थामेमा ४० वर्षअघि पनि साउनमै आएको थियो बाढी, के भन्छन् जलवायु विज्ञ ? – Nepal Press

थामेमा ४० वर्षअघि पनि साउनमै आएको थियो बाढी, के भन्छन् जलवायु विज्ञ ?

काठमाडौं । सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेमा आज गएको बाढीपहिरोको लेखाजोखा हुन बाँकी छ । क्षतिको पूर्ण विवरण आएको छैन । सँगै आजको बाढीपहिरोको खास कारण थाहा पाउन पनि बाँकी छ, तर थामेमा आज आएको बाढीपहिरो पहिलाे होइन ।

थामे क्षेत्रमा ४० वर्ष अगाडि पनि विशाल बाढी आएको थियो । उक्त बाढी आएको थियो २०४२ साल साउन २० गते । त्यो बाढीमा परेर पाँच जनाको ज्यान गएको थियो । थामे क्षेत्रको जलविद्युत केन्द्र भत्किएको थियो । थामेभन्दा १०० किलोमिटर तल दूधकोशी नदीको पुल बगाएको थियो । उक्त बाढीलाई लाङ्मोचे नामले चिनिन्छ ।

त्योबेला दिगसो हिमताल फुटेर बाढी आएको बताउँछन् सगरमाथा क्षेत्र खासगरी हिमतालको अध्ययन गरेका जलवायुविज्ञ तथा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय वातावरण विज्ञानका सहप्राध्यापक सुदीप ठकुरी । उनले सन् १९८५ मा पनि थामे क्षेत्रमा हिमताल फुटेको र ठूलो बाढी आएको भन्दै त्यो क्षेत्रमा बाढी नयाँ नभएको बताए ।

तर बाढीको कारण हिमताल फुटेको हो कि अथवा सामान्य पहिरो गएर खोला थुनिएर बाढी गएको हो भन्नेमा भने पूर्ण विवरण आउनुपर्ने सन् २०१० ताकाबाटै सगरमाथा क्षेत्रका हिमताल तथा वातावरणको अध्ययन अनुसन्धानमा जोडिएका ठकुरीले बताए ।

हाल मध्यपश्चिम विश्वविद्यालयको विज्ञान प्रविधि स्कुलका डीन रहेका ठकुरीले नेपाल प्रेससँग भने, ‘जलवायु परिवर्तनै भएर हो भनेर अहिले किटान गर्न मिल्दैन ।’

यस्तै चीन सरकारको विज्ञान अनुसन्धानको मुकास चाइनिज एकेडेमी अफ साइन्सेसमा आबद्ध नेपाली वैज्ञानिक डीबी कट्टेलले पनि आजको घटनालाई जलवायु परिवर्तनकै कारण भएको भन्न हतार हुने बताए ।

सगरमाथा क्षेत्रको वातावरणबारेमा एक खोजमूलक लेखमा सक्रिय कट्टेल तिब्बती प्लेट्यूको अध्ययन केन्द्रमा जोडिएका छन् । हिमालका नेपाल तथा चीन दुवै भागको अध्ययनमा सक्रिय कट्टेलले आजको घटनामा वर्षा, बाढी वा हिम पहिरो जे पनि हुनसक्ने र त्यसको अन्तिम निचोड अहिले नै भन्न नसकिने बताए ।

बेइजिङबाट कट्टेलले नेपाल प्रेससँग भने, ‘मैले केही तस्विर र भिडिओ हेरें । यसलाई किटान गरेर जलवायु परिवर्तनको कारण अहिले नै भन्न सकिन्न ।’

भारतीय र तिब्बती प्लेटमा बसेको नेपालमा भूकम्प, चेरापुन्जी नजिकैको सबैभन्दा धेरै वर्षा हुने क्षेत्रमा बाढी तथा पहिरो नियमित हुने भन्दै उनी भन्छन्, ‘देशको भौगोलिक अवस्थितिको कारणले भूकम्प, बाढी तथा पहिरो हामीले जन्मजात विरासतकै रुपमा लिएर आएका छौं ।’

थामे क्षेत्रमा आएको बाढी मनसुन सिजनको भएकाले जलवायुमै सबै कुरा जोड्न नसकिने तर वायुमण्डलीय तापमान वृद्धिको केही कारण भने हुनसक्ने कट्टेलले बताए ।

उनले थपे, ‘एटमोस्फेरिक वार्मिङले केही ट्रिगर गरेको हुनसक्छ । यो पनि अहिले नै भन्न सकिन्न, विस्तृत अध्ययन आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर