नेपालमा संस्कृत शिक्षा : सुविधा धेरै, विद्यार्थी थोरै
काठमाडौं । सरकारी तथा निजी क्याम्पसहरुमा स्नातक र स्नातकोत्तर पढ्न महँगो शुल्क बुझाउनुपर्छ, तर संस्कृत पढाइ निःशुल्कमात्रै होइन, उल्टै भत्ता पाइन्छ । गुरुकुलमा विद्यार्थीहरुले बस्ने र खाने सुविधासहित निःशुल्क पढ्न पाउँछन् ।
उच्च शिक्षातर्फ शास्त्री र आचार्य पढ्नेहरुले छात्रवृत्तिसँगै वार्षिक रुपमा भत्तासमेत पाउँछन् । शास्त्री र आचार्य पढ्ने दलित, महिला, जनजाति, पिछडिएको वर्गले एकमुस्ट वार्षिक १८ हजार रुपैयाँ भत्ता पाउने नेपाल संस्कृत विश्वविद्यालयले बताएको छ । त्यस्तै खस-आर्य विद्यार्थीहरुले वार्षिक ९ हजार रुपैयाँ पाउँछन् । शास्त्री र आचार्य अध्ययन गर्दा प्रथम वर्षमा भर्ना हुनेले नतिजा आउनुअघि एकमुस्ट रकम पाउँछन् । दोस्रो र तेस्रो वर्षदेखि पास भएपछि मात्र रकम पाउँछन् ।
सरकारले संस्कृत पढ्नेलाई प्रोत्साहनस्वरुप भत्ता दिए पनि विद्यार्थीहरु आकर्षित हुन सकेका छैनन् । काठमाडौं उपत्यकामा वाल्मीकि र संस्कृत विद्यापीठका विद्यार्थीको लागि तीनधारामा छात्राबासको व्यवस्था छ । उक्त छात्रावासमा १०९ जनासम्म विद्यार्थीहरु बस्न सक्छन् । खानासहितको सुविधा भएकाले यहाँ बसेर पढ्ने विद्यार्थीले वार्षिक भत्ता नपाउने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका अनुसार काठमाडौं बाहिरको विद्यापीठमा छात्रावासको सुविधा भए पनि खाना भने आफैं व्यवस्था गर्नुपर्छ ।
शिक्षा मन्त्रालय भन्छ- लगानीअनुसार प्रतिफल आएन
संस्कृत शिक्षामा बर्सेनि करोडौं रुपैयाँ लगानी गरे पनि सोचेअनुसार प्रतिफल नआएको शिक्षा मन्त्रालय स्वीकार्छ । संस्कृत शिक्षामा लगानी गरेअनुसार प्रतिफल नआउनुमा नयाँ पुस्तामा रुचि जगाउन नसक्नु रहेको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहाल बताउँछन् ।
उनी भन्छन्, ‘हामीले संस्कृतको महत्व बुझाउन र यो किन अनिवार्य गर्नुपर्छ भनेर जानकारी दिन नसकेका पनि हौं । अभिभावकहरु पनि संस्कृतमा भविष्य नेदेखेपछि आधुनिक विषय पढाउन रुचाउनुहुन्छ । त्यसले गर्दा गुरुकुलहरुमा विद्यार्थीको संख्या बढ्नुको साटो घट्दो छ ।’
प्रवक्ता दाहालका अनुसार गुरुकुलमा आकर्षण बढाउन नसक्दा माथिल्लो तहमा विद्यार्थी स्वतः घटदै गएको छ । आचार्यदेखि पीएचडीसम्म भने विद्यार्थीको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।
गुरुकुलदेखि विश्वविद्यालयसम्म शिक्षकको दरबन्दीदेखि सेवा सुविधामा कुनै कमी नभएको उनी बताउँछन् ।
पशुपति कोटी होमले जगायो संस्कृत शिक्षाको महत्व
पशुपति मन्दिर परिसरमा आयोजित एक महिने कोटी होमले राम्रै चर्चा कमायो । कोटी होमले सबैको ध्यान खिच्नुमा एउटा कारण कथा वाचन गर्ने वाचिकाहरु हुन् ।
भारतको बनारसमा संस्कृतको पढाइ पूरा गरेर कथा वाचन गर्न नेपाल आएकी देवी प्रतिभादेखि लण्डनबाट कथा वाचन गर्न आएकी सृष्टि अधिकारी (चन्द्रकला सखी)को कारण पनि यस पटक कोटी होमको चर्चा धेरै भयो ।
त्यतिमात्र होइन विश्वकै कान्छी कथा वाचिका मानिने अनुराधा पाण्डेले कोटी होममा हजारौं भक्तजनको उपस्थितिमा कथा वाचन गरिन् । ९ वर्षको उमेरमा कसरी कथा वाचिका भइन् भन्नेबारे सबैको खुल्दुली छ ।
यसअघि पण्डितहरुले मात्रै कथा वाचन गर्दै आएका थिए । पहिलो पटक आचार्य कृष्ण दमाईले कोटी होममा पुगेर प्रवचन दिए । दलित समुदायबाट संस्कृत शिक्षा लिएर आचार्य बनेका दमाईले पनि धेरैको ध्यान खिचे ।
कोटी होमको चर्चाले नेपालमा हराउँदै गएको संस्कृत भाषा अध्ययन अध्यापनबारे फेरि बहस सुरु भएको छ । संस्कृत विषयबारे अनभिज्ञ नयाँ पुस्तालाई कोटी होमकै कारण संस्कृतको बारेमा केही बुझ्ने मौका मिल्यो ।
आधुनिक शिक्षालाई प्राथमिकतामा राखेर विद्यालय शिक्षाबाट संस्कृत विषयको पठनपाठन हटाइएको विज्ञहरु बताउँछन् । वि.सं १९३२ मा पहिलो पटक भोजपुरको दिङला र काठमाडौंमा संस्कृत स्कुल खुलेको थियो । सुरुमा संस्कृत विद्यालयबाहेक साधारण शिक्षातर्फ पनि १० कक्षासम्म संस्कृत विषय अनिवार्य थियो । पञ्चायत कालसम्म पनि कक्षा ४ देखि ७ सम्म अनिवार्य विषयको रुपमा संस्कृतको पढाइ भएको थियो । पछि कक्षा ६ र ७ मा मात्रै सीमित गरियो ।
कहिले ओरालो लाग्यो संस्कृत शिक्षा ?
सशस्त्र द्वन्द्वका बेला माओवादीले जबरजस्ती संस्कृत भाषाको पढाइ बन्द गराएको थियो । द्वन्द्वकालपछि विद्यालय तहमा फेरि संस्कृत विषय पढाइ हुनुपर्छ भनेर आवाज उठेको थियो । सोहीअनुरुप पाठ्यक्रम विकास केन्द्रले साधारण शिक्षाअन्तर्गत आधारभूत तह (कक्षा १) को लागि संस्कृत विषयको पाठ्यपुस्तक तयार गरेको थियो, तर पछि संस्कृत पढ्न संस्कृत विद्यालय र विश्वविद्यालय हुँदाहुँदै आधारभूत तहमा एउटा शास्त्रीय भाषा पढाउन हुँदैन भनेर विरोध भएपछि त्यसै सेलाएर गयो ।
विद्यालय शिक्षाबाट संस्कृत भाषाको शिक्षण हट्दै गएपछि उच्च शिक्षामा पठनपाठन गर्न दाङको बेलझुन्डीमा २०४३ साल मा महेन्द्र संस्कृत विश्वविद्यालय खोलिएको थियो । गणतन्त्र आएपछि नाम परिवर्तन भएको हालको नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत पढ्ने पढाउने विश्वविद्यालय भनेर चिनिन्छ ।
विश्वविद्यालयअन्तर्गत ११ वटा क्याम्पसमा संस्कृत पढाइ हुन्छ । पिण्डेश्रवर विद्यापीठ (क्याम्पस) धरान, बीपी कोइराला संस्कृत विद्यापीठ सोलुखुम्बु, जनकहजारी विद्यापीठ जनकपुर, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानी महोत्तरी, वाल्मीकि विद्यापीठ काठमाडौं, भानु संस्कृत विद्यापीठ तनहुँ, कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी, विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा, शारदा विद्यापीठ, यालना विद्यापीठ, रुरु संस्कृत विद्यापीठ र जनता विद्यापीठ दाङ गरी विश्वविद्यालयका ११ वटा आंगिक क्याम्पस छन् ।
केन्द्रीय विद्यापीठ (दाङ), वाल्मीकि विद्यापीठ (काठमाडौं) र यालना विद्यापीठ (जनकपुर) गरी तीनवटा क्याम्पसमा मात्र आर्चाय पढाइ हुन्छ । संस्कृत भाषाका १८ वटा विषय क्षेत्र हुन्छ, यी विषय क्षेत्र स्नातकोत्तर तहभित्र पढाइ हुने विश्वविद्यालयले जनाएको छ ।
यीबाहेक सरस्वती विद्यापीठ (रुपन्देही), पमानन्द विद्यापीठ (देवघाट) र पर्शुराम विद्यापीठ (डडेलधुरा) गरी तीन वटा क्याम्पसले विश्वविद्यालयबाट सम्बन्धन लिएका छन् । यी तीन विद्यापीठमा शास्त्रीसम्म मात्र पढाइ हुन्छ । यी विद्यापीठमा संस्कृतसँगै ‘ख’ वर्गअन्तर्गत गैरसंस्कृत विषयहरु पनि पढाइ हुन्छ, जसमा मानविकीतर्फ स्नातक र स्नातकोत्तर तहको पढाइ हुन्छ ।
संस्कृत विश्वविद्यालयमा हाल ६ हजार ५०० विद्यार्थी छन् । तीमध्ये ३ हजार ५०० को हाराहारीमा संस्कृतमा शास्त्री र आचार्य गरेका विद्यार्थी हुन् । विश्वविद्यालयअन्तर्गत संस्कृतमा गुरुकुलपछि उत्तरमध्यमा, शास्त्री, आचार्य, एमफिल, विद्यावारिधि र एकवर्षे अनुसन्धान प्रविधि पढाइ हुन्छ ।
यसमा ‘क’ र ‘ख’ वर्गीय विषयहरु पर्छन् । ‘क’ वर्गमा संस्कृतमात्र पढाइ हुन्छ । संस्कृतभित्र धर्मशास्त्रदेखि ज्योतिषलगायतका १८ वटा विषयको अध्यापन हुन्छन् । ‘ख’ वर्गमा संस्कृतसँगै अन्य आधुनिक विषय अंग्रेजी, नेपालीलगायत पर्छन् ।
स्नातक अर्थात शास्त्री तहमा संस्कृतसँगै अन्य आधुनिक विषय पनि पढाइ हुन्छ । शास्त्रीअन्तर्गत ‘ख’ वर्गीय विषय अर्थात नेपाली, गणित, राजनीतिशास्त्र विज्ञान, अर्थशास्त्रलगायतका विषय पढाइ हुन्छ । स्नातकोत्तर अर्थात आचार्य तहमा संस्कृतमात्र पढाइ हुन्छ ।
गुरुकुलमा कक्षा १० सम्म मात्र पढाइ हुन्छ । त्यसपछि कक्षा ११ र १२ को लागि आधुनिक विषय पढनुपर्ने हुन्छ । संस्कृत विश्वविद्यालयमा स्नातक तहदेखि माथिमात्र पढाइ हुन्छ । यसअघि आधुनिकतर्फ प्लस टु भने जस्तै संस्कृतमा उत्तरमध्यमा पढाइ हुन्थ्यो । त्यसपछि स्नातक पढ्न पाइन्थ्यो ।
संस्कृतमा उच्च शिक्षा पढ्ने ढोका नै बन्द गरियो !
अहिले उच्च शिक्षामा संस्कृत पढ्ने विद्यार्थीको संख्या घट्दो अवस्थामा रहेको विश्वविद्यालयका प्रशासन प्रमुख तारा बस्नेत बताउँछन् । उच्च शिक्षामा संस्कृत विषय अध्ययन गर्ने ढोका नै बन्द भएकाले पछिल्लो समय विद्यार्थीहरुको आकर्षण घटेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘पहिले एसएसली पास हुनेबित्तिकै संस्कृतमा उत्तरमध्यमा पढ्न पाइन्थ्यो । यताको प्लस टु वा प्रमाणपत्र तह भने जस्तै संस्कृतमा उत्तरमध्यमा पढ्न पाइन्थ्यो । पछिल्लो शिक्षा नीतिअन्तर्गत १२ कक्षासम्म माध्यमिक शिक्षा भइसकेपछि उत्तरमध्यमा बन्द भयो । यसले गर्दा उच्च शिक्षामा संस्कृत पढ्ने ढोका नै बन्द भयो ।’
उनका अनुसार उत्तरमध्यमा २ वर्षको थियो । पछिल्लो शिक्षा नीति २०६३/०६४ अनुसार उत्तरमध्यमा फेजआउट भएपछि आधुनिक विषयतर्फको कक्षा ११ र १२ पढ्नुपर्ने अनिवार्य व्यवस्था भयो । गुरुकुल पढेकाले पनि कक्षा ११ र १२ उत्तीर्ण गरेपछि मात्रै शास्त्री पढ्न पाइने भयो । त्यस्तै गुरुकुलबाहेक विद्यार्थीले १ वर्षे प्राशास्त्री पढ्नपर्ने बाध्यता भएको उनले बताए ।
‘प्राशास्त्री पढिसकेपछि मात्रै शास्त्रीको लागि भर्ना योग्य हुन्छन्’, बस्नेतले भने, ‘कक्षा १२ सम्म अन्य विषय पढेर संस्कृत विश्वविद्यालयमा शास्त्री पढ्न आउने विद्यार्थीले प्राशास्त्री भनेर पहिले संस्कृत भाषा सिक्नुपर्छ, अनि बल्ल संस्कृत पढ्न पाइन्छ ।’
शास्त्री तह ४ वर्षे छ, तर एक वर्षे प्राशास्त्री गरेपछि ५ वर्ष हुने भयो । अन्य विश्वविद्यालयभन्दा यता एक वर्ष बढी पढ्नुपर्ने भएकाले विद्यार्थीहरु आकर्षित हुन सकेका छैनन् ।
विद्यावारिधि (पीएचडी) गर्न सबै धर्मजात र विषयका विद्यार्थी आउने भए तापनि स्नातक र स्नातकोत्तर पढ्न भने नआउने उनी बताउँछन् ।
‘पहिला प्रमाणपत्र (इन्टरमिडियट) तह पढेपछि आंगिक क्याम्पसहरुमा शास्त्री पढ्न योग्य हुन्थ्यो । इन्टरमिडियट फेजआउज भएपछि विश्वविद्यालयले माध्यमिक शिक्षा चलाउन पाउने भएन । तल उत्पादन कम भयो’, बस्नेतले भने, ‘प्राशास्त्रीको एक वर्षमा संस्कृतका केही आधारभूत कुरा सिकेको हुन्छ । त्यसपछि बल्ल यता पढ्न पाइने भए ।’
सरकारले २०५६ सालतिर अनिवार्य संस्कृत हटाएको थियो । तैपनि एसएलसीपछि संस्कृत बेसमा जान चाहनेहरुले उत्तरमध्यमा पढ्ने गरेको उनको भनाइ छ । अहिले देशभर ६७ वटामात्रै गुरुकुल सञ्चालनमा छन्, जहाँ कक्षा १ देखि १० सम्म संस्कृत पढाइ हुन्छ ।
कथा वाचन गर्न कति पढ्नुपर्छ ?
संस्कृत विश्वविद्यालयका अनुसार कथा वाचन गर्न २ खालको पढाइ सञ्चालन गरिएको हुन्छ । तीनदेखि ६ महिने छोटो अवधिको कार्यक्रम र आचार्य तहको पढाइ नै हुन्छ । गैरसंस्कृत तथा संस्कृतमा रुचि भएकाहरुलाई (जस्तै ब्राहमण तर रुद्री पढ्नुपर्यो, कथा पढ्नुपर्यो भने) छोटो अवधिको कार्यक्रम चलाइन्छ ।
कतिपय अवस्थामा कुनै ठाउँबाट विश्वविद्यालयमा कार्यक्रम चलाइदिन पर्यो, हामीकहाँ संस्कृतको उत्पादन नै भएन भन्ने खालको प्रस्ताव आयो भने विश्वविद्यालयले कार्यक्रम सञ्चालन गर्छ ।
पीएचडी गर्न केन्द्रीय कार्यालय दाङमा छ । अनुसन्धान केन्द्र छ । केन्द्रले अनुसन्धान परिषद् बनाएर आधुनिक विषय पढेर आएकाले पनि संस्कृतमा पीएचडी गर्न पाउँछन् । ‘जुनसुकै विषयमा पीएचडी गरे पनि त्यस विषयको पूर्वीय दर्शन छुनुपर्छ । नेपाली साहित्यमा गर्दैछ भने कविताको पूर्वीय साहित्यलाई छुनुपर्यो’, बस्नेतले भने ।
संस्कृत विश्वविद्यालयका उपकुलपति भन्छन्- धन्न गुरुकुलले धानेको छ
संस्कृत विश्वविद्यालयका उपकुलपति डा. यादव लामिछाने उत्तरामध्यमा (प्रमाणपत्र तह) फेजआउट हुँदा विद्यार्थीको आकर्षण घटेको बताउँछन् ।
उनी भन्छन्, ‘अरु विषयमा जस्तो विद्यार्थी भर्ना भएका छैनन् । प्लसटुमा उत्तरमध्यमा फेजआउट हुँदा अरु विश्वविद्यालयमा आधुनिक विषयमा त्यति फरक पार्दैन रहेछ, तर यहाँ असर पर्दोरहेछ । कक्षा ११ र १२ मा जुनसुकै विषय पढे पनि स्नातकमा जाँदाखेरि मैले सक्छु भनेर प्रतिबद्धता गर्ने र विश्वविद्यालय नीति रहेछ भने परिवर्तन गरेर पनि पढ्न सक्ने भयो, तर हाम्रोमा चाहिँ उत्तरमध्यमा अर्थात ‘ए’ लेभल फेजआउट भइसकेपछि ब्याचलर लेभलमा जाने मेनपावर त जिरोबाट जान खोज्दैन ।’
ब्रिजकोर्ष अर्थात प्राशास्त्री गरेर गएका विद्यार्थी कमजोर नै हुन्छ । त्यसले गर्दा विद्यार्थी संख्या घट्दो रुपमा रहेको उनको भनाइ छ ।
‘तर जति छन् ठीक्कै छन्, अन्यथा लिनुहुँदैन । घट्दो रुपमा त देशभरका विश्वविद्यालयमै छ, हाम्रोमा नघट्ने त कुरै भएन’, उपकुलपति लामिछाने थप्छन्, ‘तर त्यतिबेला ‘ए’ लेभल फेजआउट गर्दा विशिष्टीकृत विषय हो संस्कृत भन्ने खालको सोच राज्यमा आएको भए अहिलको अवस्था आउँदैनथ्यो ।’
अहिले गुरुकुलमा पढेर प्लस टु गरेका विद्यार्थीले उच्च शिक्षातर्फ संस्कृत धानिरहेको उकुलपति लामिछाने बताउँछन् ।
‘आंगिक क्याम्पसहरुमा सोझै कक्षा ११ र १२ पढेर जानेहरु कम भएकाले गर्दा आर्कषण घटेको जस्तो देखिन्छ । गुरुकुलबाट आएका विद्यार्थीहरु हामी कहाँ आउने हो । त्यही विद्यार्थीहरु कसैको प्रलोभनमा परेर आधुनिक विषय पढ्न हरिद्वार, बनारस, ऋषिकेश जाने सम्पर्क बनायो भने वा आफन्त भयो भने त्यता जानसक्ने सम्भावनालाई नकार्न सकिँदैन, तर गुरुकुलबाट आएका विद्यार्थी हाम्रोमा आउँछन्’, उनी भन्छन् ।
संस्कृत भाषा कति चाहिन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘बुझेर ल्याउने हो भने संसार चाहिन्छ । होइन भने गुरुहरु पनि यतातिर आएर बर्बाद पो भयो कि क्या हो भन्ने मानसिकता पनि छ, तर संस्कृतको एउटा पक्षबाट भाषामात्र नरहेर पूर्वीय वाङमय दर्शनका विषयमा पहिचान गराउँछ । प्रतिष्ठामय ढंगले जीवनयापन गर्ने वातावरण सिर्जना गर्छ । चरित्र निर्माण गर्छ ।’
उनका अनुसार संस्कृतमा अवसर पनि छ । ‘संस्कृत पढेपछि नेपालीमा मेजर हुन्छ । नेपालीमा स्नातकोत्तर वा पीएचडी गरेपछि मेनपावर सप्लाइ हुन्छ । यो क्षेत्रका विद्यार्थी अवसर नै अवसर पाउँछन् । संस्कृतको आकर्षण घटेकाले जति मान्छे छन्, त्यतिले त धेरै अवसर पाउने भए । अहिले मान्छेले अर्गानिक चिज खोजिरहेका छन्’, उपकुलपति लामिछाने भन्छन् ।
उनका अनुसार गुरुकुलबाट आएको मान्छेले वर्षभरि कथा वाचन गर्नेतिर मात्रै लाग्यो भने लाखौं पैसा कमाउन सक्छन् । पूर्वीय दर्शनकै प्रवचन गर्यो भने पनि फरक ढंगको जीवनयापन गर्न सकिन्छ ।
संस्कृत विषय प्राथमिक तहदेखि राख्दा राम्रो हुन्छ : प्रा. डा. ऋषिराम रेग्मी
अहिले नेपालमा संस्कृत भाषाको आकर्षण कस्तो छ भनेर बुझ्न बाल्मीकि विद्यापीठ गएमात्रै पुग्ने संस्कृतविद् एवं बाल्मीकि विद्यापीठका अध्यापक प्रा. डा. ऋषिराम रेग्मी बताउँछन् ।
उनका अनुसार बाल्मीकि विद्यापीठ नेपालीमात्र होइन विदेशीको पनि आकर्षणको केन्द्र बनेको छ । सरकारी सेवाबाट अवकाश लिइसकेका सचिवहरुदेखि अन्य पेशामा आवद्ध व्यक्तिहरुसम्मले संस्कृतको महत्व बुझेर पढ्न थालेका छन् ।
‘संस्कृत नेपालमा मात्र होइन, विश्वमै उत्तिकै महत्व रहेछ भनेर विदेशीले समेत महत्व दिन थालेका छन् । विदेशीले नेपालमा आएर संस्कृत पढिरहेका छन्’, प्रा.डा.रेग्मी भन्छन्, ‘विद्यालयमा एक कक्षादेखि नै संस्कृत शिक्षा राखिदिने हो भने राम्रो झन् हुनेछ । तल्लो कक्षादेखि संस्कृत पढाइ आवश्यक छ । संस्कृतमा नैतिक शिक्षा, आदर्शका कुरा, परिवार कसरी चलाउने, समाज कसरी चलाउने भन्ने कुरा संस्कृत वाङमयमा लेखिएका छन् ।’
उनका अनुसार वेद, पुराण, इतिहास, राजनीति, कूटनीतिलगायतका विषय संस्कृत वाङमयभित्र पर्छ ।
‘संस्कृत एउटा भाषामात्र होइन, संस्कृत भाषामा लेखिएका धेरै महत्वशाली विषयहरु छन्, ग्रन्थहरु छन् । ती ग्रन्थहरुका ससाना उद्धरणहरु अहिलेका ससाना विद्यार्थीलाई सिकाउन सक्ने हो भने जग निर्माण गर्न सकिन्छ । संस्कार निर्माण गर्ने त्यहीबाट हो । त्यहाँबाट जान सकिने हो भनेमात्र माथिल्लो तहका संस्कारित भएर आउँछन्, अनि पछि न सबै राम्रो बन्ने हो । त्यो अवस्था बनाउन विद्यालय तहमा संस्कृत शिक्षा आवश्यक छ’, उनी भन्छन्, ‘संस्कृत शिक्षा माथिल्लो तहमा भन्दा तल्लो कक्षादेखि नै आवश्यक छ ।’
संस्कृत भाषाको अनुराग बढ्दो छ : अध्येता कोइराला
संस्कृति अध्येता घनश्याम कोइराला बीचमा संस्कृत भाषालाई कमजोर बनाइए पनि अहिले नेपालमा संस्कृत भाषाको अनुराग बढेको बताउँछन् । अहिले पूर्वीय संस्कृति, दर्शन, चिन्तन, परम्परा, वेद वेदान्तहरुमा वैज्ञानिक पक्षहरु जीवनोपयोगी पक्ष छन् भन्ने कुरा थाहा पाउँदै जाँदा संस्कृत भाषाप्रति अनुराग बढेको उनको भनाइ छ ।
अहिले युवा पुस्तामा भन्दा पनि आममानिसमा संस्कृत भाषाप्रति मोह बढेको उनको बुझाइ छ । विश्वविद्यालयले संस्कृत भाषामा मात्रै ज्ञान-विज्ञानका पक्षहरुको थप अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने कोइरालाले सुझाए ।