सामुदायिक विद्यालयले पाउँदैनन् गणित-विज्ञानका शिक्षक
डोटी । अछामको चौरपाटी गाउँपालिका–६ दुनीमा रहेको देवीमाण्डौं माध्यमिक विद्यालयले गणित-विज्ञान शिक्षक खोज्न थालेको महिनौं भयो ।
संघीय शिक्षण सिकाइ अनुदान कोटामा शिक्षक नियुक्त गर्नका लागि विद्यालयले पाँचौँ पटक विज्ञापन गर्यो । पछिल्लो विज्ञापनको समयावधि शुक्रवारसम्म मात्रै थियो । तर कसैको पनि निवेदन परेन ।
‘अध्यापन अनुमति पत्र नभएका त सम्पर्कमा आएका थिए, तर अनुमति पत्र अनिवार्य चाहिने नियम छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर साउँद भन्छन्, ‘अध्यापन अनुमति पत्र प्राप्त गरेका व्यक्तिहरू सेवा सुविधा कम भयो भनेर दुर्गममा आउन मान्दैनन् ।’
यसअघि काम गरिरहेका शिक्षकले छोडेर गएपछि असारदेखि शिक्षक पद रिक्त भएको साउँद बताउँछन् ।
डोटीको सायल गाउँपालिका-३, सैनगाउँमा रहेको भवानीस्थान माध्यमिक विद्यालयले पनि लामो समयदेखि गणि-विज्ञान शिक्षक खोज्दै छ । उक्त विद्यालयले सोमवारसम्म आवेदन दिने म्याद रहने गरी तेस्रो पटक विज्ञापन गरेको छ ।
‘पहिले एक जना सर हुनुहुन्थ्यो, उहाँले निमाविको राहत दरबन्दी पाउनु भयो र छाडेर जानु भयो’ विद्यालयका प्रधानाध्यापक मोहन विक्रम सिंह भन्छन् ‘जेठदेखि दरबन्दी खाली छ ।’
उनी कैलालीबाट एक जनाले फोन गरेर आउँछु भनेको तर आउने नआउने पक्कापक्की नभएको बताउँछन् ।
बैतडीको सिगास गाउँपालिका-६ मा रहेको महादेव माध्यमिक विद्यालयको अवस्था पनि उस्तै छ । संघीय अनुदान कोटामा गणित-विज्ञान शिक्षक भर्ना गर्नका लागि विद्यालयले दोस्रो पटक विज्ञापन गरेको छ । हालसम्म सम्पर्कमा कोही पनि आएका छैनन् ।
‘एक महिनादेखि हामी शिक्षक खोज्दैछौं’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिसिंह साउँद भन्छन् ‘गणित विज्ञान पढेको शिक्षक पाउनै मुस्किल भयो ।’
यी तीन विद्यालय प्रतिनिधि घटना मात्रै हुन् । देशका विभिन्न स्थानमा यस्ता धेरै सामुदायिक विद्यालयहरू रहेका छन्, जसले गणित विज्ञान शिक्षकको अभाव झेल्दै आएका छन् ।
नवलपरासीको रामग्राम नगरपालिका-१८ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले गणित शिक्षकका लागि सातौँ पटकसम्म विज्ञापन गरेको छ ।
भरखरै विद्यालय शिक्षा परीक्षा (एसईई) को नतिजा प्रशासन भएपछि शिक्षाको गुणस्तरलाई लिएर सामुदायिक विद्यालयहरू आलोचनाको घेरामा छन् । तर विद्यालयहरूले भने शिक्षक पाउँदैनन् । समयमै शिक्षक नपाउँदा पठन पाठनमा समस्या आउने चिन्ता गर्छन् विद्यालयहरू ।
‘गणित÷विज्ञान जस्तो विषयमा शिक्षक पाएन भने के गर्ने भन्ने चिन्तामा छौँ’ देवीमाण्डौं माविका अध्यक्ष साउँद भन्छन् ‘सम्पर्कमा आएकाहरूले सेवा सुविधा कम भयो, थपेर दिनु पर्यो भन्छन्, नियमानुसार त्यही छ, विद्यालयले कहाँबाट थप्नु !’
पटक पटक विज्ञापन गर्दा पनि नपाएपछि अध्यापन अनुमति पत्र नभएको व्यक्तिलाई पनि शिक्षक नियुक्त गर्न सक्ने गरी नीति परिमार्जन गर्नु पर्ने साउँदको भनाई छ ।
उनी भन्छन् ‘राज्यले अध्यापन अनुमति पत्रको मापदण्ड बनाएको छ, त्यो ठिकै हो तर शिक्षक नपाएर पठनपाठनै अवरुद्ध हुने अवस्था आयो भने के गर्ने भन्ने विकल्प पनि सोच्नु पर्छ ।’
यस्तै, समस्या बताउँछन् भवानीस्थान माविका प्रधानाध्यापक सिंह पनि । उनी भन्छन् ‘अन्य विषयका शिक्षकहरूको भन्दा गणित÷विज्ञानका शिक्षकहरूलाई सेवा सुविधा बढी दिने गरी राज्यले नीति बनाउनु पर्ने हो ।’
कम सेवा सुविधा भएका कारण गणित÷विज्ञान पढेका व्यक्तिहरू दुर्गम गाउँमा आउन नमानेको सिंहको बुझाई छ ।
उनी भन्छन् ‘जिल्ला सदरमुकाम र अन्य सहरहरूमा उनीहरूले अतिरिक्त समयमा पनि काम पाउँछन् तर गाउँमा त त्यही चोखो तलब मात्रै हुन्छ ।’
उनी गणित मात्रै पढेका व्यक्तिहरू पनि पाइने गरेको तर विज्ञान मूल विषय लिई स्नातक (बी एस्सी) गरेको शिक्षक भेटाउन समस्या भएको बताउँछन् ।
सेवा सुविधा कम भएका कारण गणित विज्ञान पढेकाहरू दुर्गममा जान नमान्ने गरेको कुरामा सहमति जनाउँछन् शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख अम्बादत्त जोशी ।
‘गणित विज्ञान विषयको जनशक्ति नभएकै कारणले शिक्षक नपाएको भन्ने त होइन, सो विषय पढेका धेरै छन्’ जोशी भन्छन् ‘शिक्षण पेशामा सेवा सुविधा कम देख्छन्, त्यो भन्दा त सुविधा सम्पन्न ठाउँमा बसेर आयोगको तयारी गर्छु भन्ने मानसिकतामा हुन्छन् ।’
गणित÷विज्ञान पढेका व्यक्तिहरूका लागि अध्यापन अनुमति पत्रको परीक्षा पास गर्न पनि ग¥हो हुने उनी बताउँछन् ।
उनले थपे ‘परीक्षामा शिक्षाबाट प्रश्न सोधिन्छ, बीएस्सी पढ्दा शिक्षा पढ्नु पर्दैन ।’
पटक पटक विज्ञापन गर्दा पनि शिक्षक नपाइने भएपछि केही विद्यालयहरूले कार्यविधि बनाएर अध्यापन अनुमति पत्र नभएको व्यक्तिलाई पनि शिक्षक राख्न सक्ने व्यवस्था गरेको पाइएको जोशी बताउँछन् ।
उनी भन्छन् ‘नीतिगत रूपमा त यो मिल्दै मिल्दैन तर अध्यापन अनुमति पत्र भएको व्यक्ति नपाएकै कारण लामो समयसम्म विद्यालयमा पठनपाठन अवरुद्ध हुनु पनि राम्रो भएन ।’