यी हुन् युट्युबमा सबैभन्दा बढी हेरिने शीर्ष १० नेपाली टेलिसिरियल – Nepal Press

यी हुन् युट्युबमा सबैभन्दा बढी हेरिने शीर्ष १० नेपाली टेलिसिरियल

काठमाडौं । कुनै समय थियो, परिवारका सदस्यहरु एकसाथ नेपाली सिरियल हेर्ने गर्थे । त्यो समय सबैको हातमा मोबाइल हुँदैन थियो । इन्टरनेटको पहुँच अहिले जस्तो थिएन । नेटवर्कको समस्याका कारण टीभी झ्यारझ्यार नै आए तापनि एन्टिना घुमाउँदै मेरी बाँस्सै, तीतोसत्य, मदनबहादुर-हरिबहादुर आदि सिरियलले धेरैको दिनभरिको थकान मेटाउँथ्यो ।

तर समयसँगै माहोल बदलियो । प्रविधिको द्रुत विकास भयो । हरेकको हातमा मोबाइल फोनको पहुँच भयो । हरेकको घरमा ल्यापटप, कम्प्युटर आदि ग्याजेट्सहरु हुन्छन् नै । अचेलका विद्यार्थीले प्रोजेक्ट, असाइन्मेन्टहरु फोन, ल्यापटप, कम्प्युटर आदिबाटै अधिकतम पढाइ गर्ने गर्छन् ।

प्रविधिको विकाससँगै ग्याजेट र इन्टरनेटको पहुँच सबैमा पुगेपछि पहिला जस्तो सिरियल हेर्ने माहोल पनि सेलाउँदै गयो । मान्छेहरु एक्लाएक्लै प्रविधिको दुनियाँमा हराए । महिलाहरु पनि घरबाट कामका लागि बाहिरिन थाले । घरमै रहने गृहिणीहरु पनि भारतीय सिरियलप्रति आकर्षित हुन थाले । यसपछि त एक हिसाबले नेपाली सिरियलहरु गयल नै हुन थाले ।

तर बीचमा गयल भएका नेपाली सिरियलहरु अहिले धमाधम बनिरहेका छन् । प्रशारणका लागि टेलिभिजनकै भर पर्नुपर्ने अवस्था नभएकाले सिरियल बनिरहेका छन्, युट्युबमा सार्वजनिक भइरहेका छन् । सिरियललाई दर्शकले पनि उत्तिकै रुचाइरहेका छन् । अहिले युट्युबमा सीता, कान्छी, भुन्टी आदि सिरियलका भ्युज रातारात मिलियन पार हुन्छ । सिरियलबाटै कति कलाकारले आफ्नो करियर चम्काएका छन् ।

१) भुन्टी र कान्छी

यी दुई सिरियल अहिलेको चल्तीको र हेरिने सिरियलहरुमध्ये हुन् । हामीले यी दुई सिरियललाई एउटै लिस्टमा राखेका छौं । किनभने यी दुवै सिरियल कलाकार आशा गौतमले निर्माण गरेकी हुन् ।

आशा यी दुई सिरियलको कलाकारमात्र होइनन्, उनी लेखक, निर्माता तथा निर्देशक पनि हुन् । कान्छीको २१५ औं भाग र भुन्टीको २२६औं भाग पुगेका छन् । सिरियलको दुनियाँमा आशाको नामै पनि चर्चित छ ।

अन्य कलाकार पनि यस सिरियलमा भएपछि भुन्टी र कान्छी भन्नासाथ अधिकतम सुनिने नाम उनैको हो । सानै उमेरमा सिरियलको दुनियाँमा प्रवेश गरेकी उनको कामको तारिफ पनि हुने गरेको छ । यी दुई सिरियलको भ्युज पनि मिलियनमा आउने गरेको छ ।

२) सीता

भुन्टी र कान्छी झैं अहिलेको चल्तीको सिरियलमा गनिने अर्को नाम हो- सीता । कलाकार सुनिशा बजगाईं मुख्य भूमिकामा रहेको यो सिरियलले पनि मिलियनमा भ्युज पाउने गरेको छ ।

सीताको भूमिकामा देखिएकी सुनिशाको अलावा सिरियलमा सहिन प्रजापति, राजु भुजू, तारा केसी, सविता गुरुङ, बालकृष्ण ओली आदि कलाकारको अभिनय देख्न सकिन्छ । सहिन प्रजापतिकै कथा, डाइलग र निर्देशन रहेको यस सिरियललाई शैलेश खत्रीले निर्माण गरेका हुन् ।

सिरियललको कार्यकारी निर्माता भने बालकृष्ण ओली हुन् । छोटो समयमा ठूलो सफलता हात पारेको यो सिरियल सामाजिक कथामा आधारित छ । भर्खरै ४६औं भाग पुगेको यस सिरियलको पछिल्लो भागको भ्युज ३ मिलियन अर्थात ३० लाख बढी छ ।

३) सक्किगोनी

अहिलेका चलेका सिरियलहरुको अर्को लिस्टमा पर्छ- सक्किगोनी । ६३औं भाग पुगेको यस सिरियलका धेरै पात्र जस्तै : पाँडे, जिग्री, खुपीका बाउ, बले, ककरोच, जयन्ते, मुन्नी चर्चित छन् ।

हाँस्यव्यंग्यमा आधारित यस सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, सागर लम्साल, हरि निरौलालगायतको मुख्य भूमिका रहेको छ । सक्किगोनीको कथा, स्क्रिनप्ले र डाइलग अर्जुन घिमिरे र कुमार कट्टेलले मिलेर लेखेका हुन् । यस सिरियलको निर्देशन पनि यी दुईले नै गर्दै आएका छन् ।

४) गाह्रो छ हो

हाँस्य टेलिश्रृंखला ‘गाह्रो छ हो’ पनि धेरै हेरिने सिरियलको लिस्टमा पर्छ । एपीवान टेलिभिजन र भटभटे माइला नामक युट्युब च्यानलबाट प्रशारण हुने यस सिरियलमा पहिला मोडल रियाशा दाहाल र बेगम नेपाली मुख्य भूमिकामा थिए ।

भटभटे माइलाको नामले परिचित बेगम नेपाली र रियाशाको जोडी दर्शकले अत्यधिक रुचाएको जोडीमध्येको एक हो । अहिले भने यो सिरियलमा रियाशा दाहाल छैनन् । यस सिरियलको कथा बेगम नेपालीले नै लेख्छन् ।

२१४औं एपिसोड पुगेको यो सिरियलको भ्युज युट्युबमा औसत १० लाख कट्ने गर्छ । सिरियलमा सुशील पोख्रेल, अंशु थापा, विनोद राई, राजकुमार देवकोटा, नवीना सिलवाललगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

५) जुठे

ओएसआर डिजिटल र हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘जुठे’ दर्शकले रुचाएका सिरियलमध्येको एक हो । छोटो समयमै दर्शकको मन जित्न सफल यो सिरियलको पनि भ्युज मिलियनमा आउने गर्छ ।

१६७औं एपिसोड पुगेको हाँस्यव्यंग्यसहितको सामाजिक कथामा आधारित यस सिरियललाई राजु पौडेल र मरिचमान श्रेष्ठले मिलेर लेख्ने गर्छन् । राजु पौडेल राजु मास्टरको नामले परिचित छन् भने मरिचमान श्रेष्ठ बल्छी धुर्वे नामले चिनिन्छन् । यी दुईले सिरियलको लेखन तथा निर्देशन सँगसँगै अभिनय पनि गर्दै आएका छन् ।

६) हल्का रमाइलो

भर्खरै चर्चा गरिएको ‘जुठे’ सिरियलकै लेखक तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को लेखन तथा निर्देशन रहेको सिरियल हो- हल्का रमाइलो । हिमालय टेलिभिजन र ‘बल्छी धुर्वे’ नामक युट्युब च्यानलबाट प्रशारण हुने यो सिरियलको हरेक एपिसोडको भ्युज औसतमा एक मिलियन पार हुने गर्छ । २४२औं एपिसोड पुगेको यो सिरियलमा लक्ष्मी गिरी, शारदा गिरी, सविन बास्तोला, सिरु विष्ट, राजु पौडेल, मरिचमान श्रेष्ठलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

७) हर्के हलदार

६६२औं एपिसोड पुगेको ‘हर्के हलदार’ कान्तिपुर टेलिभिजन र कान्तिपुरकै आधिकारिक युट्युब च्यानलबाट प्रशारण हुन्छ । हाँस्यव्यंग्यमा आधारित यस सिरियलको हरेक एपिसोडको भ्युज औसतमा ३ देखि ५ लाख हुने गर्छ ।

पुराना सिरियलमध्येको एक यो सिरियलको लेखक मनोज खड्का हुन् भने निर्देशक ईन्द्र दोङ लामा हुन् । सिरियलमा सुरेन्द्र केसी, श्याम राई, रोशनी सापकोटा, इन्द्र डोङ लामा, सरु दाहाल, शान्ति बस्नेत, मनोज खड्का, सस्मिता गिरी, राजेन्द्र गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।

८) भद्रगोल

कुनै समय नेपाली सिरियलको दुनियाँमा दर्शकले अत्यधिक रुचाएको सिरियलको लिस्टमा रहेको सिरियल हो- भद्रगोल । तर समयसँगै यो सिरियलको दर्शक भ्युज पनि घट्यो । सीता, कान्छी, भुन्टी जस्ता सिरियलले दर्शकको मन जितेपछि यो सिरियलको भ्युज पहिलाभन्दा केही घटेको हो ।

नेपाल टेलिभिजन र युट्युबमा मिडिया हब अफिसियलबाट प्रशारण हुने यस हाँस्य टेलिश्रृंखला ४५१औं भाग पुगिसकेको छ । अहिले यो सिरियलको भ्युज हरेक एपिसोडमा औसतमा ३ देखि ५ लाख आउने गर्छ ।

९) मेरी बाँस्सै

हाँस्य टेलिश्रृखंला ‘मेरी बाँस्सै’ को नाम नसुन्ने दर्शक त सायदै होलान् । सिरियलको दुनियाँमा यो एउटा पुरानो र लामो इतिहास बोकेको सिरियल हो । कुनै समय थियो, जुन बेला ‘मेरी बाँस्सै’ भनेपछि मान्छेहरु खान लागेको खाना पनि छोडेर यो सिरियल हेर्न बस्थे ।

यो सिरियलले धुर्मुस, सुन्तली, माग्ने बुढा आदि थुप्रै चर्चित पात्र जन्माएको छ । सुरुमा यो सिरियल केदार घिमिर (माग्ने बुढा) र सीताराम कट्टेल (धुर्मुस)बाट सुरु भएको थियो । त्यो समय यो सिरियलको चर्चा निकै नै राम्रो थियो । त्यो समयदेखि यो समयसम्म आइपुग्दा यो सिरियलले धेरै आरोह-अवरोह पार गरिसकेको छ । कुनै समय मिलियन-मिलियनमा भ्युज जाने यो सिरियलको भ्युज अहिले मुस्किलले मिलियन पुग्छ ।

१०) गोलमाल रिटर्न्स

हिमालयन टेलिभिजनबाट प्रशारण हुने यो सिरियल युट्युबमा ‘भाइब्स क्रियसन’ बाट आउने गर्छ । यो सिरियल पहिला ‘गोलमाल’ को नामबाट आउने गर्थ्यो । गत असार ३ गतेबाट नयाँ सिजनस्वरुप ‘गोलमाल रिटर्न्स’ को नामबाट आएको हो ।

सविन शाक्यको निर्देशन रहेको ‘गोलमाल रिटन्र्स’ का लेखक पूर्ण थापा र निर्माता तथा सल्लाहकार पर्शुराम रिजाल हुन् । सिरियलमा पूर्ण थापा, बालदीप राई, रवि डंगोल, सविन शाक्य, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर