जनार्दनको प्रस्तावपछि माओवादीभित्र घेराबन्दीमा परेका प्रचण्डले लचक भएर संकट टारेका हुन् ? – Nepal Press

जनार्दनको प्रस्तावपछि माओवादीभित्र घेराबन्दीमा परेका प्रचण्डले लचक भएर संकट टारेका हुन् ?

प्रचण्डले स्वीकारे- जनार्दनले पार्टी फुटाउँदैछ भनेर विभिन्न मानिसहरूले आएर सुनाउँथे, केही आशंकाबारे अध्ययन हुन्छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपमहासचिव जनार्दन शर्माले बैठकमा पेश गरेको प्रस्तावमा लचक भएका छन् । पार्टीभित्रको समस्या औल्याउँदै शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेसम्मको प्रस्ताव स्थायी कमिटीको बैठकमा लिखित रुपमै अघि सार्दा पनि प्रचण्ड लचक भएका हुन् ।

शर्माको प्रचण्डविरुद्धको यो प्रस्तावले माओवादी वृत्त तरंग आएको ल्याएको थियो, तर नेताहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा बिहाबार आफ्नो राजनीतिक दस्तावेजमा समावेश गर्ने आश्वासन दिए । यद्यपि, प्रचण्डले बैठकमा पेस भएको दस्तावेज छलफल नभई मिडियाबाट सार्वजनिक भएकोप्रति भने असन्तुष्टि जनाएका थिए ।

त्यसो त विगतलाई हेर्दै माओवादीमा प्रचण्डसँग फरक मत राख्ने टिक्न नसकेको भन्दै जनार्दनबारे के गर्लान् भन्ने प्रश्न उठेको थियो । शर्माको प्रस्तावलाई तल्लो तहमा पनि छलफल लैजान पनि प्रचण्ड तयार भएका छन् ।

माओवादीले भदौ महिनाभरि प्रदेशस्तरीय केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ । त्यो बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्म अनिवार्य उपस्थित हुने भनिएको छ ।

आगामी भदौ ५-६ बागमती, भदौ ७-८ विशेष र सम्पर्क समन्वय, भदौ ९-१० गण्डकी, भदौ १२-१३ सुदूरपश्चिम प्रदेशस्तरीय बैठक बस्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनका अनुसार भदौ १४-१५ कर्णाली, भदौ १६-१७ लुम्बिनी प्रदेश, भदौ १८ गते तीनवटा केन्द्रीय आयोग, भदौ २२-२३ मधेश, भदौ २४-२५ कोशी प्रदेश तथा सल्लाहकार, भदौ २७-२८ जबस, मोर्चा र भदौ २९-३० ज्येष्ठ कम्युनिष्ट मञ्च र आयोगको परामर्श बैठक बस्नेछ ।

त्यसपछि असोज पहिलो साता केन्द्रीय कमिटीको बैठक राखेर पार्टी निर्माणका लागि जनतामा फर्किने माओवादीको तयारी छ । सचिव लीलामणि पोखरेलले अब बस्ने केन्द्रीय कमिटीको बैठकले पार्टीको एजेण्डा र कार्यक्रमहरु तय गरेर अघि बढ्ने बताए ।

उनले भने, ‘जनार्दनजीले आफ्नो कुरा राख्नुभयो । बैठकपछि पार्टी एकताबद्ध भएर अघि बढ्छ । उहाँले आफूलाई राखेको कुरा राख्नुभयो । पार्टीभित्र देखिएको विचार, संगठन, नेतृत्व सबैको समस्या र देशको परिस्थितिबारे हामीले छलफल गरेका छौं ।’

उनले यो स्थायी कमिटीको बैठकको छलफलपछि पार्टी एकताबद्ध भएर अघि बढ्ने दाबी गरे । उनले थपे, ‘अब प्रदेश कमिटीको बैठक बस्छ, त्यसपछि फुल कमिटीको बैठक बसेर पार्टीलाई अगाडि बढाउने विषयमा नीतिका कार्यक्रम कार्ययोजना बनाएर एकताबद्ध बनाएर जान्छौं ।’

उनले बैठकपछि अध्यक्ष प्रचण्डसहित पार्टीका सबै नेता फिल्डमा जाने बताए ।

प्रचण्डले टारेको संकट

प्रचण्डसँग उपमहासचिव शर्माको असन्तुष्टि २०८० फागुनमा भएको महाधिवेशनबाट सुरु भएको हो । शर्मा त्यसबेला महासचिवको आकांक्षी थिए, तर अर्का महासचिवका आकांक्षी वर्षमान पुन त्यसबेला उपचारको लागि चीनमा थिए ।

शर्माले अध्यक्षसहित सबै पदाधिकारी महाधिवेशनको हलबाट निर्वाचित भएर आउनुपर्ने अडान राखेका थिए, तर प्रचण्डले अध्यक्षमा आफूलाई घोषण गरेर खल्तीबाट केन्द्रीय कमिटी सदस्यको नाम सुनाए ।

महाधिवेशनको लामो समयपछि पुन र शर्मालाई भिडाएर देव गुरुङलाई महासचिव बनाएको आरोप छ, तर पछिल्लो समय महासचिव गुरुङ पार्टी सञ्चालन गर्न नसकेको आरोप खेपिरहेका बेलामा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भित्र्याएर महासचिव बनाउने चर्चा पार्टी वृत्तमा चलाए ।

त्यसयता शर्मा र पुनः एकै ठाउँमा आइपुगेका छन् । स्थायी कमिटीको बैठकमा पनि शर्माको प्रस्तावलाई बल पुग्नेगरी पुनः प्रस्तुत भएपछि प्रचण्डलाई पार्टीभित्र चर्को दबाब बढेको नेताहरु स्वीर्काछन् ।

शर्माले पछिल्लो समय जनार्दनले पार्टी फुटाउँदैछ भनेर खुमलटारबाटै हल्ला चलाइएको आरोप प्रचण्डमाथि लगाएका थिए । प्रधानमन्त्री हुँदा आफूविरुद्ध राज्यशक्ति पनि प्रयोग गराउन खोजेको भन्दै खनिएका थिए ।

शर्माको प्रस्तावमा भनिएको छ, ‘उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो । देशभर यसको असर देखापर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।’

प्रचण्ड सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन तथा कहिले वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको शर्माको आरोप छ । पार्टीभित्र चर्किएको विवाद समाधान गर्न प्रचण्डले आज पनि शर्मालाई खुमलबाटर बोलाएर छलफल गरेका छन् ।

खुमलटारमा शर्मासँग भेटेपछि पोस्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केही आशंका भए पनि अब पार्टी नफुट्ने निश्चित भइसकेको दाबी गरे ।

त्यसबारेमा प्रचण्डको भनाइ

हाम्रो पार्टीभित्र वैचारिक अस्पष्टताको समस्या, संगठनात्मक अराजकता, निराशा र कुण्ठा, विचलनको समस्या देखिएको छ । त्यसलाई समीक्षा गरेर पार्टी निर्वाचनमा जानुपर्छ । हामीले पदाधिकारी बैठकमा पनि मैले सबैलाई खुलेर कुरा राख्न भने साथीहरुले दुई घण्टासम्म बोल्नुभयो । त्यो कुरा समस्या समाधान गर्ने उद्देश्यका साथ राखौं भनेको थिएँ । स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो ।

कमरेड जनार्दन शर्माले लिखित रूपमा उहाँले त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो, तर त्यो बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भयो ।

स्थायी अन्त्यसम्म आइपुग्दा हामीले त्यसलाई मुख्य रूपमा सम्बोधन गर्‍यौं । प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले भनेको थिएन, तर विभिन्न मानिसहरूले आएर सुनाउँथे, पार्टी फुट्दैछ फुटाउँदैछन्, विभिन्न तत्त्व मिलेका छन् भनेर सुनाउने भनेर सुनाउने गरेका थिए । त्यसले यदाकदा के भयो भन्ने भएकै थियो, तर बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन त्यो होइन भनेर उहाँले प्रस्ट पार्नुभयो र हामी सबै क्लियर भएका छौं । म पनि जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु । पार्टी फुट्दैन त्यो सुनिश्चिता भएको छ, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु ।

आज बिहान पनि जनार्दन शर्मा खुमलटार आउनुभएको थियो, अब त्यो आशंका गर्‍यौं भन्दैमा अब त्यो हामीले दिमागमा राख्नुपरेन । केही विषय फेरि, उहाँले उठाएका गम्भीर आशंकाका विषय छन् । विचारसँग सम्बन्धित कुरा त उहाँको मत हो दस्तावेज बनाउने बेलासम्म समाधान हुन्छ, उहाँको पनि समेटिन्छ, तर केही व्यवहारिक र आशंका रहेका छन् । ती आशंकाका बारेमा पनि विषयमा त्यसका अध्ययन अनुसन्धान हुने कुरामा पुगेका छौं ।

बैठकले अहिले पार्टी विभाजनको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको सचिव गणेश साहले बताए ।

उनले भने, ‘पार्टी विभाजनको तीतो अनुभव सबैले गरेका छन् । फुटेर जानेहरुको अवस्थाको हामीले सम्भावना छैन । फुटेर गएकाहरुको हालत अहिले देखिरहेको छ । पार्टी फुट्नेतिर जाँदैन ।’

सचिव साहले पार्टी बैठकमा नेताहरुको फरक मत आउनु स्वाभाविक भएको बताए ।

अर्का एक पदाधिकारीले अहिले पार्टीभित्र उठेको विषयमा लचक भएर तत्काललाई अध्यक्ष प्रचण्डले पार्टीभित्रको संकट टारेको एक पदाधिकारीले बताए ।

ती पदाधिकारीले भने, ‘पार्टीका बैठकहरु बसिरहेका छन् । असन्तुष्टि गुनासा र कुण्ठा आउँछन् । अहिले उहाँ केही लचक देखिनुभएको छ, प्रभाकरजीको प्रस्तावमा, अब कसरी अघि बढ्नुहुन्छ हेरौं भन्ने कुरामा भरपर्छ ।’

प्रचण्डले पार्टीभित्र घेराबन्दी बढिरहेको बेलामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित समाजवादी मोर्चामा आबद्ध घटकसँगको पार्टी एकताको प्रयास भइरहेको देखाएर पनि टारेका छन् । त्यसो त आफूविरुद्ध घेरबन्दी हुँदा एकता र मोर्चाको कुरा उठाउने प्रचण्डको स्वभाव पनि पुरानै हो ।

किन असन्तुष्ट छन् शर्मा ?

पछिल्लो समय पार्टीभित्र आन्तरिक छलफलको क्रममा प्रचण्डले छलफल घटाएपछि शर्मा असन्तुष्ट रहेको बुझिएको एक पदाधिकारीले बताए ।

ती नेताले भने, ‘उहाँले पार्टीमा आफूसँग अध्यक्षबाट छलफल भएन भन्ने विषयमा पनि असन्तुष्टि पोख्नुभएको जस्तो हो । अध्यक्षले अहिले उहाँसँग छुट्टै बस्नुभएको पनि छ । केन्द्रीय कमिटीको बैठकसम्ममा पुग्दा समस्या हल होला ।’

नेतृत्वका विषयसहित शर्माले पार्टीभित्र उठाएको प्रश्नमा अधिकांश नेताहरुको समर्थन रहेको दाबी गर्दै पार्टीभित्र नयाँ बहस ल्याएको ती नेताको बुझाइ छ ।

ती नेता थप्छन्, ‘जनार्दनले नेतृत्वमा रुपान्तरण हुनुपर्‍यो, संघीयतामा जानुपर्‍यो, समावेशितामा जानुपर्‍यो, नेतृत्व चयन पनि जनवादी पद्धतिबाट आउनुपर्‍यो, पदाधिकारीमा महाधिवेशनमा पनि केन्द्रीय कमिटीबाट निर्वाचितत भएर आउनुपर्छ भनेर राख्नुभएको थियो । उहाँले महासचिवमा पनि उम्मेदवारी दिएर प्रतिस्पर्धाबाट आउनुपर्छ भन्नुभएको थियो । उहाँ आकांक्षी हुनुहुन्थ्यो, अहिले विधान बनेको छ । कार्यान्वयनमा आएको छैन । यो प्रश्न जायज छन् ।’

पार्टीले विधान बनाएपछि कार्यान्वयनमा जानुपर्ने शर्माको जोड छ ।

‘विधान पारित गरेपछि कार्यान्वयन हुनुपर्‍यो । कमिटी पनि विधानअनुसार बनाउनुपर्छ । अहिले २१ सदस्यीय पदाधिकारी छ । विधानले १५ सदस्यभन्दा बढी चिन्दैन । अब कसलाई राख्ने, के गर्ने, कुन पद्धतिबाट ल्याउने भन्ने विषयमा महासचिव, उपाध्यक्ष कति राख्ने, त्यसैले अब जनवादी प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्छ’, शर्माको भनाइ थियो ।

