४ महिने संगठन निर्माणकाे अभियानमा खट्ने नेताहरूलाई उपेन्द्र यादवले ताेके आचारसंहिता
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अभियन्ताका रुपमा पालिकामा खटाइएका अभियन्ताहरूकाे लागि दश वटा नियम र आचारसंहिता ताेकेकाे छ।
४ महिने आधारभूत सङ्गठन निर्माण अभियानमा खटिएर जाँदा अभियन्ताले पालन गर्नुपर्ने नियम र आचारसंहिता तय गरेकाे नेता पूर्ण बस्नेतले बताए। उनकाअनुसार अभियन्ताले बैठक र कार्यक्रमको सुरूवात तोकिएको समयमै गर्नुपर्ने तथा आसनग्रहण र सम्बोधनमा कम समय खर्चिनु पर्ने, कार्यक्रमलाई भड्किलो, खर्चिलो र आडम्बरयुक्त बनाउन पाइने छैन।
यस्तै, जात, लिङ्ग, वर्ग, क्षेत्र, पेसा, शिक्षा, भाषा र धर्मको आधारमा कसैलाई अपमान गर्न तथा व्यक्तिगत घोचपेच र आरोप प्रत्यारोप गर्न नपाइने उनले बताए। अभियन्ताले आफ्नो कुरा अपिलको शैलीमा राख्नुपर्ने छ साथै छोटो र मीठो बोल्नुपर्ने छ । अभियन्ताले पदलाई पुरस्कार हैन जिम्मेवारीको रुपमा ग्रहण गर्नुपर्ने छ ।
अभियन्ताले परिणामुखी काम गर्ने तथा आफ्नो कामको रिपोर्ट बनाएर पार्टीलाई बुझाउनु पर्ने छ । पार्टीभित्र छलछाम, षड्यन्त्र र गुटबन्दी गर्न पाइने छैन । साथै अभियन्ता अध्ययनशील, मेहनती र सक्रिय रहनु पर्ने छ । जसपा नेपालले भदौ ९ गते काठमाडाैंको थापागाउँस्थित काठमाडाैं ब्याङ्क्वेटबाट ४ महिने अभियानको उद्घाटन गर्ने भएको छ।
पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले पार्टी संगठन निर्माणकाे कामलाई प्राथमिकता दिएका छन्।