एमाले विराटनगर महानगर अध्यक्ष थापामाथिको कारबाही फुकुवा, तर पद जोगिएन
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको साधारण सदस्यसमेत नरहने गरी भएको कारबाही फुकुवा भएको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापामाथिको २ महिनासम्मको निलम्बन फुकुवा भएको जानकारी दिएको हो ।
नेकपा एमाले जिल्ला कमिटी मोरङले विराटनगरमा रहेको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनका विषयलाई लिएर महानगर अध्यक्ष थापासहित सहसचिव नवराज नेपाल र वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
कारबाहीविरुद्ध थापासहितले नेकपा एमाले प्रदेश कमिटीमा अपिल गरेका थिए । शनिबार बसेको प्रदेश कमिटीको बैठकले थापाको दुई महिनासम्मको निलम्बनलाई कायम राख्दै साधारण सदस्यको विषयको कारबाही फुकुवा गरेको छ । बैठकले थापाको महानगर अध्यक्षको जिम्मेवारी नरहने निर्णय गरेको छ । सहसचिव नेपाललाई ४ महिना र भट्टराईलाई ६ महिनासम्मको जिल्ला कमिटीको कारबाही गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनसँग जोडिएका विषयलाई अनुमोदन गरेको जानकारी दिए ।
विराटनगर महानगरका अध्यक्ष थापासहित ३ जनाको सदस्यता निलम्बनमा परेकोमा थापाको निलम्बन फुकुवा भएको, अन्य दुई जनामध्ये एकको ४ महिना र अर्कोको ६ महिनासम्म निलम्बन कायम रहने जिल्लाको निर्णयलाई प्रदेशले अनुमोदन गरेको खतिवडाले बताए ।
‘मानगढ खानेपानी उपभोक्ता समितिका विषयलाई लिएर केही समस्या उत्पन्न समस्या आएकै हो, सागर जी लगायतलाई जिल्ला कमिटीले कारबाही गरेको विषयमा उहाँहरूले प्रदेश कमिटीमा अपिल गर्नुभएको थियो’, अध्यक्ष खतिवडाले भने, ‘प्रदेश कमिटीले छानबिन गरेपछि जिल्लाले गरेको निर्णयमा सागरजीको हकमा दुई महिना भइसकेकाले त्यसको हकमा सदस्यता निलम्बन गर्नुपर्ने अवस्था नरहेकोले कारबाही फुकुवा भइसकेको छ।’
पार्टीको नीति, विधि र सिद्धान्त बाहिर गएको, नगर अध्यक्षले कन्ट्रोल गर्दागर्दै नसकेको, जिल्लाले नगर्नु भन्दाभन्दै पार्टी विपरीतका गतिविधि गरेकोले एक जनालाई चार महिना र अर्को उम्मेदवारलाई ६ महिना कारबाही गर्ने जिल्लाको निर्णय अनुमोदन भएको प्रदेश अध्यक्ष खतिवडाले जानकारी दिए ।
कार्यदलले दिएको सुझावको आधारमा कार्यकर्तालाई कारबाहीभन्दा पनि सचेतमात्र गराइएको खतिवडाको प्रस्टीकरण छ । एमाले मोरङ जिल्ला कमिटीका अध्यक्ष बाबुराम कार्कीले विराटनगर– ३ स्थित मानगढ खानेपानी संस्थाको निर्वाचनमा जिल्ला कमिटीले भनेको उम्मेदवारको विरुद्धमा प्रचारप्रसारमा लागेको भन्दै २०८१ जेठ ३१ मा तीनै जनालाई कारबाही गर्ने निर्णय गरेको पत्र दिएका थिए ।