त्यसो त यो विषय अर्का उपमहासचिव हरिबोल गजुरेलले पनि यसअघि बसेको पदाधिकारी बैठकमा लिखित रुपमै राखेका थिए । उनले विधान कार्यान्वयन गर्न अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

तर, शर्माले पार्टीलाई थप सुदृढ बनाउन नै आफूले प्रश्न उठाएको प्रष्टीकरण दिएका छन् । शर्माको भनाइ थियो, ‘मैले जेजे कुरा उठाएको छु, अध्यक्ष र पार्टीलाई सवल र सुदृढ बनाउन उठाएको हुँ ।’

त्यसो त शर्मापछि अध्यक्ष प्रचण्डले पनि उठाएका वैचारिक र राजनीतिक विषयलाई समेटेर जान समस्या नभएको बताएको प्रवक्ता सापकोटाले बताए ।

‘बैठकमा प्रभाकरजीले उठाउनुभएको वैचारिक र राजनीतिक विषय समेटेर जान कुनै समस्या छैन । नेतृत्वको विषयमा छलफल चलाउँदै जाउँला । उहाँले उठाउनुभएको विचार संश्लेषण र पार्टी निर्माणका बारेमा प्रदेशस्तरमा छलफल र परामर्श गरौं । नेतृत्वको विषयमा थप छलफल गर्न सकिन्छ’, प्रचण्डको भनाइ थियो ।

त्यसो त प्रचण्डले आफू नेतृत्व छाड्न तयार भए पनि परिस्थितिले नदिएको बताउँदै आएका छन् ।

सार्वजनिक कार्यक्रममै सवाल-जवाफ

त्यसो त आज बिहानमात्रै खुमलटार पुगेर प्रचण्डसँग भेटेका उपमहासचिव शर्मा अध्यक्ष प्रचण्डमाथि सार्वजनिक रुपमै सवालजवाफमा उत्रिएका छन् । शनिबार माओवादी केन्द्रको काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डसामु उनले आफ्नो बद्नाम गराउने प्रयास भएको बताए ।

उनले अध्यक्ष प्रचण्डसामु भने, ‘पार्टीको उच्च तह र नेतृत्वको वरिपरिबाट देशभरि मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ । नेतृत्व वरिपरिबाट मेरो सीधा कुरा छ, त्यसमा उहाँको भूमिका कति छ छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । म प्रत्येक पार्टी सदस्यसँग गएर कानेखुसी गरेर भन्न सक्दिनँ ।’

उनले प्रचण्डलाई हटाएर आफ्नो अध्यक्ष बन्ने चाहना नभएको भन्दै पार्टीलाई समाप्त हुन नदिन प्रचण्डलाई वैचारिक धारको नेतृत्व गर्न सुझाव दिएको बताए । नेता शर्माले आफूले १४ वर्षदेखि काम गरेको पार्टी छोड्ने सोच्न नसक्ने स्पष्टीकरण दिए ।

उनले प्रचण्डलाई भने, ‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भएँ, माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला । हुन पाउनुप¥यो नि ! ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको केपीको मात्रै हुने भएँ, तपाईंको म हुन पाउनु पर्दैन ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन ।’

शर्मापछि बोलेका प्रचण्डले बहसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे ।

उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो । कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छन्, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैं ठोसिने चाहिँ गरेकै छौं । राम्रोका लागि हो ।’

पार्टी फुट्ने चर्चालाई स्थायी कमिटीको बैठकले खारेज गरेको भन्दै शर्माले उठाएको विषयलाई केन्द्रीय कमिटीको दस्तावेजमा समेटेर लैजाने प्रचण्डले बताए ।

प्रचण्डले थपे, ‘केही गम्भीर आशंकाका कुराहरु छन् । त्यसमा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने सहमति भएको छ । त्यसैले कमरेड प्रभावकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन ।’

जनार्दनमाथि पार्टी फुटाउँदैछ भनेर आफ्नो सचिवालयका व्यक्तिहरु जोडिएको भन्दै प्रचण्डले त्यसमा अनुसन्धान गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर