‘अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१’ स्वीकृत गर्न मन्त्रिपरिषद्मा पेश हुँदै
काठमाडौं । ‘विपद प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१’ मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ ।
सबै खाले विपदबाट घर क्षतिग्रस्त भइ बस्न नमिल्ने भएका विपद् प्रभावित व्यक्तिका लागि मापदण्ड बिहीबारको मन्त्रिपरिषदको बैठकमा स्वीकृतिका लागि पेश हुन लागेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री रमेश लेखकले जानकारी गराएका हुन् । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले राखेको मौखिक प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जानकारी गराएका हुन् ।
जवाफ दिने क्रममा गृहमन्त्री लेखकले अस्थायी आवास निर्माणका लागि करिब ९० करोड ९४ लाख ७५ हजार रूपैंया जाजरकोट, रूकुम पश्चिम, सल्यान, बझाङ र बाजुरा जिल्लाका जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा मौज्दात रहेको जानकारी गराएका छन् ।
उनले २०८१ बैशाख २१ गते शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२ औं बैठकले ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१’ संशोधनका लागि अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएकोमा अर्थ मन्त्रालयको साउन २५ गतेको पत्र सहमति प्राप्त भएको बताउदैँ अब वित्तीय प्रवन्धको तयारीमा सरकार रहेको बताए ।
गृहमन्त्री लेखकले बैठकमा थप जानकारी गराउँदै भने, ‘जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा मिति २०८० कात्तिक १९ गतेको कार्यकारी प्रमुख स्तरीय निर्णय बमोजिम रुकुम पश्चिम र जाजरकोट जिल्लामा ५–५ करोड सहित ३ अर्ब १६ करोड रूपैंया निकासा भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिबाट २ अर्ब २५ करोड ५ लाख २५ हजार रूपैंया स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको थियो । स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पुरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ता बापत १ अर्ब ९२ करोड ५८ लाख २५ हजार रूपैंया लाभग्राहीको खातामा निकासा भइसकेको छ । जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राही मध्ये ९५८४ लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख रूपैंया जिल्ला विपद् व्यवस्थापन समितिबाट निकासा भएका मध्ये बझाङ जिल्लाका १२५५ जना लाभग्राहीले ३ करोड १३ लाख ७५ हजार रूपैंया दोस्रो किस्ता वापत् प्राप्त गरेका छन् । अन्य जिल्लामा दोस्रो किस्ता वापतको रकम वितरण भएको प्रतिवेदन प्राधिकरणमा आउने क्रममा रहेको छ ।’