मधेशका मुख्यमन्त्री सिंह र स्वीस नियोगका अधिकारीबीच भेट, सहयोग गर्न मुख्यमन्त्रीको आग्रह – Nepal Press

मधेशका मुख्यमन्त्री सिंह र स्वीस नियोगका अधिकारीबीच भेट, सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र विकास तथा सहयोगका लागि स्वीस नियोग (एसडीसी) का अधिकारीबीच विभिन्न योजनामा सहयोग तथा विषयमा छलफल भएको छ । स्वीस नियोगका अधिकारीहरू मुख्यमन्त्री सिंहलाई भेट्न मधेश भवन पुगेका थिए ‌।

मुख्यमन्त्री सिंहसँगको भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने प्रतिबद्धता जनाए ।

नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयरलगायतका अधिकारीसँगको भेटमा मुख्यमन्त्री सिंहले सिँचाइलगायत बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने तथा नहर निर्माण योजना कार्यान्वयन, मधेश विश्वविद्यालयमा संघीयता विषयमा अध्ययन-अध्यापन गराउन, वैदेशिक रोजगारबाट फर्केकाहरूलाई दक्षता अभिवृद्धि तथा उद्यम सञ्चालन, प्रदेशमा पूर्ण साक्षरता, सूचना प्रविधिको विकाससहितका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् ।

उनले आँप र केरालगायत खेतीको प्रवर्द्धन तथा उत्पादनका लागि प्रविधि हस्तान्तरण एवं उपयोगका लागि समेत नियोगका अधिकारीहरूको ध्यानाकर्षण गराए ।

नियोगका डेपुटी चिफ अफ मिसन मेयरले एसडीसीमार्फत स्विट्जरल्यान्डले नेपाललाई संघीय लोकतान्त्रिक राज्यका रूपमा विकसित गर्न, समतामूलक सामाजिक तथा आर्थिक विकास प्रवर्द्धन गर्न र नयाँ संघीय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारी प्रयोग गर्न सक्षम बनाउन सहयोग गरिरहेको बताए ।

उनले संघीय राज्य विकास, रोजगारी र आय प्रवर्द्धनसँगै नेपाली आप्रवासी कामदारको सुरक्षामा योगदान पुर्‍याउने, लैंङ्गिक समानता र सामाजिक समावेशीकरण, प्रकोप जोखिम न्यूनीकरणसहितका क्षेत्रमा नियोग प्रदेश सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख गरेका छन् ।

उनले प्रदेश सरकारले पूर्वाधार विकसित गरे सूचना प्रविधि क्षेत्र विकासका लागि बहुराष्ट्रिय कम्पनीसँग जोड्न एसडीसीले सहयोग गर्ने बताए । मुख्यमन्त्रीसंगको भेटमा नियोगका प्रशासन तथा अर्थ विज्ञ मार्क वर्ली पनि सहभागी रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर