टीआरसीबारे देउवा- आउनुहोस्, इतिहासले सुम्पेको कार्यभार पूरा गरौँ (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक प्रचलित कानून, सर्वोच्चको फैसला र अन्तराष्ट्रिय मापदण्ड अनुकूल रहेको बताएका छन् । टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने बिन्दुमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताए ।
उनले भने, ‘यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपूरण दिलाउने व्यवस्था गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनहरूलाई समेत ध्यानमा राख्दै शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्याय टुंङ्गोमा पुर्याउने विषय निष्कर्षमा पुगेको छ । यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने हाम्रो विश्वास छ ।’
समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेको देउवाको भनाइ छ ।
उनले थपे, ‘आज हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू एकस्वरमा सर्वसम्मतिका साथ उपस्थित भएका छौँ । यो आफैँमा एउटा ऐतिहासिक उपलब्धिको घडी हो । शान्ति प्रक्रियाको बाँकी रहेको काम संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न कानूनका साथै सक्षम आयोगहरू गठन गर्न नि उत्तिकै आवश्यकता छ ।’
उनले एक-अर्कालाई शंका वा आरोपित गर्ने भन्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रणालीप्रति सजग हुन आवश्यक रहेको बताए ।
उनले थपे, ‘आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौँ । मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर समाधान दिने नेपालले विशिष्ट शैली अपनाउने गरेको छ । संक्रमणकालीन न्याय निरुपण र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न पनि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएका छौँ ।’