मुख्यमन्त्री कार्कीको हनिमुन पिरियड : शासकीय सुधारमा प्रविधिमा जोड
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्व सरकारको हनिमुन पिरियड सकिएको छ । वैशाख २९ गते एमाले र माओवादीका प्रदेश सभा सदस्यको समर्थनमा कार्की संविधानको धारा १६८(५) अन्तर्गत कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।
उनी मुख्यमन्त्री भएको आज एक सय दिन पुगेको छ । सय दिन पुगेको अवसरमा मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कार्कीले सय दिनको उपलब्धि समेत सार्वजनिक गरेका छन् । उनले प्रदेश सरकारका ६० बुँदे उपलब्धि सार्वजनिक गर्दै प्रदेश सरकारले सुनिने र देखिने गरी काम थालेको बताए ।
मुख्यमन्त्री नियुक्त हुँदा उनले प्रदेशमा शासकीय सुधारमा काम गर्ने बताएका थिए । उनले एक सय दिन पुगेको अवसरमा सार्वजनिक गरेको उपलब्धिको विवरणको पहिलो बुँदामा पनि शासकीय सुधारलाई राखेका छन् ।
मुख्यमन्त्री कार्कीले सय दिनको उपलब्धि सार्वजनिक गर्दै भने, ‘प्रदेश गुनासो व्यवस्थापन निर्देशिका २०८१ स्वीकृत गरी गुनासो व्यवस्थापन पोर्टल पूर्ण रूपमा सञ्चालनमा ल्याएका छौ यसले प्रदेश सरकार प्रति आम नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न सहज हुने छ ।’
उनले शासकीय सुधारका लागि सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी कार्यदल गठन गरेको र कार्यदलको प्रतिवेदनका आधारमा प्रदेश सरकार सञ्चालन गर्ने बताए ।
उनले पछिल्लो समय प्रदेश संरचना प्रति नै नकारात्मक टिप्पणी हुने गरेकाले प्रदेश सरकारले गरेका राम्रा कामहरू सार्वजनिक गर्नु पर्ने बताए । उनले भने, ‘नतिजामुखी कार्य सम्पादन र जवाफदेहिता अभिवृद्धि गर्न प्रमुख सचिव र सचिवहरूसँग कार्य आर्थिक वर्षको सुरुमै सम्पादन सम्झौता गरेका छौ । यसले जबाफदेहिता बढेर जान्छ भन्ने विश्वास लिएका छौ ।’
उनले सार्वजनिक गरेको उपलब्धिमा कोशी प्रदेश प्रशासनका सवालहरू उजागर गर्न, प्रदेशका नीति रणनीति एवम् कार्यक्रमका बारेमा सरल प्रसार गर्न कोशी दर्पण पत्रिका प्रकाशन गरिएको उल्लेख छ ।
प्रदेशका कार्यालय र कर्मचारीको विवरण नभएको अवस्थामा प्रदेश सरकारले प्रदेश निजामती किताब खानाको पोर्टल सञ्चालन गरेको छ ।
मुख्यमन्त्री कार्कीले सय दिनको उपलब्धि सार्वजनिक करण कार्यक्रममा भने, ‘शासकीय सुधारका लागि प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग, प्रदेश लगानी प्राधिकरण र प्रदेश विकास परिषद्लाई पूर्णता प्रदान गरिएको छ ।’
उनले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याएर ५० लाख भन माथिका आयोजनाहरूको खरिद प्रक्रिया शरु गर्नु भन्दा अगाडि नै अनिवार्य रूपमा आयोजना बैकमा प्रविष्ट गर्नु पर्ने व्यवस्था मिलाउनु पनि प्रदेश सरकारको उपलब्धि भएको बताए ।
उनले आफू सरकारमा आएपछि वित्तीय अनुशासन अभिवृद्धि गर्न जेठ २० गते पछि रकमान्तर र श्रोतान्तर नगर्ने नीतिगत व्यवस्था गरेको बताए । उनले भने, ‘यसले शासकीय सुधारमा बल पुग्छ । यो नीतिगत व्यवस्था गर्नु पनि प्रदेश सरकारको उपलब्धि हो ।’
उनले आफू सरकारमा आएपछि एकीकृत व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको भन्दै प्रदेश सरकारलाई प्रविधिका माध्यमबाट पनि सुशासन कायम गर्न तर्फ लागेको बताए । प्रदेश सरकारले प्रदेश सभामा रहेका समितिहरूको छुट्टा छुट्टै वेभ साइड निर्माण गरेको छ ।
पर्यटन प्रबर्द्धनमा ध्यान
आफू सरकारको नेतृत्वमा आएपछि प्रदेशको पर्यटन विकासमा लागेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
उनले प्रदेश लगानी प्राधिकरणको अग्रसरतामा सार्वजनिक निजी साझेदारीमा भेडेटारमा स्काई वक निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताए । यसबाट प्रदेश सरकारले समेत राजश्व प्राप्त हुने भन्दै पर्यटन विकासमा कोशे ढुङ्गो साबित हुने मुख्यमन्त्री कार्कीले बताए ।
उनले भने, ‘प्रदेशमा पर्यटन प्रहरीको व्यवस्था गरेका छौ । पर्यटन प्रहरी मार्फत पर्यटकको सुरक्षा र पर्यटकीय गन्तव्यको सूचना सङ्कलनमा प्रदेश सरकारलाई सहयोग पुग्छ । यो हाम्रो सरकारको उपलब्धि हो । ’
उनले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरी यसका लागि आवश्यक नीतिगत व्यवस्था गरी बजेट समेत विनियोजन गरिएको बताए ।
प्रदेश सरकारले प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरूको विकासका लागि पाथीभरा विकास समिति (गठन) ,बृहत्तर वराहक्षेत्र विकास समिति (गठन) हलेसी महादेस्थान विकास समिति गठन आदेश २०८१ स्वीकृत गरेको गरेको छ । मुख्यमन्त्री कार्कीले नीतिगत रूपमा व्यवस्था गरेर हामीले प्रमुख धार्मिक गन्तव्यको विकासमा काम थालेका छौ यो हाम्रो सरकारका उपलब्धि हो ।
यस्ताे छ १०० दिनका कार्यहरु: