंसा तथा हत्याका घटनाहरु धेरै भइरहेका छन्, तर मिडियाहरुले यो खबरलाई भएको जस्तो देखाएका छैनन् ।

डाक्टर साकिब : सरकारी मिडियाहरुले सरकारी भाष्य बोले । निजी मिडियाहरुले आन्दोलनको पनि भाष्य बोले । बंगलादेशी डायस्पोराले आन्दोलनलाई उचाइ दिन, दबाब सिर्जना गर्न तथा अन्तर्राष्ट्रियकरण गर्न धेरै योगदान गरे ।

डाक्टर नाजमुस साकिब ।

८) बंगलादेशको अबको बाटो के हो ?

मिराज : यो हाम्रो मुख्य सरोकारको कुरा हो । डाक्टर युनुसले अस्थायी सरकारको प्रमुख सल्लाहकार हुन राजी भएका छन् । यसले हामीलाई केही सास फेर्न सजिलो भएको छ । उनले निष्पक्ष चुनाव गराउनेछन् । उनमा हाम्रो विश्वास छ । आशा छ, विद्यार्थीहरुले नयाँ दल बनाउनेछन्, तर, हामी अर्का तानाशाहलाई देश जिम्मा लगाउन तयार छैनौं ।

सिक्दर : नयाँ सरकारले चुनाव स्वतन्त्र र निष्पक्ष गराउनेछ । हामी राम्रो कुराको प्रतीक्षामा छौं । हेरौं के हुन्छ ?

इम्तियाज : अहिले बंगलादेशको अवस्था तरल र धमिलो छ । कुनै पनि भविष्यवाणी गर्न अहिले हतारो हुन्छ ।

डाक्टर साकिब : अहिलेको राजनीतिक घटनाक्रम, आर्थिक अवस्था र सामाजिक अभियानले बंगलादेशको भावी दिन तय गर्नेछ । यसो हुनमा आन्तरिक र बाह्य दुवै कुरा निर्णायक हुनेछन् ।


प्रतिक्रिया

One thought on “चार बंगलादेशी युवाबाटै सुनौं बंगलादेशकाे संकट र अबको बाटो

  1. एमबिबिएस नगरी एमडी गर्न नपाइने हुनाले एमबिबिएस र एमडी गरेका भन्न पर्दैन, एमडी मात्रै भने जति पनि पुग्छ। आगे संपादकज्यूको जो विचार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर