विकासका लागि आधिकारिक तथ्यांक राख्न सुझाव, जनप्रतिनिधिको गुनासो- यथार्थ तथ्यांक नहुँदा योजना प्रभावकारी भएनन् – Nepal Press

विकासका लागि आधिकारिक तथ्यांक राख्न सुझाव, जनप्रतिनिधिको गुनासो- यथार्थ तथ्यांक नहुँदा योजना प्रभावकारी भएनन्

रुपन्देही । तीन तहमा रहेका जनप्रतिनिधि, कर्मचारी तथा गैरसरकारी क्षेत्रमा रहेका प्रतिनिधिहरुले दीर्घकालीन विकासका लागि सबै क्षेत्रको वास्तविक तथ्यांक नै पहिलो आधार भएको बताएका छन् ।

उनीहरुले नेपालमा अधिकांश योजना अनुमानित तथ्यांकमा आधारित भएर अगाडि बढेकाले कार्यसम्पादनमा चुनौती भएकाले तीनै तहको समन्वयमा सबै क्षेत्रको वास्तविक तथ्यांक अधावधिक हुनुपर्ने र त्यसैका आधारमा तत्कालीन र दीर्घकालीन विकासका योजनाहरु बनाउनुपर्ने जनाएका छन् ।

एशिया फाउन्डेसनको आयोजनामा नेपालमा सञ्चालित डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्र्तगत बुटवलमा आयोजित प्रदेशस्तरीय विकासका लागि तथ्यांक कार्याशालामा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यशालामा राष्ट्रिय योजना आयोग र तथ्यांक कार्यालयका सचिव, प्रदेश योजना आयोगका सचिव तथा अन्य मन्त्रालयका कर्मचारी, लुम्बिनी प्रदेशका विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारी र यो क्षेत्रमा तथ्यांक अधावधिक क्षेत्रमा काम गरेका गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव डा. तोयनारायण ज्ञवालीले क्वालिटी डाटामा काम गरेको बताउँदै अन्य प्रदेशको तुलनामा तथ्यांकमा लुम्बिनी अगाडि रहेको जनाए । स्थानीय सरकारलाई थप प्रभावकारी बनाउन वास्तविक डाटा प्रभावकारी हुने र त्यो डाटालाई भने प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्ने बताउँदै उनले आयोगको १६ औं योजनामा १४ वटा क्षेत्र रहेकोमा त्यसको लक्ष्य निर्धारणका लागि तथ्यांकलाई महत्वका साथ राखिएको प्रष्ट पारेका थिए ।

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकुलमणि दवाडीले अन्तरसरकारी निकायबीच तथ्यांक अधावधिक अनिवार्य हुनुपर्ने बताउँदै तथ्यांकीय प्रविधिले सुशासन ल्याउने र डाटाको पहुँच, यसको शुद्धता र सदुपयोग नै महत्वपूर्ण रहेको जनाए ।

राष्ट्रिय तथ्यांक कार्यालयका सहसचिव हेमराज रेग्मीले डाटाबाट नै हरेक क्षेत्रको वास्तविक चित्रण प्रष्ट हुने र लक्ष्य लिन अनि तुलना गर्न सहज हुने जनाए । डाटा आफै उत्पादन नहुने र निश्चित प्रणालीबाट आउने भएकाले त्यसमा आधारित भएर काम गर्न सहज हुने भएकाले यसमा ध्यान दिनुपरेको उनको भनाइ थियो ।

तुलसीपुर उपमहानरपालिका प्रमुख टिकाराम खड्काले हरेक व्यक्तिको लागि डाटा अनिवार्य भएको र प्रविधिसँग नजोडिएमा कुनै पनि विकास नयाँ ढंगले जान नसक्ने बताएका थिए । उनले श्रम, गरिव, शिक्षालगायतका तथ्यांक के छ, उनीहरुको विकासको मूल धारमा ल्याउनको लागि रणनीतिक योजना निर्माणको लागि, आवधिक योजना निर्माण, योजना बैंक निर्माणको लागि सबैभन्दा ठूलो भूमिका तथ्यांकको रहेको बताएका थिए ।

सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले विश्वका विकसित देश प्रविधिमैत्री र तथ्यांकमा आधारित भएकाले सफल भएको बताउँदै पछिल्लो समयमा नेपालमा पनि एकीकृत तथ्यांकको काम सुरुवात राम्रो पक्ष रहेको बताउँदै सबैले सहकार्य गर्नुपर्ने बताइन् ।

उनले स्थानीय सरकार विभिन्न समस्या र चुनौती भोग्दै अगाडि बढिरहेको अवस्थामा तथ्य, तथ्यांकको प्रयोग गर्दा डाटालाई पहिलो आधार बनाउनुपर्ने जनाउँदै सुशासनको बलियो आधार तथ्यांक भएकाले सबैले अनुशरण गर्नुपर्ने धारणा राखिन् ।

गाउँपालिका राष्ट्रिय मञहासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु गिरीले कुनै पनि विकासको योजना बनाउन वा दिगो विकासको लागि तथ्यांकको प्रयोग मत्वपूर्ण हुने बताएका थिए । उनले आगामी दिनमा पनि पालिकाले सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले प्रदेशले निर्माण गर्ने योजना, नीति निर्माणममा समेत तथ्यांकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने जनाउँदै आगोगले एकीकृत तथ्यांक पोर्टल बनाएर लागू गरेको बताए ।

कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, राष्ट्रिय तथ्यांक कार्यालयका सहसचिव डा. शरदकुमार शर्मा, पीएनजेएफका राष्ट्रिय निर्देशक गोकर्ण उपाध्यायलगायतले धारणा राखेका थिए भने कार्यक्रम पर्शुराम उपाध्यायले संचालन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर