एमाले लुम्बिनीमा दलको नेता बने मुख्यमन्त्री चेतनारायण आचार्य – Nepal Press

एमाले लुम्बिनीमा दलको नेता बने मुख्यमन्त्री चेतनारायण आचार्य

नेतामा भोजप्रसाद श्रेष्ठ र प्रमुख सचेतकमा तुलसी चौधरी

रुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । साउन ७ गते संसदीय दलका नेताबाट लिला गिरीले राजिनामा दिएपछि आज पहिलो पटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको हो । गिरीले यसअघि उपनेता रहेका चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

शनिबार बुटवलस्थित मुख्यमन्त्री निकासमा बसेको दलको बैठकले आचार्यलाई दलको नेता र उपनेतामा भोजप्रसाद श्रेष्ठलाई बनाउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले नेपाल प्रेसलाई जानकारी दिए । त्यसैगरी प्रमुख सचेतकमा यसअघि पनि सोही पदमै रहेका तुलसीप्रसाद चौधरीले जिम्मेवारी पाएका छन् भने सचेतकमा राेल्पाकी यमुना राेका चयन भएकी छन् ।

शनिबारको बैठकमा एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल पनि सहभागी भएकी थिइन् । शनिबार बिहानसम्म एमाले केन्द्रको निर्णयअनुसार लिला गिरीलाई नै दलको नेता मानेर जाने तयारी रहेको तर गिरीले त्यो प्रस्ताव नमानेका कारण आचार्यलाई बनाइएको स्रोतले जनाएको छ । गिरीलाई सोही पदमा राख्नका लागि नेतृ पद्मा अर्यालले छलफल गरेपनि त्यसको कुनै टुंगो नलागेपछि आचार्यलाई दलको नेता बनाइएको हो ।

दलको नेता बनेपछि पत्रकारहरुसँग बोल्दै चेतनारायण आचार्यले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने जनाएका छन् । ‘पार्टीको निर्णयअनुसार मुख्यमन्त्री बनेको हुँ, आज संसदीय दलको निर्णयअनुसार दलको नेता बनेको छु, भोजप्रसाद उपनेता हुनुभएको छ भने तुलसी चौधरी प्रमुख सचेतक हुनुभएको छ, सोही जिम्मेवारीअनुसार कार्यसम्पादन गर्ने छौं’ उनले भने ।

संसदीय दलको बैठकले मुख्यमन्त्रीले ४ गते विश्वासको मत लिने भएको त्यसको तयारीका बारेमा पनि छलफल गरेको सांसदहरुले बताएका छन् । ८७ सदस्यी प्रदेश सभामा एमालेबाट २९ सांसद रहेका छन् । शनिबारको बैठकमा यसअघि दलको नेता रहेका लिला गिरी भने उपस्थित थिएनन् । एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आहृवान भैसकेको छ। विश्वासको मतअघि नै दलको नेता र प्रमुख सचेतकको टुंगो लगाएर दलको तर्फबाट विश्वासको मतका लागि हृवीप जारी गर्नुपर्ने अवस्था रहेकाले एमालेले शनिबार यसको छिनोफानो गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर