औद्योगिक क्षेत्र अब सञ्चालनमा आउँछ : मन्त्री भण्डारी
हेटौंडा । नेपाल सरकारका उद्योग वाणिज्यमन्त्री दामोदर भण्डारीले हेटौंडामा प्रस्तावित मयुरधाप औधोगिक क्षेत्र अब चाडै सञ्चालनमा आउने बताएका छन् ।
शनिबार बिहान औधोगिक क्षेत्र अनुगमनको क्रममा प्रतिक्रिया दिँदै मन्त्री भण्डारीले केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको समयमा प्रस्तावित भएको नयाँ औधोगिक क्षेत्रकोरुपमा रहेको मयुरधापलाई अब सञ्चालनको लागि कानुन निर्माण भैसकेकोले सरकारले डिपिआरको आधारमा सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।
करिब ६ अर्ब लगानीमा निर्माण हुने औधोगिक क्षेत्रको कामलाई मद्यवर्ती क्षेत्रको कारण समस्यामा परेको कारण निर्माण हुन नसकेको तर अब यस ठाउँमा नै स्थापना हुने गरि कानुन निर्माण भएको भन्दै अब छिट्टै संचालनमा ल्याउने सरकारको तयारी रहेको उनले बताए ।
मयुरधापलाई प्रदेशको राजधानीको उद्योगको हबको रुपमा सञ्चालन गर्न लगानीको वातावरण सृजना गरिरहेको बताउदै मन्त्री भण्डारीले सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र विस्तारमा सरकार लागिरहेको बताए । आफू काठमाडौं पुगेर वन मन्त्रालयसङ्गको समन्वयमा इआइएको प्रक्रियालाई टुंगोमा पुर्याएर मयुरधापलाई चाडै सञ्चालनमा ल्याउन आफू प्रतिवद्द भएको उनले बताए ।
मन्त्री भण्डारीले आजै हेटौंडा सिमेन्ट उद्योगको पनि अनुगमन गरेका छ्न । अनुगमनको क्रममा भण्डारीले हेटौंडा सिमेन्ट देशको गौरवको उद्योग रहेको र यसमा भएका समस्यालाई समाधान गर्दै पुर्णरुपमा सञ्चालन गर्न आफुहरु लागिरहेको बताए । मन्त्री भण्डारीले आजै बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको पनि अनुगमन गरेका छन् ।