घरजग्गा कारोबारको मन्दी कायमै, साउनमा घट्यो कारोबार
काठमाडौं । शेयर बजारले उचाइ लिँदा घरजग्गा कारोबारले भने गति लिन सकेको छैन । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन महिनामा १ लाख २७ हजार २ सय ६ वटा घरजग्गा कारोबार भएको भूमि अभिलेख तथा व्यवस्था विभागले जनाएको छ ।
जबकी अघिल्लो महिना १ लाख ३६ हजार घरजग्गा कारोबार भएको थियो । असारको तुलनामा पनि कारोबार रकम कम हो । ४३ हजार ८ सय ३५ लिखत पारित भएको छ । गत असारमा ४६ हजार १७९ लिखत पारित भएको छ ।
यसमा अपाटमेन्टको मात्र १६ वटा लिखत पारित भएको छ । यस्तै २९ हजार ७५ घरजग्गा फुकुवा भएको छ भने २९ हजार ६ सय ५९ घरजग्गा रोक्का भएको छ । साउनमा ३ अर्ब ८३ करोड ५० लाख २२ करोड राजस्व संकलन गरेको छ । गत असारमा ४ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
घरजग्गा व्यवसायी भेषराज लोहनी साउन घरजग्गा कारोबारको अफ सिजन भएको बताउँछन् । अफसिजन एउटा कारण भएपनि सरकारले मौद्रिक नीतिमार्फत घरजग्गाका लागि कुनै सहुलियत कदम नचाल्दा कारोबारले गति लिन नसकेको बताउँछन् ।
अर्थतन्त्रमा आएको समस्या र सरकारको घरजग्गा मैत्री नीति नहुदा विगत दुई वर्षदेखि कारोबारमा मन्दी छाएको छ । मन्दी छाएको अर्को क्षेत्र (सेयरबजार) बुम हुनथाल्दा घरजग्गाको पालो कहिले आउँछ भन्दै व्यवसायीहरु कुरेर बसेका छन् ।