प्रशासकीय अधिकृतको सरूवा रोक्न पञ्चदेवलका मेयर र उपमेयर एक महिनादेखि काठमाडौंमा
काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर १ महिनादेखि काठमाडौंमै रहेको पाइएको छ ।
नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही कार्यपालिका सदस्य एक महिनाभन्दा बढी समयदेखि काठमाडौंमा रहेको भन्दै नेकपा एमालेसहित स्थानीय प्रमुख ६ दलले आपत्ति जनाएका छन् ।
मनसुन सक्रिय भएर बाढीपहिरोको जोखिम बढिरहेको बेला नगरपालिकाको नेतृत्व गैरजिम्मेवार बनेर काठमाडौंमा रहनु लज्जाको विषय भएको एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।
स्थानीय ६ वटै राजनीतिक दलले विज्ञप्तिमार्फत नै मेयर, उपमेयर, कार्यपालिका सदस्य तथा संघीय सरकारलाई १० बुँदे ध्यानाकर्षणसमेत गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा थमौतीका लागि नगर प्रमुख अम्बिका चलाउने, उपप्रमुख हर्कबहादुर रावल र कार्यपालिकाका केही सदस्य एक महिनाभन्दा बढी समय काठमाडौंमा रहनुभएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मनसुन सक्रिय भएर बाढी पहिरोको जोखिम बढिरहेको बेला नगरपालिकाको नेतृत्व गैरजिम्मेवार बनेर काठमाडौंमा रहनुमा घीनलाग्दो निजी अभिष्ट पुष्टि हुने विषय सार्वजनिक भइरहेका छन् ।’
कानूनबमोजिम मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेर अर्को प्रमुख प्रशासकीय अधिकृत खटाएको विषयमा नगर प्रमुखलाई यति धेरै आपत्ति र छटपटी हुनुको अर्थ उदांगिएको जनाइएको छ । आफूले रोजेको व्यक्तिबाहेक अरुलाई प्रमुख प्रशासकीय अधिकृत मान्दैन भन्ने नगर प्रमुखको हठको रहस्य आफ्नो नेतृत्वमा भएका आर्थिक अनियमितता र भ्रष्टाचारका फाइल ढाकछोप गर्नु रहेको एकपछि अर्को घटनाले पुष्टि हुँदै गइरहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘आफूले भनेको कागजमा खुरुखुरु सही धस्काउने ध्रुव सापकोटा जस्तै खल्तीको हाकिमको नगर प्रमुखलाई इच्छा जागेको कारण उहाँको नेतृत्वको जम्बो टीम जनताका काम लथालिंग छोडेर शक्ति केन्द्र र मन्त्रालयमा धाउने बेकाममा काठमाडौंमा व्यस्त छ । कानूनबमोजिम मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेर अर्को प्रमुख प्रशासकीय अधिकृत खटाएको विषयमा नगर प्रमुखलाई यति धेरै आपत्ति र छटपटी हुनुको अर्थ उदांगिएको छ । मैले रोजेको व्यक्तिबाहेक अरुलाई प्रमुख प्रशासकीय अधिकृत मान्दैन भन्ने नगर प्रमुखको हठको रहस्य आफ्नो नेतृत्वमा भएका आर्थिक अनियमितता र भ्रष्टाचारका फाइल ढाकछोप गर्नु रहेको एकपछिका अर्को घटनाले पुष्टि हुँदै गइरहेको छ ।’
आफूहरुका १० बुँदे मागमा संवेदनशील नभए नगरपालिकामा भइरहेका स्वेच्छाचारी, कुशासन, अनियमितता र भ्रष्टाचारका गतिविधिविरुद्ध सबै दल एकजुट भएर संघर्ष गर्ने एमाले नगर कमिटी इन्चार्ज बखतबहादुर कडायत, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष अमर विक, रास्वपाका नगर कमिटी सचिव रणबहादुर कडायत, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य कृष्ण न्यौपाने, राप्रपाका नगर अध्यक्ष रणबहादुर शाही र नेकपाका केन्द्रीय प्रतिनिधि सञ्जन सीले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
उनीहरुले आफूहरुका मागप्रति बेवास्ता गरिए कडा संघर्षका आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
स्थानीय प्रमुख ६ दलका १० बुँदे माग