युवालाई नेपालमा टिकाउन के गर्ने ? – Nepal Press

युवालाई नेपालमा टिकाउन के गर्ने ?

चिनियाँ संस्कृति र विचारधारामा रोजगारी र कामकाजसँग सम्बद्ध विभिन्न दृष्टिकोण र भनाइ छन् । जसमध्ये एउटा लोकप्रिय भनाइ छ- ‘पर्वतमा निर्भर गर्दा पर्वत गिर्नसक्छ, पानीमा निर्भर गर्दा पानी बहनसक्छ, आत्मनिर्भर हुँदा कहिले पनि पतन हुँदैन ।’ यो भनाइले आत्मनिर्भरता र व्यक्तिगत प्रयासलाई महत्व दिन्छ र व्यक्तिगत प्रयास र आत्मनिर्भरता दीर्घकालीन स्थिरता र सफलता सुनिश्चित गर्न कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ ।

नेपालको सन्दर्भ अलि फरक छ । यहाँ काम भताभुङ्ग भएपछि नेतालाई दोषारोपण गर्ने संस्कृति व्याप्त छ र हामी दैनिक त्रिभुवन विमानस्थलमा विदेशिन लाइन लागेका तस्विर पोस्ट्याएर यो देशमा केही हुँदैन भन्छौं । अझ हामी यसलाई राजनीतिसँग प्रत्यक्ष तुलना गर्छौं । के साँच्चै नेपालमा केही हुँदैन त ? सार्वजनिक कार्यक्रमहरुमा अहिले वक्तालाई सोध्ने मूल प्रश्न भनेको ‘त्रिभुवन विमानस्थलमा देखिने घुइँचो कसरी रोक्छौं ?’ भन्ने हो । यो प्रश्न वास्तवमै चिन्तन गर्न लायक छ । फेरि सोचौं त त्रिभुवन विमानस्थलको चापाचाप रोकेर चाहिँ देश उँभो लागिहाल्ने हो ? यसो भन्दा देशमा रोजगारी सिर्जना गर, हाम्रा युवा बेरोजगार छन् भनेर भन्छौं ।

अहिले नेपालमा १ करोड २४ लाख १२ हजार १७३ युवाको संख्या छ । यो भनेको कुल जनसंख्याको ४२.५६ प्रतिशत हो । श्रम सर्वेक्षण २०७९ अनुसार नेपालमा ११ प्रतिशतमात्रै बेरोजगार छन् । जसको अर्थ बाँकी रोजगार छन् भन्ने हो । त्यसमा पनि सरकारले कम्तीमा बेरोजगार रहेकाहरुका लागि १०० दिनको रोजगारी सुनिश्चित गर्ने भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । जसमा ८ लाख ८५ हजार १५३ सूचीकृत बेरोजगार छन् । जसलाई सरकारले न्यूनतम १०० दिनको रोजगारीको सुनिश्चित गरेको छ । यद्यपि नेपालमा हालैको तथ्याङ्कअनुसार आ.व. २०८००८१ मा मात्रै १ लाख १२ हजार ९५७ जनाले एनओसी लेटर लिएका छन्, जसमध्ये धेरै कक्षा १२ सकेका युवा विद्यार्थी रहेका छन् ।

युवालाई यसरी नेपालमै टिकाऔं

केही समयअघि मात्रै मेरो जानकारीमा भएको ग्रामीण भेगका एक विद्यालयले माध्यमिक तहमा अध्यापन गर्न भनेर गणित शिक्षकको लागि भ्याकेन्सी खुला गरेको थियो, तर दुःखको कुरा उक्त रिक्त शिक्षक पदमा आवेदन दिने कोही भएनन् र उक्त विद्यालयले चौथो पटकको विज्ञापनमा मात्रै धेरै दुःखका साथ शिक्षक खोजेर व्यवस्थापन गरेका थिए । अब, सोचौं कि ती एनओसी लेटर लिने उमेरका युवा विद्यार्थीहरुलाई नेपालमा रोजगारी सिर्जना गरेरै नेपालमा रोक्न सक्न्छि ? के यही हो त समाधान ? यसको उत्तर खोज्दै गरौं । यद्यपि युवा पलायनलाई रोक्न अहिले भइरहेको यत्न पर्याप्त छैन भन्नेमा पनि सबै एक मत नै छन् ।

अहिले नेपालमा १ करोड २४ लाख १२ हजार १७३ युवाको संख्या छ । यो भनेको कुल जनसंख्याको ४२.५६ प्रतिशत हो । श्रम सर्वेक्षण २०७९ अनुसार नेपालमा ११ प्रतिशतमात्रै बेरोजगार छन् । जसको अर्थ बाँकी रोजगार छन् भन्ने हो ।

सबैभन्दा पहिले विदेश पठाउन र यस सम्बन्धमा काम गर्न नेपालमा वैदेशिक रोजगार बोर्ड भए जस्तै स्वदेशमा रोजगारी सिर्जना गर्न तथा अन्य सहजीकरणका लागि स्वदेशी रोजगार बोर्ड किन छैन भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ । नेपालमा रोजगारीको अनुकूलता सिर्जना गर्न नसकेको कुरालाई स्वीकार गर्नुपर्छ । नेपालमा पृथक वैदेशिक रोजगार बोर्ड अन्य भिन्नै संयन्त्रभन्दा पनि एकै रोजगार बोर्ड स्थापना गरेर विदेशमा काम गर्ने र नेपालमा काम गर्ने सबैखालको रोजगारीलाई एउटै चस्माबाट हेरिनु आवश्यक छ । यसरी युवालाई स्वदेशमा टिकाइराख्न उल्लेखित केही उपाय महत्वपूर्ण हुन सक्छन् :

१) अहिले विदेशिएका युवाहरु माध्यमिक तहको शिक्षा सकेका विद्यार्थीहरु हुन् । उनीहरु विदेशिनुका कारण अनुसन्धनात्मक समय सापेक्ष र गुणस्तरीय शिक्षा तथा रोजगारीका लागि हो । हामीकहाँ क्याम्पस अध्ययन गर्ने घडी तथा काम गर्ने समयको तालमेल नहुँदा पढ्ने विद्यार्थीहरुले काम गर्न तथा काम गर्ने रोजगार युवाहरुले पढ्न सकिरहेका छैनन् । सरकारले यसको उचित समाधान गर्ने, पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तथा शिक्षा र अनुसन्धानमा लगानी बढाउँदा युवालाई स्वदेशमा टिकाइराख्न मद्दत पुग्छ ।

२) नवप्रवर्तन, स्टार्ट अप जस्ता क्षेत्रमा सरकारले काम गर्दा पनि नेपालमै रहेर काम गर्न चाहना राख्ने युवाहरुलाई आकर्षण गर्छ ।

३) युवाहरु पूर्वाधारको विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सरल र गुणस्तरीय सार्वजनिक सेवा प्रवाह चाहन्छन् । सुरक्षित आवास तथा समुदाय र पर्याप्त मनोरञ्जन पनि युवाहरुको चाहनाको विषय भएकाले यस क्षेत्रमा भएको ढिलासुस्ती र क्षयीकरणलाई रोक्ने हो भने युवाहरु स्वदेशमै आकर्षित हुन्छन् ।

४) युवाहरु विदेशिनुको अर्को कारण बेरोजगारी नभएर अर्धरोजगारी तथा पर्याप्त तलब सुविधाको अभाव हो । त्यसकारण रोजगारमा रहेकाहरुलाई सरकारले आकर्षक तलब र यससँग सम्बद्ध प्याकेजहरु ल्याउनुपर्छ । स्वदेश तथा विदेशमा रोजगारमा रहेकाहरुलाई स्वास्थ्य बीमा, अवकास योजना तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जोड्नुपर्छ । जसले उनीहरुलाई स्वदेशमै इलम गर्न र विदेशबाट स्वदेश फर्किएर लगानी गर्न प्रेरित गर्छ । विदेशमा पढेर फर्कनेहरुका लागि उसको सीप र क्षमता सुहाउँदो रोजगारीका अवसरहरु सिजर्ना गर्न आवश्यक छ ।

युवाहरु पूर्वाधारको विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सरल र गुणस्तरीय सार्वजनिक सेवा प्रवाह चाहन्छन् । सुरक्षित आवास तथा समुदाय र पर्याप्त मनोरञ्जन पनि युवाहरुको चाहनाको विषय भएकाले यस क्षेत्रमा भएको ढिलासुस्ती र क्षयीकरणलाई रोक्ने हो भने युवाहरु स्वदेशमै आकर्षित हुन्छन् ।

५) सरकारले युवाहरुलाई स्वदेशमै रहेर इलम गर्ने वातावरण बनाउन विदेशमा रहेका युवा लक्षित नेपालमा सहज व्यवसायिक भिसा प्रदान गर्ने, आवासीय अनुमति प्रदान गर्ने तथा फर्कन चाहना गर्ने डिग्री होल्डर्सका लागि कर प्रोत्साहनका नीति तथा कार्यक्रम बनाउन आवश्यक छ ।

६) युवाहरुमा नवीन दृष्टिकोण, ऊर्जा तथा पर्याप्त ताजगीपना तथा प्रविधि मैत्री स्वभाव हुने हुँदा युवालाई नेपालको मूलधारको राजनीतिमा सहभागिता बढाउनु पनि आवश्यक छ । युवाहरु मोर्डन प्रोब्लेम इज मोर्डन सोलुसन भन्ने विचार राख्ने हुँदा हरेक ठाउँमा आफ्नो प्रतिनिधित्व चाहने, सबै किसिमको विभेद तथा कुरीतिमा विश्वास नगर्ने स्वभावका हुन्छन् र राजनीतिमा पुराना पुस्तालाई सम्मानपूर्वक शीरमा राखेर मूलधारका राजनीतिमा आफ्नो सहभागिता चाहेको कुरा हालका राजनीतिकर्मीहरुले अन्देखा गर्नु हुँदैन ।

भूमण्डलीकरणको प्रभाव

यो लेखको उद्देश्य युवाहरुलाई शत प्रतिशत स्वदेशमै रोक्नुपर्छ भन्ने होइन । अहिलेको बढ्दो भूमण्डलीकरणले विश्वलाई आर्थिक, सांस्कृतिक, सामाजिक र प्राविधिक दृष्टिले जोड्छ । यो विश्वव्यापी अन्तरक्रियाको प्रक्रिया हो । जसको कारण वस्तु, सेवा, जानकारी र सांस्कृतिक तत्वहरू विभिन्न देशहरूमा सुलभ आदानप्रदान भइरहेको छ । जसकारण मानिसहरु तीव्र बसाइसराइ गर्ने तथा विदेशिने गरिरहेका छन् ।

विश्व अहिले एउटा गाउँ जस्तै भएको छ । अहिले ३.४१७ ट्रिलियन डलर जीडीपी भएको छिमेकी राष्ट्र भारतबाट पनि वार्षिक २५ लाख मानिस विदेशिरहेका छन् । यही समस्या ग्रिस, फिलिपिन्स, बुल्गेरिया जस्ता देशहरुमा पनि रहेको छ । तसर्थ, विदेश यात्रा र त्रिभुवन विमानस्थलको लामो ताँती भूमण्डलीकरणको प्रभाव हो ।

मलाई लाग्छ, नवप्रवर्तन, स्टार्ट अप, शिक्षा तथा अनुसन्धान जस्ता क्षेत्रमा सरकारले गर्ने लगानी वृद्धि, पढ्दापढ्दै पनि कमाउन सकिने कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, पूर्वाधारको विकास, स्वास्थ्य तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सकियो भने युवाहरु नेपालमा टिक्छन् र टिकाउन सकिन्छ ।


प्रतिक्रिया

2 thoughts on “युवालाई नेपालमा टिकाउन के गर्ने ?

  1. युवालाई देशमा टिकाउने हो भने निम्न कुराहरू गर्नु नितान्त जरुरी छ ।
    क) नेपालमा ऊधोग धन्दा कल कारखाना सातवटै प्रदेशमा छिटो भन्दा छिटो खोल्नु जरुरी छ ।
    ख) बुढा बुढा नेताहरू हटेर यूवा पुस्तालाई देश हस्तान्तर हुनुपर्छ।
    ग) शिक्षालाई ब्यापारीकरण हुनबाट तुरून्त रोकिनुपर्छ।
    घ) प्रधानमन्त्री र मन्त्री बन्नका लागि उच्च शिक्षा हासिल गरेको हुनुपर्दछ।
    ङ) देशमा बिध्मान हरेक भेदभावहरू हटाई समानता प्रत्याभूति हुनुपर्दछ। भेदभाव हरुवा महिला पुरुष बिचको भेदभाव, जातीय भेदभाव, धार्मिक भेदभाव, धनी गरिब बीचको भेदभाव, उच्च र नीच बिचको भेदभाव आदि ।
    अरूहरू धेरै छ तर सारांशमा यति पुरा गर्न सके धेरै फाइदा हुन्छ।

  2. रोजगारी ब्यवस्था गर्ने उत्पादनको क्षेत्रमा अघि बढाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *