परिवारसहित लन्डन सेटल भएका हुन् विराट कोहली ? एक्लै लखरलखर हिँडिरहेको भेटिए – Nepal Press

परिवारसहित लन्डन सेटल भएका हुन् विराट कोहली ? एक्लै लखरलखर हिँडिरहेको भेटिए

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली परिवारसहित बेलायतमा सेटल भएको अनुमान गर्न थालिएको छ । यस्तो अनुमानका थुप्रै आधार छन् ।

हालैमात्र विराटको एउटा सानो भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडिओमा कोहली एक्लै सडक क्रस गर्न लागेको देखिन्छन् । उनलाई त्यहाँ कसैले चिन्दैन ।

भारतले टी-२० विश्वकप क्रिकेट खेलेपश्चात कोहली श्रीमती र बच्चाहरु लिएर लन्डन गएका थिए । उनी त्यहाँबाट एक दिवसीय क्रिकेट खेल्न श्रीलंका आए । सिरिज भारतले हार्‍यो । त्यसलगत्तै विराट फेरि लन्डन पुगेका छन् ।

सार्वजनिक भएको भिडिओ केही दिनयताको ताजा भएको दाबी गरिएको छ । त्यसो त यसअघि पनि पटक-पटक कोहली लन्डनको सडकमा एक्लै बरालिँदै गरेको भेटिन्थे ।

पछिल्ला वर्षमा विराटको लन्डन आउजाउ निकै बाक्लिएको छ । विराटले भारत छोडेर लन्डनमै स्थायी बसोबास गर्ने योजना बुनेको चर्चा भारतीय मिडियामा केही समयदेखि भइरहेको थियो । अब भने उनी लन्डनमै स्थायी बसोबास गर्न थालेको चर्चा सुरु भएको छ ।

कोहली र उनकी पत्नी अनुष्का स्वतन्त्रताको खोजीमा लन्डन सिफ्ट भएको दाबी गरिएको छ । भारतमा दुवैलाई पब्लिकले चिन्ने भएकाले स्वतन्त्रतापूर्वक सडकमा हिँड्नसक्ने अवस्था हुँदैन । जहाँ गए पनि फ्यानहरुले घेर्छन् । त्यसैले कोहलीले लन्डन बसाइ रोजेका हुन् । त्यहाँ उनीहरु सर्वसाधारणको रुपमा निस्फिक्री जता पनि हिँड्न सक्छन् । खासै कसैले चिन्दैनन् । चिनिहाले पनि वास्ता गर्दैनन् ।

एक पटक लन्डन बसाइको अनुभव सुनाउँदै कोहलीले भनेका थिए, ‘हामी दुई महिना लन्डन बस्दा अद्भूत अनुभव भयो । परिवारसँग स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने र समय बिताउने अवसरका लागि म भगवानप्रति आभारी छु । सडकमा एउटा आमव्यक्तिका रुपमा हिँड्दा र कसैले नचिन्दाको अनुभव साँच्चै गजबको थियो ।’

कोहली र अनुष्काका एक छोरा र एक छोरी छन् । सबैभन्दा महत्वपूर्ण यो छ कि उनीहरुले आफ्नो दोस्रो सन्तानलाई लन्डनमै जन्म दिए । लन्डनमा स्थायी बसोबासको योजनाअनुसार नै यो निर्णय लिएको आँकलन गरिएको छ । गर्भवती भएपश्चात नै विराट अनुष्कालाई लिएर लन्डन गएका थिए । आफ्नो सन्तानलाई ब्रिटिस नागरिकता दिलाउन नै लन्डनमा बच्चा जन्माएको आरोप पनि विराट र अनुष्कालाई लगाइएको थियो । त्यसमा उनीहरुले खासै प्रतिवाद गरेनन् । यद्यपि बेलायतको कानूनअनुसार त्यहाँ जन्मनेबित्तिकै नागरिकता पाइहाल्दैन । बाबु वा आमामध्ये एक जना वा दुवैले लामो समय बेलायत बसोबास गरेको हुनुपर्छ ।

लन्डनमा विराटले घर पनि खरिद गरिसकेको बताइन्छ, तर यसको पुष्टि कसैले गरेको छैन । उनीहरुले भारतमा रहेको प्रपर्टी बेचेका छैनन् । कोहलीको मुम्बईमा आसिलान घर छ । उनको अर्को घर दिल्लीमा पनि छ । उनको आमा र भाइ दिल्लीको घरमा बस्छन् ।

कोहलीले सन् २०१५ मा दिल्लीको गुँडगावमा ४५ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको घर ८० करोड रुपैयाँमा खरिद गरेका थिए । लगत्तै सन् २०१६ मा मुम्बईको वर्लीमा ७ हजार स्क्वायर फिटमा फैलिएको फ्ल्याट खरिद गरे । ३४औं तल्लामा रहेको फ्ल्याटको मूल्य ३४ करोड रुपैयाँ रहेको छ । एक वर्षअघि मात्र उनले मुम्बई नजिक अलिबागमा होलिडे होम खरिद गरेका छन्, जसको भिडिओ उनले सोसल मिडियामा सेयर पनि गरेका थिए ।

दिल्लीको गुँडगावस्थित काेहलीकाे घर ।
मुम्बईस्थित अलिबागमा रहेकाे होलिडे होम ।

कोहली भारतका धनी खेलाडीभित्र पर्छन् । भारतमा उनका केही बिजनेस र थुप्रै स्पोन्सरसीपहरु छन् । उनलाई भारत चटक्कै छोड्न त्यति सहज भने छैन ।

भारतीय क्रिकेट टीमका महत्वपूर्ण खेलाडी हुन् । उमेरका हिसाबले उनी अझै २-३ वर्ष खेल्न सक्छन् । त्यतिञ्जेल भारत र लन्डन ओहोरदोहोर चलिरहनेछ । अनुष्काले पनि केही समय अभिनयलाई निरन्तरता दिने प्लान गरेकी छन् । एक अन्तर्वार्तामा उनले वर्षमा एक फिल्म खेल्ने र बाँकी रहेको समय परिवारलाई दिने बताएकी थिइन् । दोस्रो सन्तान जन्माएपछि अनुष्काले खासै फिल्म खेलेकी छैनन् ।

विराट कोहली यतिबेला भारतीय क्रिकेट बोर्डसँग असन्तुष्ट छन् । बोर्डले राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई बनाएपछि कोहली रुष्ट बनेका हुन् । गम्भीरसँग उनको पहिल्यैबाट राम्रो सम्बन्ध छैन । आईपीएलमा उनीहरुको झगडा परेको थियो । बोर्डले कोहलीलाई एक वचन नसोधिकन गम्भीरलाई टीमको जिम्मा दिएको हो । कोहलीले टी-२० क्रिकेटबाट सन्न्यास लिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर