जनताका गुनासो सुनुवाइका लागि कोशीमा ‘हेलो सीएम’ सेवा सुरू – Nepal Press

जनताका गुनासो सुनुवाइका लागि कोशीमा ‘हेलो सीएम’ सेवा सुरू

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि ‘हेल्लो सिएम’ सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ‘हेल्लो सिएम’ सेवाको सुरुवात गरेका हुन् ।

गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखि २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले सासकीय सुधारमा सहयोग पुग्ने बताए । उनले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताए ।

सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिए । जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालिन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरे । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अहिलेको सरकार निर्माण भएपछि सासकीय सुधारमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै यो सेवाले थप सुशासन वृद्धि हुने बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भिन्दै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर