पूर्वशिक्षामन्त्री श्रेष्ठ लक्षित प्रधानमन्त्रीको टिप्पणी- शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन् (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अधिकार सम्पन्न बनाउन सामूहिक पहल भएमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।
एमाले समर्थित नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही समयअघि शिक्षकहरुमाथि एकतर्फी ढंगले आजको दिनमा पनि दमनचक्र चलाउने प्रयास भएको टिप्पणी गरे ।
उनले तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै भने, ‘सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दा ८२५ जना शिक्षकलाई घुँडा टेकाएँ, राजीनामा गराएँ, झुकाएँ, राजनीतिबाट अलग गराएँ भन्ने जस्ता कुराहरु गरे ।’
शिक्षकले आफ्नो कर्तव्य पालनको कुरामा कमी ल्याए त्यस विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको प्रधानमन्त्री ओलीले बताए ।
उनले थपे, ‘तर शिक्षकहरुलाई निष्कासन गरें भनेर गर्व गर्ने, नेपाल राष्ट्रिय शिक्षक संगठनलाई ताकेरै लखेट्ने प्रयास भए । त्यस्ता प्रयासहरु लामो समय टिक्दैन । शिक्षक सरकारका शत्रु होइनन्, सरकारले शिक्षकमाथि जाइलाग्नुपर्ने कुनै कारण छैन । सरकारले शिक्षकहरुमाथि दमन गर्न मिल्दैन ।’
त्यस्तै प्रधानमन्त्री ओलीले मुलुकी संहिता दिवसको अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले शनिबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा कुनै व्यक्ति वा सांसदले चाहेमा मात्रै संविधान संशोधन हुन नसक्ने बताए।
सबै नागरिक दायित्व ग्रहण गरेर राष्ट्रियभावका साथ प्रस्तुत भएमा संविधान र कानूनको पालना सहज हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले संविधान र कानूनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
सर्वोच्च अदालतले मर्यादाक्रमअनुसारका तलबमान दिनु भनी दिएको आदेशले राज्यको दायित्व बढ्ने भएकाले निर्णय गर्न असुविधा भएको उनको भनाइ थियो ।
उनले राजस्व असुलीमा २४ प्रतिशतले कमी भएको र संसदबाट बजेट पारित भइसकेको स्थितिमा उक्त आदेशको कार्यान्वयनबारे सरकारले फेरि अदालतसमक्ष समाधानको उपाय निकाल्न भन्नुपर्ने अवस्था आएको बताए ।