‘लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्नू, सरुवा-बढुवाका लागि नेता नभेट्नू’ (भिडिओ) – Nepal Press

‘लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्नू, सरुवा-बढुवाका लागि नेता नभेट्नू’ (भिडिओ)

नवप्रवेशी अधिकृतलाई उपप्रधानमन्त्री पौडेलको निर्देशन- कानून, राष्ट्र र नागरिकको हितसँग बाझिएको विषयलाई मिल्दैन, गर्न सक्दिन भन्न सक्नुपर्छ

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् ।

ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापन समारोहमा उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न निर्देशन दिए ।

पोशाकका आधारमा नभई सेवाग्राहीका समस्या बुझेर यथोचित ढंगले सम्बोधन गर्न पौडेलले निर्देश दिए । आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्न सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्नेमा उनको जोड छ । हाकिमको आदेश भन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको उनको पौडेलले बताए ।

उनले भने, ‘सेवाग्राही टाइसुट लगाएर आएको होला, चश्मा, कोट लगाएर आएको होला । झुत्रे झाम्रो पोशाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्नेछ । त्यो सेवाग्राहीले कस्ता समस्या लिएर आएको छ, उसका अपेक्षा जायज, नाजायज के छन् । त्यसलाई बुझेर यथोचित ढंगले सम्बोधन गर्ने भन्दा पनि रुखो, तीतो र टर्रो व्यवहार गर्ने प्रवृत्ति पनि यदाकदा देखा पर्दछन् । आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ । जो सुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसले सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान जानुपर्छ । यहाँहरुले विषयको आधारमा नो भन्न सक्नुपर्छ । विषयको आधारमा एस भन्न सक्नुपर्छ ।’

उपप्रधानमन्त्री पौडेलले थपे, ‘नो भन्न सक्नुहुन्न भने तपाईं आफ्नो हाकिमको सामुन्‍ने, आदेश, त्यो भन्दा माथिको आदेश, यदाकदा मन्त्रीको आदेश आउला । त्यो आदेश कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएको छ भने त्यस्तो अवस्थामा नो भन्न सक्नुपर्छ । यो मिल्दैन, म गर्न सक्दिन भन्न सक्नुपर्छ । हाकिम, मन्त्रीसँग डराउनु हुन्छ भने असल राष्ट्रसेवक बन्न गाह्रो हुन्छ । तपाईं डराउने दुई, तीन वटामा हो । तपाईंले सम्पादन गर्ने काम कानूनसँग बाझिएको छ की छैन, त्यसमा डराउनुपर्छ, आम नागरिक र राष्ट्रहितसँग बाझिने छ भने डराउनु पर्छ । हाकिम र मन्त्रीसँग विषयको आधारमा सही र गलत भन्नसक्ने त्यो सामर्थ्य हुनुपर्छ ।’

पौडेलले सरुवा/बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरेका छन् । सोर्स लगाउने कर्मचारी क्षमताले जतिसुकै सक्षम भएपनि निरीह र कमजोर हुने भन्दै उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए ।

उनले भने, ‘पोस्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्क राख्नुहोला । तर नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला । सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि उनीहरु वास्तवमा निरीह र कमजोर हुन पुग्छन् ।’

राजश्व परिचालनका दृष्टिकोणले लक्ष्य पूरा गर्न अप्ठ्यारो परिरहेको र बेरुजु बढिरहेको भन्दै पौडेलले लेखा प्रणालीमा दुरुस्त हुन नसकिरहेको बताएका छन् ।


प्रतिक्रिया

2 thoughts on “‘लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्नू, सरुवा-बढुवाका लागि नेता नभेट्नू’ (भिडिओ)

  1. नेताकहां धाउनै नपर्ने स्वचालित ब्वस्था गर्नु नि त । बाेलिकाे भन्दा सिष्टमकाे कुराे गर्नु पराे । कसैकाे चाकडि गर्नु त पक्कै पनि रहरकाे कुरा त छैन । कर्मचारीका कुरा मात्र किन तिनै नेताका आसेपासे नभए सम्म चुनावमा टीकट सम्म पाईंदैन । चुनावमा स्थानियस्तरले राेजेकाेलाई टीकटकाे ब्वस्था गर्नु अनि पत्यामला तिम्रा कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर