पहिरोका कारण कुनैपनि सडक २ घण्टा बढी अवरुद्ध हुन दिदैनौं :  मन्त्री दाहाल (भिडिओ) – Nepal Press

पहिरोका कारण कुनैपनि सडक २ घण्टा बढी अवरुद्ध हुन दिदैनौं :  मन्त्री दाहाल (भिडिओ)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशका कुनैपनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले देशभरका जुनसुकै सडक खण्ड पहिरोका कारण दुई घण्टा भन्दा बढी अवरुद्ध नहुने बताएका हुन् । उनले सडक अवरुद्ध भएको अवस्थामा सडक खुलाउन आवश्यक उपकरणहरु तयारी अवस्थामा रहेको भन्दै जहाँ पहिरो गएपनि तत्कालै सुचारु हुने व्यवस्था मिलाइएको बताए ।

उनले नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोका कारण समस्या आइरहने भएकाले सो सडक खण्डलाई पहिलो प्राथमिकतामा राखिएको बताए । उनले सो सडक खण्डमा आइपर्ने समस्या समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताउनु भयो । नागढुंगा–मुग्लिङ सडक खण्ड एक घण्टा भन्दा बढी समय अवरुद्ध हुन नदिइएको उनको भनाइ छ ।

‘नागढुंगा–मुग्लिन सडकको हकमा सधैँभरी समस्या आइरहने ठाउँ हो । यसको बारेमा हामी एकदमै अलर्ट छौँ र एकदमै ध्यान दिएका छौँ । त्यहाँ पहिरो जाँदा हामीले एक घण्टा भन्दा बढी त्यहाँ रोक्न दिएका छौँ’, उनले भने, ‘अहिले हामीले देशभरीका लागि दुई घण्टा भन्दा बढी रोकिनु नपरोस् भनेर हामीले उपकरणहरु स्ट्याण्डबाइ राखेका छौँ । नागढुंगा–मुग्लिङ सडकलाई हामीले प्राथमिकतामा राखेका छौँ । यसलाई हामीले पहिलो प्राथमिकतामा राखेको अवस्था छ ।’

मन्त्री दाहालले सवारी चालक अनुमति पत्र छपाईको काम प्रदेशलाई पनि दिइने बताए । उनले छपाईको लोडलाई कम गर्नका लागि सम्बन्धित प्रदेशमै छपाई गरेर वितरण गर्ने व्यवस्था मिलाइने बताए । चालकले अनुमतिपत्र नपाउञ्जेलसम्मका लागि प्रयोग गर्ने रसिदलाई गुणस्तरिय बनाउने पनि उनले जानकारी दिए ।

‘हाम्रो यातायात हेर्ने मन्त्रीहरुको विषयगत समिति हुन्छ । त्यो समितिको बैठक बसेर हामीले निर्णय गरेर अब जुन रसिद हो त्यो ठूलो छ । त्यसलाई हामीले आइडी कार्डजस्तै बनाएर चेक गर्दाखेरी वास्तविक हो भन्ने कुरो पत्ता लाग्नेगरी फोटो राख्ने र क्युआर राख्ने । ट्राफिक प्रहरीसँग पनि कुरा गरिसकेका छौँ । बाक्लो काजगमा छापेर दिने वास्तविक लाइसेन्स नआउन्जेलसम्म यो व्यवस्था गर्ने’, उनले भने, ‘लाइसेन्स सेन्ट्रल डाटावेसमा सबै डाटाहरु रहनेगरी अब प्रदेशले पनि छाप्नेगरी उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ । प्रदेशले आ–आफ्नो प्रदेशमा छपाएर दिने । उहाँहरुलाई आवश्यक सहजीकरण संघबाट अथवा मन्त्रालयबाट गर्ने र उहाँहरुले लाइसेन्स छाप्ने । त्यसो हुँदा अहिले क्युमा बसेको लाइसेन्स दिन्छौँ । त्यसपछाडी तलबाटै लाइसेन्स दिने अवस्था बनेपछि यो समस्या नआउँला भन्ने लाग्छ ।’

उनले नारायणघाट–बुटवल सडकखण्ड निर्माणको विषय सरकारको टाउको दुखाइको विषय बनिरहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रयास भइरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर