बौद्धिक समुदायसँग मुख्यमन्त्री आचार्यले लिए सुझाव
‘निराशालाई कम गर्दै आन्तरिक स्रोत बढाउने योजना प्राथमिकतामा’
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो साढे तीन वर्ष प्रदेश सरकारका विषयमा बढेको निराशालाई कम गर्दै आन्तरिक स्रोत बढाउने योजनालाई प्राथमिकतामा राखेको बताएका छन् ।
शनिवार बुटवलमा समृद्धि सरोकार केन्द्रले प्रदेशको समृद्धिका लागि यस क्षेत्रका बौद्धिक समुदायसँग आयोजना गरेको अन्तर्संवादमा मुख्यमन्त्री आचार्यले स्थापनाको तीन वर्षमा बढेको उत्साह पछिल्लो साढे तीन वर्षले कमजोर बनाएको स्वीकार गर्नुपर्ने बाध्यता रहेको जनाए ।
‘यो समय पूरै अस्थिरता र सरकार फेर्ने अवधिको रूपमा मात्रै रह्यो, त्यसले धेरैलाई निराश बनाएको सत्य हो, अब त्यसलाई बदलेर अगाडि बढ्नुपर्ने चुनौती र अवसर दुवै छ’ उनले भने–‘डराएर होइन योजनाका साथ सामना गरेर निराशा हटाउने हो, तपाईँहरूका योजनामा आधारित रहेर सरकार अघि बढ्ने हो ।’
खर्च कटौती र सुशासन कायममा केही कठोर बन्दै योजनाबद्ध विकास र प्राथमिकताका आधारमा बजेट निर्माण तथा परिचालनमा पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले अब उत्पादनमा आधारित रहेर मात्रै सरकारले लगानी बढाउने प्रतिबद्धता जनाए ।
‘निर्माणबिना विकास सम्भव त छैन तर धेरै केन्द्रीकृत संरचनामा लगानी भयो, ७ वर्ष उत्पादनमुखी योजनामा लगानी लगाउनै सकेनौँ, बजेटको ठूलो हिस्सा उत्पादनमा पठाउनै सकिएन, यसअघि म आफैले ल्याएको बजेट पनि त्यसै मोडलमा गयो’ उनले भने ‘अब योजनामा आधारित हुनेछन्, त्यसका केही थालनी भएका छन्, अब विज्ञहरूसँग बसेर यसलाई अघि बढाउने काम हुनेछन्, तपाईँहरूको साथ चाहियो ।’
मुख्यमन्त्री आचार्यले सेवा निवृत्त जनप्रतिनिधिलाई दिइएको सुविधा कानुन बनाएरै कटौती गर्ने जनाएका छन् । ‘यो अघोषित दुरुपयोग हो, सेवा निवृत्त भएपछि नागरिक सरह हुने हो, यसबाट राज्यको दोहन गर्न पाइँदैन, के का नाममा विशिष्टिकृत हुने ? जनताले चुनेर पठाएपछि कार्यकाल सकिएपछि सकियो, यसलाई कानुन बनाएरै हटाइने छ’ उनले भने ।
प्रदेश सरकारलाई शिक्षामा कुनै अधिकार नभएको तर धेरै माग शिक्षामै भएको उनले सुनाए । ‘१२ सम्म स्थानीयले हेर्छ, माथि केन्द्रले हेर्छ, प्रदेशले सामान्य संरचनाको मात्रै हेर्ने हो, अधिकार नै छैन तर गाली यसमै धेरै खानुपरेको छ’ उनले भने ।
कार्यक्रममा शिक्षाविद् डबल बिसी, ज्ञानबहादुर क्षेत्री, डा. तिलक भुसाल, गोपालप्रसाद आचार्य, डा. अजित खनाल, माधवकुमार पौडेल, ऋषि आजाद, वसन्तराज खनाल, डा. अरुण क्षेत्री, दामोदर घिमिरे, युवराज घिमिरेले शिक्षा र रोजगारका नाममा विदेशिएको युवाशक्तिको विषयमा गम्भीर चासो राख्दै व्यवहारिक र प्राविधिक शिक्षाको सुधार तथा सरकारले गर्नुपर्ने कामहरूको विषयमा सुझावहरू राखेका थिए ।
कार्यक्रममा डा. बालकृष्ण चापागाईँले प्रदेश सरकारप्रति बढेको निराशा कम गर्ने गरी सबै क्षेत्रबाट आएका सुझावका आधारमा सरकारले योजनाबद्ध तरिकाले काम गर्नुपर्ने सुझाव दिएका थिए । शान्ति समाजका पूर्वसभापति गोविन्द खनालले सबै क्षेत्रका विज्ञहरु राखेर मुख्यमन्त्री थालेको सुझाव संकलनलाई सकारात्मक लिएको बताउँदै यसलाई निरन्तर योजना र समीक्षाको विषय बनाउन सके उत्तम हुने जनाए ।
समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले यो प्रदेश कृषिको मुख्य आधार क्षेत्र भएकाले कृषि विकास बोर्डको गठन गरेर अगाडि जान सुझाए । अग्रज पत्रकार डिआर घिमिरेले खर्च कटौतीबाट नै सुधारको अभियान सञ्चालन गर्नुपर्ने बताउँदै योजनाबद्ध काममा मात्रै अगाडि बढ्नुपर्ने बताए ।
पर्यटन क्षेत्रका जानकार खेमप्रसाद लुइँटेल, बलबहादुर आचार्य, तारा गौडेल, यमप्रसाद गैरे, वसुन्धरा पराजुली, व्यवसायी भरत पौडेलले प्रदेशमा पर्यटन क्षेत्रका निकै धेरै सम्भावना र सञ्चालनका स्रोतहरू रहेकाले यसबाट आन्तरिक आम्दानीको योजना बनाउन सुझाए ।
अधिवक्ता यमलाल खनालले प्रदेशमा यसै पनि कानुन कम बनेका र बनेका कानुन पनि कार्यान्वयन नभएकाले धेरै समस्या भइरहेको बताए ।