३४ वर्षदेखि शरीरमा गोली बोकेर चिया पसल चलाइरहेका भक्त (भिडिओ) – Nepal Press

३४ वर्षदेखि शरीरमा गोली बोकेर चिया पसल चलाइरहेका भक्त (भिडिओ)

रुपन्देही । बहुदल प्राप्तिपछिको केही समय गाउँ-गाउँमा नेपाली कांग्रेस र कम्युनिष्टबीच असाध्यै तिक्तता थियो । एक पक्षले अर्को पक्षमा आस्थावान रहे दाजुभाइमै समेत आउजाउ बन्द हुने अवस्था थियो । शक्ति सञ्चयका हिसाबले एक पक्षले अर्को पक्षलाई भौतिक रुपमा सकाउने खालका संघर्ष हुने गर्दथे । त्यही उदाहरणका एक पात्र हुन् भक्त बस्नेत ।

२०४७ साल कार्तिक २० गते तत्कालीन कांग्रेस नेता जयप्रताप मल्लले हानेको गोली खुट्टामा बोकेर हिंडेका ५१ वर्षीय बस्नेतले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । गुल्मी जिल्लाको तत्कालीन नयाँगाउँ गाविस वडा नं ३ कुनाखर्कस्थित सिखेडाँडामा मल्लले सार्वजनिक जग्गा ओगटेर राखेको र कम्युनिष्टमा आवद्धहरुलाई गाउँ लखेट्ने अभियान थालेपछि छिमेकी रहेको अर्घाखाँचीको मरेङ गाविसबाट उद्धारका लागि गएको टोलीमाथि मल्लले चलाएको गोली लागेर बस्नेत घाइते भएका थिए ।

१७ वर्षको उमेरमा अनेरास्ववियु अर्घाखाँचीको सहसचिव तथा पूर्वोत्तर इलाका कमिटीको इन्चार्ज रहेका बस्नेत समूहमा त्यहाँ गए पनि उनलाई मात्रै मल्लले चलाएको गोली लागेको थियो । कम्मरमुनि दाइने खुट्टाको माथिल्लो भागमा लागेको गोली बस्नेतले साढे तीन दशकदेखि बोकेर हिँडेका छन् । तत्कालीन समयमा ठूलो घटनामा परेर बाँचेका उनले यति लामो समयसम्म आफूले न्याय नपाएको गुनासो गरेका छन् ।

कार्तिक १७ गते चिनियाँकाजीको स्मृति दिवस मनाएर स्थानीय वीरेन्द्र निमाविका २२ जना विद्यार्थीको नेतृत्व बस्नेतले गरेका थिए । मरेङबाट सबै युवाको नेतृत्व राजेन्द्रकुमार आचार्यले गरेर नयाँगाउँमा उद्धारका लागि टोली गएको थियो । नयाँगाउँमा तत्कालीन नेपाली कांग्रेस र कम्युनिष्टबीच त्यो दिन शक्ति प्रदर्शन जस्तै भएको थियो । मल्लको निशानामा परेका नयाँगाउँमा रहेका तत्कालीन माले एकतापछि एमालेका नेता कार्यकर्ताहरु गाउँमा बस्न नपाउने गरी गतिविधि गरेपछि उनीहरुले छिमेकी गाविसमा रहेका पार्टी निकट कार्यकर्तालाई उद्धारको लागि बोलाएका थिए । स्थानीय नारायण पोख्रेल, बमबहादुर खड्का, कुसुम मल्लसहितका नेताहरु गाउँबाट लखेटिएपछि उनीहरुले सहयोग मागेका थिए ।

घाइते बस्नेतका अनुसार पार्टीको निर्देशनअनुरुप मरेङ, खन, खनदह, जैसीथोकबाट त्यो दिन २५० भन्दा बढीको संख्यामा एमालेका कार्यकर्ता जयप्रतापको ज्यादती रोक्न त्यहाँ पुगेका थिए । सो घटनाका प्रत्यक्षदर्शी ऋषिराम आजाद यति लामो समयसम्म न्यायका लागि बस्नेतले याचना गर्नुपर्ने विषय नभएको बताउँछन् ।

‘त्यो समयमा पार्टीले खटाएको जिम्मेवारीमा गएको बेला बस्नेतमाथि गोली लागेको हो, देशमै तरंग ल्याएको त्यो घटनाको दमननाथ ढुंगाना र सीपी मैनाली रहेको आयोग बनेर पीडितको सबै उपचार र राहतका लागि जग्गा दिने सिफारिस भएको हो’, उनले भने, तर अहिलेसम्म पीडितले न्याय नपाउनु राम्रो होइन, यो भक्तको विषय होइन, एमालेको विषय हो, तत्कालीन नेतृत्वको विषय हो, तत्काल यसलाई निकास दिनुपर्दछ ।’

तत्कालीन प्रशासनसँग बलियो सम्बन्ध भएका र पार्टीमा पनि उत्तिकै बलियो आधार बनाएका मल्लले राइफलसहितका हतियार र अन्य पनि शक्ति जुटाएर बसेको सूचना पाए पनि पार्टीको निर्देशनमा पुगेकाहरु कोही नडराएको उनले बताए ।

‘आक्रोश थियो, स्थानीयले गरेका खेती फालिदिएको, फरक मत राख्नेलाई लखेटेको र सार्वजनिक सम्पत्ति कब्जा गरेको विषयमा उनको चौतर्फी आलोचना भएको थियो, त्यसैविरुद्ध शक्ति जुटेको थियो तर बस्नेतलाई एकाएक गोली लागेपछि सन्नाटा छायो’, उनले भने, ‘अहिलेसम्म बस्नेतले न्याय नपाउनु अत्यन्तै लाजमर्दो विषय हो, अहिलेको सरकारले त्यो तत्काल कार्यान्वयनमा लैजाओस्, त्यो विषयमा पूरै जानकार भएको व्यक्ति प्रधानमन्त्री भएकाले पनि सहज हुनेछ ।’

प्रत्यक्षदर्शी र पीडितका अनुसार कार्तिक २० गते नयाँगाउँ डाँडामा एमालेका कार्यकर्ता उद्धारका लागि जुटेका थिए, तर त्यसको प्रतिरक्षाका लागि कांग्रेसबाट पनि उत्तिकै शक्ति जम्मा भएको थियो । घटनास्थलको तल अरौदीको फाँटमा जयप्रताप मल्लको पक्षमा रहेको टोलीले स्थानीयले लगाएको धान काटेर फालिरहेका थिए भने सबै सुन्तलाका बोटहरु काटेर पल्टाएका थिए । वरिपरिबाट एमालेका कार्यकर्ताले घेरेपछि मल्लका कार्यकर्ता भागाभागमा परेका थिए । मल्लले हतियारसहित शक्ति जुटाएको संकेत पाए पनि मल्ल लुकेर डाँठको थुप्रोमा बसेको कसैले पत्तो पाएन । केही समयपछि उनले डाँठको थुप्रोभित्रैबाट गोली चलाएका थिए ।

‘जयप्रतापले चलाएको पहिलो गोली बाहिर गयो, दोस्रो गोली मेरो कानमा सामान्य लागेर सँगै गएका विनोद ज्ञवालीको हातमा हलुका लागेर बाहिर गयो, तेस्रो गोली मेरो दाहिने खुट्टाको कम्मरमुनि लागेपछि विस्तारै खुट्टा चल्न छाड्यो, अनि म ढलेको हुँ’, उनले भने, ‘त्यो बेलासम्म गोली कसरी चल्छ भन्ने पनि थाहा थिएन, पड्केको पनि पत्तो पाइएन, एकै पटक लागेपछि रगत आयो अनि होस उड्यो, केही समयमै स्वास्थ्यको टोलीले कुनाखर्कस्थित स्कुलमा गलेर राख्यो, अनि घोडामा राखेर थप उपचारका लागि तम्घास पठाइयो ।’

बस्नेतमाथि गोली लागेपछि उत्तेजित भएका एमालेका कार्यकर्ताहरु पनि मल्लमाथि जाइलागे । सबैले उनीमाथि आक्रमण गर्दा उनी पनि गम्भीर घाइते भए । उनको पनि हात भाँचियो । त्यो दिन उनलाई अर्घाखाँचीको मरेङस्थित वीरेन्द्र निमाविमा ल्याएर राखियो, अर्को दिन तम्घास लगिएको थियो ।

नयाँगाउँको यो घटनापछि गुल्मी र अर्घाखाँचीमा एमाले र कांग्रेसबीच लडाइँ चलिरह्यो । देशभरमै कांग्रेस नेताले एमाले कार्यकर्तालाई गोली हानेको विषय सनसनी फैलियो ।

‘नयाँगाउँ त्यो सिखेडाँडा कांग्रेसी राइफल चलायोे’ भन्ने गीत नै बनाएर एमालेले देशव्यापी बनायो । जयप्रताप मल्ललाई तम्घास ल्याएपछि कांग्रेसले पुनः त्यहाँ रहेका एमालेका कार्यकर्तामाथि आक्रमण गरे । सो घटनामा एमालेका हरि ज्ञवालीलगायत घाइते भएका थिए ।

विवाद बढ्दै गएपछि जिल्ला तहमा यो विवाद मिलाउन कांग्रेस नेता भागवत ज्ञवाली र एमाले नेता सिद्धिनाथ ज्ञवालीको टोली बसेर विवाद समाधान गर्ने सहमति गरे । राष्ट्रियस्तरमा एमालेको तर्फबाट सीपी मैनाली र कांग्रेसको तर्फबाट दमननाथ ढुंगाना रहेको दुई सदस्यीय अधिकार सम्पन्न राजनीतिक विवाद छानबिन समिति गठन भएको थियो । त्यो समितिमा सहजीकरणका लागि एमालेबाट अधिवक्ता अग्नि खरेल र तेजप्रसाद कँडेल तथा कांग्रेसबाट अहिले सर्वोच्चमा न्यायाधीश रहेका तत्कालीन अधिवक्ता प्रकाश राउत टोलीमा रहेका थिए ।

त्यो समितिले २०४७ पुस १४ देखि २१ गतेसम्म गुल्मीको तम्घासलाई मुकाम मानेर घटनाको अनुसन्धान गरेको थियो । एमाले, कांग्रेसको जिल्ला समिति, जिल्ला प्रशासन तथा प्रत्यक्षदर्शी र घाइतेसँग बयानको रिपोर्टको आधारमा गोली लागेर गम्भीर घाइते भक्त बस्नेतलाई उपचारका लागि लाग्ने सबै रकम व्यवस्थापन सरकारले गर्ने र जीवनयापनका लागि सरकारी घर वा जग्गा दिलाउने र सो घटनामा घाइते जयप्रताप मल्लको पनि सबै उपचार खर्च पनि गर्नुपर्ने प्रतिवेदन आयोगले सरकारलाई बुझाएको थियो । आयोगको सिफारिसअनुसार २०४९ साल कार्तिकमै मन्त्रिपरिषद् बैठकले निर्णय गरेर बस्नेतलाई रुपन्देहीमा जग्गा दिने निर्णय गरे पनि कांग्रेस नेताहरुको दबाबमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले त्यो निर्णय कार्यान्वयनमा लगेनन् ।

२०५१ सालमा एमालेको नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बनेका केपी शर्मा ओलीको पालामा पहिलेको निर्णय कार्यान्वयन गराउन सुकुमबासी समस्या समाधान आयोग रुपन्देहीलाई पत्राचार भयो । त्यही पत्रलाई आधार मानेर २०५२ असार १६ गतेको निर्णयअनुसार रुपन्देही आयोगले बुटवल वडा नं ४ स्थित अदालत अगाडि १ कठ्ठा बस्नेतलाई उपलब्ध गराइएको हो । उक्त जग्गाको लालपुर्जा बस्नेतको नाममा भएपछि अहिलेसम्म तिरो नचलेका कारण यसमा उनले बैंक तथा अन्य प्रयोजनमा प्रयोग गर्न पाएका छैनन् ।

‘मेरो नाममा पुर्जामात्रै छ, तिरो चलेकै छैन, केपी ओली पार्टीको लुम्बिनी सचिव हुँदा त्यो घटना भएको हो, उहाँ गृहमन्त्री हुँदा यो जग्गा पाएको हुँ’, बस्नेतले भने, ‘तर अहिलेसम्म तिरो नचलेका कारण मलाई धेरै तनाव भएको छ, खुट्टामा गोली बोकेर हिंडेको छु, धेरै बलको काम गर्न मिल्दैन, कुनै दिन खुट्टा नचल्ने भए मैले के गर्ने होला, उहाँ प्रधानमन्त्री भएको बेला यो समस्या सल्टाउने अपेक्षा लिएको छु ।’

गोली लागेपछि बस्नेतलाई पहिलो चरणमा गुल्मीको तम्घासमा उपचार भए पनि गम्भीर भएकाले तानसेन रिफर गरिएको थियो । तानसेनको मिसनमा ६ दिन उपचार गरिए पनि भित्रको गोली निकाल्न नसक्ने अवस्था भएपछि काठमाडौं वीर अस्पतालमा रिफर गरियो । त्यहाँ पनि सम्भव नभएपछि टिचिङ अस्पतालमा ३ महिना राखेर उपचार गरिएको हो ।

‘टिचिङमा डाक्टरहरुले खुट्टाको गोली निकाल्ने प्रयास गर्दा खुट्टा नै सुक्ने भएकाले तत्काल नगर्ने राय आयो, ५५-६० वर्षसम्म सामान्य हिँडडुल गर्न मिल्ने भएकाले गोली ननिकाल्ने निचोडपछि गाउँ फर्केको हुँ’, उनले भने, ‘छानबिन आयोगले भने जस्तै सबै उपचारको खर्च दिने भनिए पनि त्यो लिन निकै समस्या रहेछ, भित्रको खर्च आए पनि बाहिरी खर्च केही पाइएन ।’

उपचारपछि गाउँमा फर्केर उनले २०४८ सालमा गीता बस्नेतसँग विवाह गरे । विवाहपछि जीवन निर्वाहका अनेक प्रयास र राजनीति पनि गरेका उनले विकल्पमा गाउँ छोड्नपर्ने बाध्यता आयो । २०५३ मा बुटवल झरेर उनले अस्थायी जग्गामा बनाएको सामान्य घरमा चिया पसल चलाएका छन् । श्रीमानश्रीमतीले दुःख गरेर दुई छोरा र एक छोरीलाई पढाएर विभिन्न क्षेत्रमा काममा लगाएका छन् । जेठो छोरा प्रकाश सरकारी सेवामा छन् । कान्छो अटो इन्जिनियरिङ अध्ययनपछि काममा छन् । छोरी लक्ष्मीको विवाह भइसकेको छ । बुटवलमा चिया पसलसँगै उनले एमालेको राजनीतिलाई पनि अघि बढाएका छन् । अहिले उनी नगर सचिवालय सदस्य छन् ।


प्रतिक्रिया

One thought on “३४ वर्षदेखि शरीरमा गोली बोकेर चिया पसल चलाइरहेका भक्त (भिडिओ)

  1. उनलाई दिएको जग्गा हकभोग गराउने बाताबरण होस तत्कालीन सरकारले गरेको निर्णय कार्यान्वयनमा लग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर