घर बनाउन मलेसियामा पैसा जोहो गर्दै गरेका सन्तोषलाई परेको आपत् : सर्पले टोकेर छोरीको मृत्यु, पत्नी चिन्ताजनक
रुपन्देही । दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा सर्पले डसेर छोरीको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर छ । मंगलबार राति सर्पको डसाइबाट ६ वर्षीया इन्दु चौधरीको मृत्यु भयो । आमा आस्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए । उनीहरूलाई करेत सर्पले डसेको स्थानीयले बताएका छन् ।
सर्पले डस्नेबित्तिकै उनीहरू झारफुकमा लागेका थिए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
गुरुवागाउँमा रहेकी महिला स्वास्थ्य स्वंसेविका माया चौधरीका अनुसार आस्माका श्रीमान् रोजगारीका लागि मलेसियामा छन् । एक कोठे टिनले छाएको घरमा आमाछोरी बस्दै आएका थिए ।
‘आस्माका श्रीमान सन्तोष मलेसिया छन्, अर्को वर्ष आएर घर बनाउने बताएका थिए, ६ वर्षकी छोरी र आमा सानो एक कोठाको घरमा बस्दै आएका थिए’, उनले भनिन्, ‘धेरैजना सर्पले डसेपछि झारफुकमै लाग्दा ज्यान नै गुमाइरहेका छन् र हिजो राति पनि त्यसै भएको हो ।’
उनका अनुसार छोरीको टाउको र आमाको हातमा सर्पले डसेको छ ।