गठ्ठाघर दुर्घटनामा झूटाे सनाखत गर्ने युवकले मृगौला बेचेको भन्दै कोखा देखाए – Nepal Press

गठ्ठाघर दुर्घटनामा झूटाे सनाखत गर्ने युवकले मृगौला बेचेको भन्दै कोखा देखाए

प्रहरीसँग शम्भूले भनेका थिए- बहिनी रक्सी खान्थी, स्कुटर राम्ररी चलाउन आउँदैनथ्यो

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दुर्घटनाका मृतकलाई बहिनी दाबी गर्ने व्यक्ति यतिबेला प्रहरी हिरासतमा छन् ।

उनले मृतक भनेका व्यक्ति जीवित रहेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । दोलखाको मैलुङ–६ का शम्भु नेपालीले मृतक आफ्नी बहिनी सुष्मा भएको भन्दै घटनास्थल पुगेका थिए ।

‘जब कसैले मृतक आफ्नो बहिनी दाबी गर्छ भने हामीले पत्याई नहाल्ने कारण थिएन । तर केही शंका भने थियो’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘मृतकको कपाल सेतो भएका कारण शंका गर्ने ठाउँ थियो ।’

प्रहरीले थप यकिन गर्न शम्भुलाई घटनास्थलबाट प्रहरी वृत्त थिमी पुर्याएको थियो । उनले ‘साँच्ची हो क्या, नत्र मेरो ठूलोबुबासँग कुराकानी गर्नुस्’ भनेर विश्वास दिलाउने प्रयास गरेका थिए । प्रहरी कार्यालय पुर्याएपछि शम्भुले ‘मेरी बहिनी मादक पदार्थ सेवन गर्थी, राम्रोसँग स्कुटर चलाउन आउँदैन थियो, स्कुटर पनि उसको थिएन । मलाई अलिकति पैसा  मिलाई दिनुस् है’ भनेको अधिकारीहरु बताउँछन् ।

‘त्यसपछि तुरुन्तै ठूलोबुबाको नम्बर मागेर फोन गरिएको थियो । ठूलोबुबाले मृतक भनिएकी युवतीकी हजुरआमालाई फोन दिइन् । हजुरआमाले एकछिन अगाडि मात्र नातिनीसँग कुराकानी गरेको बताइन्’, ती अधिकारी भन्छन् । प्रहरीले त्यसपछि सुष्मा र ती युवक दाजु बहिनी नभएको यकिन गर्यो भने मृतक सुष्मा नभएको निष्कर्ष निकाल्यो ।

सुष्मा चितवनमा रहेको प्रहरीले जानकारी पाएको थियो । ‘दुईवटा बच्चा छोडेर सुष्मा १० दिन अगाडि हिँडेको भन्ने पनि छ । फेरि कान्छी बहिनीको घरमा गएकी हुन् भन्ने पनि आएको छ । तर जे होस् सुष्मा जीवित् छन् भन्नेमा हामी ढुक्क भयौँ’, ती अनुसन्धान अधिकारीले भने । शम्भुले आफ्नी आमाको मृत्यु भएको र बाबुले अर्कै श्रीमती विवाह गरेपछि बहिनीलाई आफुले हेर्ने गरेको र अहिले खलासी काम गर्ने गरेको बताएका छन् ।

‘उनले मैले मृगौला पनि बेचेँ भनेर कोख काटेको खत पनि देखाउँछन्’, ती अधिकारी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर