एमाले कोशीको आचारसंहिता : फेसबुकमा पार्टीका नेताविरुद्ध लेख्न रोक, ठाउँ कुठाउँ नबोल्न निर्देशन (भिडिओ)
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले नेता र कार्यकर्ताहरूलाई अनुशासनमा राख्न १३ बुँदे आचारसंहिता बनाएको छ ।
प्रदेश कमिटीको बैठकले आफ्ना नेता तथा कार्यकर्ताविरुद्ध फेसबुक तथा सामाजिक सञ्जालमार्फत गाली गलौज नगर्न, पार्टीको गोपनीयता भंग गरी मिडियामा सम्प्रेषण गर्ने कार्य बन्द गर्न समेत निर्देशन दिएको छ ।
शनिबार सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले १३ बुँदे आचारसंहिता लागू गरेको बताए ।
पार्टीको पार्टीको नीति विधि, विधान, पद्धति र संस्थागत प्रणाली भन्दा बाहिर गएर कुनै पनि कार्य नगर्न समेत निर्देशन दिएको छ । पारित भएको आचार संहितामा पार्टीका नेता तथा कार्यकर्ताले गुटबन्दी पूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका बैठकहरू गर्ने काम गर्न नहुने उल्लेख छ ।
आचार संहितामा भनिएको छ,‘पार्टी नेता तथा कार्यकर्ताले ठाउँ कु ठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इङ्गित बोल्न हुँदैन । कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिँडने खेती गर्न नहुने र कुनै पनि अन्तरविरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरूलाई मुछ्न वा विभाजित गर्ने कार्य गर्न हुँदैन ।’
यस्तै व्यक्तिगत स्वार्थ र महत्वकाङ्क्षा पुरा गर्ने माध्यमको रूपमा नेता कार्यकर्तालाई प्रयोग गर्न नहुने आर्थिक र नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने पनि उल्लेख छ ।
एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले मिसन ८४ पूरा गर्न एमाले जनताको घरसम्म पुग्ने बताए ।
मुलुकको अग्रगमनका लागि ठूला दलहरू मिलेर सरकार चलाएको भन्दै राईले ८४ पछि एमाले एक्लैले सरकार चलाउन सक्ने हैसियत बनाउने गरी काम थालिएको बताए ।
एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कात्तिक मसान्तभित्रमा अधिवेशन गर्न बाँकी रहेको जिल्लाहरूको अधिवेशन सम्पन्न गर्ने बताए ।
उनले भने, ‘बैठकबाटै हामीले कात्तिकसम्ममा सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेका छौँ । हामी समयमै बाँकी रहेका जिल्लाहरूको अधिवेशन सम्पन्न गर्छौं ।
कोशी प्रदेशले २०८१ साललाई पार्टी सुदृढीकरण र शुद्धीकरण वर्षसमेत घोषणा गरेको छ । यसैगरी कोशी प्रदेशको मोरङ, इलाम र तेह्रथुममा कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्र्णय गरेको छ ।