नेपाल-भारतको सम्बन्ध सुधार्न अनुकूल अवसर : पूर्वराजदूत उपाध्याय (भिडिओ)
काठमाडौं । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधार्न दुवैतिर अनुकूल सरकार भएको बताएका छन् ।
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै उपाध्यायले दुईदेशीय सम्बन्ध सुधारका लागि अनुकूलको सरकार बनेको बताए । परराष्ट्रमन्त्री डा. राणाले इमान्दारिताका साथ प्रयास गरेमा सम्बन्ध सुधारका धेरै काम गर्नसक्ने उनको बुझाइ छ ।
नेपाल-भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरूपता दिनुपर्ने उपाध्यायको जोड छ । समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनुपर्ने, कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने उनको सुझाव छ ।
विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको भन्दै उनले सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्रीलाई सुझाव दिए । नेपालले सम्बन्ध विस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वार्ता एवं छलफल गर्न आवश्यक रहेको उनले बताए ।