‘टिनएज लभ’ले दिएको चोट: जब आमालाई लिएर प्रहरीकहाँ पुगिन् किशोरी
चितवन । साउन १८ गते साँझ एक किशोरी आमासहित चितवन प्रहरीकहाँ पुगिन् । ती किशाेरीले आफूमाथि एक युवकले कुटपिट गरेको, स्कुलको झोला लुटेको प्रहरीलाई जानकारी दिइन् । प्रहरीका अनुसार उनी गालामा नीला डामसहित पुगेकी थिइन् ।
छोरीले प्रहरीलाई बताएकाे थप कुरा सुनेर आमा छाँगाबाट खसे जस्ती भइन् । हुन त विद्यालय गएकी १६ वर्ष ७ महिनाकी छोरी साउन १६ गते ढिलो गरेर शरीरभरि चोट लिई घर पुगेपछि आमाले के भयो भनेर सोधपुछ पनि गरेकी थिइन् ।
‘पुलिस चौकी जाऔं, सबै कुरा त्यही भन्छु भनेकी थिई’, चितवन प्रहरीमा बयानको लागि उजुरीको १५ दिनपछि छोरीसहित भेटिएकी आमाले नेपालप्रेससँग कुरा गर्दै भनिन्, ‘ब्याग खोसेर राखिदिएको, काँध, गालामा औंलाको डामै बस्नेगरी कुटेकोसम्म भनेकी थिई, अरु कुरा प्रहरीमै आएर छोरीले भनेको सुनेपछि म त के गरुँ गरुँ जस्तो भएँ ।’
अहिले भरतपुर महानगरस्थित सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययनरत किशोरीले आमाकै अगाडि आफू डेढ वर्षदेखि प्रेममा रहेको प्रहरीसामु खुलाइन् । त्यतिमात्रै होइन, फेसबुकबाट चिनेको केटासँग भेट भएको दोस्रो पटकदेखि पटक पटक नारायणगढस्थित एक होटलमा दिउँसो केही घण्टा कोठा लिइ शारीरिक सम्बन्ध राख्ने गरेको पनि बयान दिइन् ।
नेपालप्रेससँगको कुराकानीमा पनि उनले सोही कुरा दोहोर्याउँदै भनिन्, ‘कति पटक शारीरिक सम्पर्क भयो भन्न सक्दिनँ । पहिले पहिले औषधि खान दिन्थ्यो । ३-४ पटक सम्बन्धपछि दिन छोड्यो । उसले नल्याएपछि म पनि किन्न गइनँ ।’
किशोरीकी प्रेमी २० वर्षीय सुनिल चेपाङसँग उनको परिवारको पनि चिनजान छ । प्रहरीका अनुसार चेपाङको घर गोरखाको गण्डकी गाउँपालिका- १ नम्बरमा पर्छ, तर उनको परिवार चितवनमा डेरा गरी बस्दै आएको छ ।
प्रेम सम्बन्ध भएपछि सुनिलको रक्सी, चुरोटलगायत खाने बानी भएकाले किशोरीले सम्बन्ध तोड्न पटक पटक प्रयास गरेको प्रहरीसँग बताएकी छन् ।
‘तर घरमै लिन आउने, विद्यालयमा बेइज्जत गर्छु भन्ने गर्थ्यो’, उनले भनिन्, ‘घरबाट स्कूल हिँड्न लाग्यो, स्कुल किन जानुपर्यो भनेर ड्रेसमै होटल लैजान्थ्यो ।’
साउन १६ गते पनि त्यस्तै भयो । किशोरीका अनुसार उनी घरबाट विद्यालय हिँडेकी थिइन् । बाटैमा आइपुगे सुनिल । स्कूल ब्यागसहित पढ्न हिँडेकी किशोरी सुनिलसँग नारायणगढको पोखरा बसपार्कमा रहेको गोर्खा होटलमा पुगिन् । किशोरीका अनुसार तल बसेर खाजा खाऔं भनेकी थिइन्, तर सुनिल मानेनन् । सुनिलले बुक गरेको कोठामा लिएर गए ।
किशोरीले भनिन्, ‘उसको बानी थाहा पाएपछि मलाई ऊसँग सम्पर्क गर्नै मन लाग्थेन । त्यो दिन मैले मानिनँ, तर जबरजस्ती ग¥यो । नाइ भन्दाभन्दै मलाई कुट्यो । त्यही बेला उसको फोन भेटें, फालिदिएँ । उसको फोन फुट्यो । मलाई त मुक्कैमुक्काले हान्न थाल्यो ।’
सुनिलले कुटपिट गरेपछि आफू चिच्याएको सुनेर होटल साहुले कोठामा आएको र तुरुन्तै निस्किएर जा भनेको उनी बताउँछिन् । होटलबाट निस्किने बेला सुनिलले आफ्नो ब्याग नदिएको र त्यसपछि आफू घर गएको उनको भनाइ छ ।
घटना साउन १६ गते बुधबारको भए पनि उनीहरु दुई दिनपछि मात्रै प्रहरीकहाँ गएका थिए । साउन १८ गते आमाले किटानी जाहेरी दिएपछि सुनिल चेपाङलाई प्रहरीले हिरासतमा लिएको छ । चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार जबरजस्ती करणी आरोपमा सुनिल हिरासतमा छन् ।
उनले घटनाबारे अनुसन्धान चलिरहेको बताए ।
(तस्बिर : एआई)