थामेको ४० वर्ष अगाडिको त्यो हिमबाढी- स्वीस वैज्ञानिक खोजले देखाएको थियो यी क्षति – Nepal Press

थामेको ४० वर्ष अगाडिको त्यो हिमबाढी- स्वीस वैज्ञानिक खोजले देखाएको थियो यी क्षति

अहिलेको बाढीबारे विज्ञको टिप्पणी- सानो हिमतालले बजाएको ठूलो घण्टी

काठमाडौं । साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आयो । बाढीबारे अनेक आशंका भइरहँदा खुम्बु क्षेत्रमा पुगेका र त्यहाँको तालका जानकार आरोहण गाइड छिरिङ जाङ्बु शेर्पाको अनुमान थियो, ‘पक्कै हिमताल फुटेर हो ।’

बाढीको भिडिओ र तस्बिर हेरेर शुक्रबार शेर्पाले गरेको अनुमान शनिबारै सही प्रमाणित भयो । सरकारका विज्ञहरूले हेलिकप्टर यात्राबाट अनुगमन गर्ने क्रममा हिमताल फुटेर बाढी आएको पाइयो ।

थामे क्षेत्रमा आएको बाढी यो नै पहिलो होइन । यसअघि २०४२ साउन २० को दिउँसो आएको बाढीले अहिलेभन्दा धेरै क्षति गरेको थियो । त्यो क्षतिबारेमा दुईजना स्विट्जरल्याण्डका वैज्ञानिकले स्थलगत अध्ययन गरेका थिए । उनीहरुले त्यो वैज्ञानिक खोजको रिपोर्ट ‘माउन्टेन रिसर्च एण्ड डिभेलपमेन्ट नामक जर्नल’ मा छापिएको थियो ।

Screenshot

बाढीको अर्को साल अर्थात सन् १९८६ फेब्रुअरीमा उक्त खोजमूलक लेख प्रकाशन भएको थियो । त्यो लेख लेख्ने वैज्ञानिकहरु थिए डेनियल भुइचार्ड र मार्कुस जिमरम्यान । उनीहरूको खोज नै थामे क्षेत्रमा ४ दशक अगाडि आएको बाढीको जानकारी दिने वैज्ञानिक आधार भएको छ ।

दिग्सो हिमताल फुटेर आएको बाढीको क्षतिको विवतरण उनीहरूले लेखमा दिएका छन् । दिग्सो तालबाट बाढी गएको ४२ किलोमिटर क्षेत्रको सर्वे गरेर दुई स्वीस वैज्ञानिकले यस्तो हिमबाढी अरु पनि आउने भन्दै सचेत गराएका थिए ।

यसकारण जोगिएको थियो धेरैको ज्यान

अहिलेको बाढीजस्तै २०४२ को बाढी पनि पर्यटनको मुख्य सिजनमा आएको थिएन । साउनको बाढी पर्यटकहरूका लागि जोखिम नभए पनि स्थानीयमा भने ज्यानको जोखिम थियो । खुम्बुका शेर्पाहरूको मौलिक चाडका कारण अझ सम्भावित क्षति टर्‍यो । वैज्ञानिकहरूले आफ्नो लेखमा शेर्पाले मनाउने तीन दिने चाड ‘फाङ्ही’ का कारण ५ जनाले मात्रै ज्यान गुमाएको भन्दै चाड नपरेको भए धेरैको ज्यान जानसक्ने उल्लेख छ ।

यो पनि पढ्नुहोस्- थामेमा ४० वर्षअघि पनि साउनमै आएको थियो बाढी, के भन्छन् जलवायु विज्ञ ?

त्यो बेलाको बाढीले हरेक शनिबार लाग्ने हाट झण्डै एक महिना बन्द भएको थियो । यसो हुनुको मुख्य कारण पुल तथा बाटोमा पुगेको ठूलो क्षति थियो । हाट खुलेपछि सामान्य उपभोग्य वस्तुको भाउ ५० प्रतिशतले बढेको थियो ।

घरदेखि जलविद्युतसम्म क्षति

सन् १९८५ अगस्ट १२ मा राइजिङ नेपालमा प्रकाशित समाचारका अनुसार त्यसताका ३० घरमा क्षति भएको छ । हिमबाढीका कारण लाङ्बोचे उपत्यका र जुबिङको बीच भागमा पर्ने सबै १४ पुल बगेका थिए । जोरसल्ले, फाक्दिङ, जुबिङका अग्ला झेलुङ्गे पुलहरू बगेका थिए ।

Screenshot

२०४२ को बाढीमा ३० लाख अमेरिकी डलर बराबर क्षति भएको स्वीस वैज्ञानिकले आँकलन गरेका थिए । त्यसमा आधाजसो रकम थामे जलविद्युत आयोजनाको थियो । उक्त आयोजनाका लागि नेपाल सरकारले साढे दुई करोड रूपैयाँ (तत्कालीन १५ लाख अमेरिकी डलर) लगानी गरेको थियो । उक्त जलविद्युत सञ्चालनमा नआई क्षति पुगेको हो ।

२०३४ मा पनि आएको थियो खुम्बुमा हिमबाढी

२०३४ भदौ १८ गते खुम्बुमा नरे ताल फुटेर बाढी आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा २०११ मा सार्वजनिक नेपालका हिमताल तथा हिमताल फुटेर आउने बाढीबारेको एक अध्ययनले देखाएको छ । स्वीस वैज्ञानिकहरूले २०४२ को बाढीको कुरा गर्दा २०३४ को बाढीको पनि प्रसंग ल्याएका छन् । तर, २०४२ मा दुईदेखि चार गुणा धेरै क्षति भएको लेखमा स्थानीयलाई उद्धृत गरिएको छ ।

यो पनि पढ्नुहोस्- थामे बाढी : हिमताल फुटेर बाढी आएको पुष्टि (तस्बिरर भिडिओ)

इसिमोडका अनुसार २०३४ मा तीनजनाको ज्यान गएको थियो । बाढीको असर ३५ किलोमिटर तलसम्म देखिएको थियो । बाढी आएको दुई वर्षपछि सन् १९७९ मार्चमा खुम्बु पुगेका संयुक्त राष्ट्रसंघ विश्वविद्यालयका प्रतिनिधिहरूले हिमाली क्षेत्रको जोखिम मापन गर्ने क्रममा हिमताल फुटेर बाढी गएको केही संकेत देखेका थिए ।

२०८१ साउन ३१ दिउँसो हिमताल फुटेर आएको बाढीले क्षति पुर्‍याएको थामे गाउँ ।

हिमबाढीबाट बच्न के गर्ने के नगर्ने ?

नेपालमा हिमबाढी नयाँ होइन । इसिमोडको तथ्यांकले नेपालमा ४५० वर्ष अगाडिबाटै हिमबाढी भएको बताएको छ । माछापुच्छ्रेका उत्तरी क्षेत्रको सेती खोलामा आएको हिमबाढी ४५० वर्ष पुरानो भएको जियोमोर्फोलोजिकल स्टडीको स्थलगत तथ्यांकले देखाएको छ । चीनको चाइनिज एकेडेमी अफ साइन्सेजमा आबद्ध तथा नेपाल र तिब्बत दुवैतर्फबाट हिमाली अध्ययन गरेका नेपाली वैज्ञानिक डिबी कट्टेल नेपालले कतिपय विपत् जन्मजात ल्याएको बताउँछन् ।

उनी भन्छन्, ‘देशको भौगोलिक अवस्थितिको कारणले भूकम्प, बाढी तथा पहिरो हामीले जन्मजात विरासतकै रूपमा लिएर आएका छौँ ।’

त्यसो भए हिमबाढीबाट बच्न के गर्ने, के गर्ने ? यसबारे नेपाल प्रेसले चीनको छङ्तुमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजमा हिमाली खतरा र वातावरण क्षेत्रमा विद्यावारिधि गर्दै गरेका नेपाली अनुसन्धानकर्ता नितेश खड्काले सचेत हुनुको विकल्प नभएको बताए ।

गत महिना दी साइन्स अफ दी टोटल इन्भारोमेन्ट जर्नलमा नेपाल-चीनको सीमा क्षेत्रको हिमताल बाढीको जोखिमबारे लेख लेखेका खड्का भन्छन्, ‘नेपालमा हिमताल बन्ने र फैलने प्रवृत्ति बढेको छ । खासगरी सन् १९८७ देखि २०१७ को आँकडा हेर्दा २५ प्रतिशत सतह बढेको देखिन्छ । बर्खाको समयमा साना तालहरू फुट्ने र त्यसले प्रभाव पार्ने गरेको देखिन्छ ।’

४० वर्षअघिको बाढीले क्षति पुर्‍याएको संरचनाको एक झलक ।

तर, सबै ताल फुट्नु आफैँमा समस्या भने नभएको भन्दै खड्काले नेपालमा ताल फुटेको क्षेत्रमा पूर्वाधार, सडक तथा मानव बस्ती तथा पर्यटन क्षेत्र हुने भएकोले क्षति देखिएको बताए । क्षति कम गर्न पर्यटन क्षेत्रको रुट, मानव बस्तीको अवस्थिति तथा पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘हजारौँ ताल भएकाले सबैलाई पानी निकालेर फाल्न सकिन्न । बरु मुनिको बस्तीमा पूर्वसूचना र पूर्वाधार विकासमा ध्यान दिएमा सहज हुन्छ ।’

तालको प्रकृति बुझ्न अनुसन्धान हुनुपर्नेमा जोड दिादै उनले अहिलेसम्मको अनुसन्धान छोरोल्पा, इम्जा, बरुन सो जस्ता ठूल्ठूला बेसिन लेकहरूमा मात्रै रहेको सुनाए ।

सन् २०१० बाट सगरमाथा क्षेत्रमा वातावरणको अध्ययन गरेका नेपालका जलवायु विज्ञ सहप्राध्याक सुदीप ठकुरी जोखिम साना तालबाट पनि हुनसक्ने बताउँछन् । थामेको शुक्रबारको बाढीबारे उनको टिप्पणी छ, ‘सानो हिमतालले बजाएको ठूलो घण्टी ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर