गठ्ठाघर दुर्घटना : प्रहरीले कसरी मृतकको सनाखत गलत गर्यो ?
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु भएकी स्कुटर चालक महिलाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । यसअघि घटनास्थलमा एकजना युवक आएर महिलाको पहिरन र चप्पलका आधारमा आफ्नो बहिनी हो भनेर बताएपछि सुस्मा नेपाली भएको भनेर बताइएको थियाे ।
तर अहिले त्यही नाम गरेकी युवती प्रहरीकहाँ आएर आफू नभएको जनाएको भक्तपुर प्रहरी प्रमुख बेद बिष्टले जानकारी दिए ।
कसरी तपाईंहरुले गलत सनाखत गर्नुभयो त भन्ने नेपाल प्रेसको जिज्ञासामा बिष्टले भने, ‘मान्छे स्वयम् आएर आफ्नो बहिनी हो भनेपछि कसरी विश्वास नगर्ने ? त्यही कारणले हामीले पहिचान भयो भन्यौं । तर अहिले ति युवकलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।’ त्यस्तै, घटनास्थलबाट पुरुषको नाममा रहेको स्कुटरको ब्लुबुक भेटिएको पनि उनले बताए ।
घटनामा दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको भनेर खबर फैलिएपछि सुस्मा नेपाली नै नाम गरेकी युवती प्रहरीसमक्ष पुगेर घटना भएको मान्छे आफू नरहेको बताएकी थिइन् ।
बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रक महिला सवार स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको चक्कामुनि परेर उनको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् ।
ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ ।
ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।