थामेका बाढी पीडितको राहत र उद्धारमा मुख्यमन्त्रीको निर्देशन
विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा बाढी पहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
उनले उद्धार र राहतसहित प्रदेश तत्काल पीडितहरूसँग पुग्ने बताए । सोलुखुम्बु जिल्लाको खम्बु पासङ्ल्यामु गाउँपालिका नाम्चेबाट उत्तर पश्चिममा पर्छ ।
नाम्चेबाट ५ घण्टाको दुरीमा पर्ने थामेको थोेमुमा बाढीले वितण्डा मच्चाएको हो । त्यहाँ ४० जति घर रहेको प्रहरीले जनाएको छ । सोलुखुम्बुको तिब्बतसँग जोडिएको नाका नाङ्पाला जाने बाटोमा थोमु गाउँ पर्छ ।
नाङ्पाला जाने बाटोमा परेकाले सो गाउँमा होटल र लजहरू समेत छन् । अहिले सिजन नभएका कारण त्यहाँका अधिकांश मानिसहरू काठमाडौँ बस्ने गरेका कोशी प्रदेश सभा सदस्य सदस्य बुद्धिकुमार राजभण्डारीले बताए ।
उनले भने, ‘बर्खाको समयमा अधिकांश मानिसहरू काठमाण्डौमा बस्छन् । अहिले सो ठाउँमा पर्यटक नभएका कारण सुनसान हुने बेला हो । बाढी गएका बेला सो गाँउपालिकाका अध्यक्ष उपाध्यक्षसहित अधिकांश जनप्रतिनिधि समेत काठमाडाैंमा थिए । उनीहरु अहिले जिल्ला फर्कदै छन् ।