अनलाइनबाट ५ दिनभित्रै समकक्षता प्रमाणपत्र पाइने – Nepal Press

अनलाइनबाट ५ दिनभित्रै समकक्षता प्रमाणपत्र पाइने

काठमाडौं । अनलाइन आवेदन पेश गरेको बढीमा ५ दिनभित्रै अब समकक्षता प्रमाणपत्र उपलब्ध गराइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार अनलाइन आवेदन पेश भएको बढीमा ५ दिनभित्र पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले समकक्षता प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको हो ।

आवश्यक कागजात पेश भइसकेको भए पनि समकक्षता उपलब्ध गराउन कुनै ढिलासुस्ती भएमा मन्त्रालयलाई जानकारी गराउन मन्त्री भट्टराईले बताइन् ।

पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले छोराको समकक्षता प्रमाणपत्र लिँदा ५ हजार घुस बुझाएको भन्दै प्रतिनिधिसभा बैठकमा जानकारी दिएका थिए । त्यसपछि मन्त्री भट्टराईले कर्मचारीले चाहेमा एक दिनमै समकक्षता तयार हुने गरेको भन्दै बढीमा ५ दिनमा समकक्षता उपलब्ध गराउन १५ दिनअघि नै केन्द्रलाई निर्देशन दिएकी थिइन् ।

यसअघि अनलाइनमा आवेदन दिएको कम्तीमा १२ दिनमा मात्रै समकक्षता प्रमाणपत्र उपलब्ध गराइन्थ्यो ।

नेपालमा सञ्चालित स्वदेशी वा विदेशी शिक्षण संस्था वा बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यमिक तह (कक्षा १० र १२)सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षतापत्र आवश्यक विद्यार्थीले माध्यमिक शिक्षा (कक्षा १० र १२) सरह मान्यता तथा समकक्षता निर्देशिका २०७३ (दोस्रो संशोधनसमेत)मा भएको व्यवस्था र मान्यता तथा समकक्षता निर्धारण समितिको समयसमयमा भएका निर्णयका आधारमा लिँदै आएका छन् ।

२०७९ पुस १ देखि मान्यता तथा समकक्षताको आवेदनलाई पूर्ण रूपमा अनलाइन गरिएको र २०८१ जेठ १७ देखि अनलाइनबाट मात्र उपलब्ध गराइँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर