५९ जना सहसचिवको सरुवा सूची गुपचुप
काठमाडौं । ५९ जना सहसचिव सरुवा भएको भए पनि नामावली भने गुपचुप राखिएको छ । यस अघि मन्त्रिपरिषद् बैठक वा मन्त्रीस्तरीय निर्णयबाट सहसचिवको सरुवा भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने गरिएकोमा यस पटक भने मन्त्रालयले गुपचुपमै राखेको हो ।
यस विषयमा बुझ्न खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता कालीप्रसाद पराजुलीले सहसचिव सरुवाको सूची सचिव कहाँ नै रहेको आफू कहाँ आइनसकेको बताए ।
उनले मन्त्रालयका सहसचिव एवं कर्मचारी प्रशासन महाशाखा विष्णुप्रसाद ज्ञवालीसँग बुझ्न आग्रह गरे । सहसचिव ज्ञवालीलाई शुक्रवारदेखि नै निरन्तर सम्पर्क गर्दा पनि उनले उक्त सूची सार्वजनिक गर्न आनाकानी गरिरहेका छन् ।
शुक्रवार नै मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने बताए पनि मन्त्रालयको वेबसाइट बिग्रिएका कारण सार्वजनिक गर्न नसकिएको नेपाल प्रेससँग बताएका थिए । तर, आइतबार बिहानैदेखि मन्त्रालयको वेबसाइट सुधार भइसकेको भए पनि सूची सार्वजनिक भएको छैन ।
मन्त्रालयको वेबसाइट सुधार भइसक्दा पनि किन सार्वजनिक नभएको भन्ने प्रश्नमा उनले केहि जनाको नाम भन्न सक्ने तर सबै दिन नसक्ने बताए ।
सुरुमा वेबसाइटमा राख्ने बताएको भए पनि वेबसाइट सुधार भइसकेपछि भने उनले आफ्नो बोली फेरेका छन् । यसै विषयमा बुझ्दा मन्त्रालयका सचिव भरतमणि सुवेदीले भने आफूसँग उक्त सूची नरहेको बताउँदै मन्त्रालयका कर्मचारीलाई वेबसाइटमा राख्न वा उपलब्ध गराउन निर्देशन दिने नेपाल प्रेससँग बताए ।
यस अघि मन्त्रालयले शाखा अधिकृतदेखि माथिका कर्मचारी सरुवा हुने बित्तिकै उक्त सूची वा विवरण मन्त्रालयको वेबसाइटमा राख्दै आएको थियो । तर, मन्त्रालयको सचिवको जिम्मेवारीमा सुवेदी र कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा ज्ञवाली आइसकेपछि भने सरुवा हुने कर्मचारीको सूची गुपचुपमै राख्न थालेका छन् । यसले नागरिकले समयमै पाउने पर्ने सूचनाको हकबाट वञ्चित गराएका छन् ।