टीआरसी विधेयक राष्ट्रियसभाबाट बिहीबार पारित गर्ने तयारी
काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट टीआरसी विधेयक बिहीबार पारित गर्ने तयारी भएको छ ।
आइतबार सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेश गरेका थिए ।
राष्ट्रियसभामा छलफलपछि बिहीबार विधेयक पारित गर्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले बताए ।
प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालले गरेको कार्यक्रममा उनले भने, ‘१८ वर्षसम्म अलमलमा परेर निष्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाको बाँकी काम टीआरसी विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरिसकेका छौं । भाद्र ६ गते त्यो राष्ट्रियसभाबाट पारित गरेर चाँडै संक्रमणकालीन न्यायका विषयहरुलाई सम्बोधन गर्छौं ।’
टीआरसी विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । १८ वर्षदेखि सत्ताको दाउपेचको कारणले टुंगिन नसकेको विधेयक कांग्रेस, एमाले र माओवादी केन्द्रले शीर्ष तहमा सहमति जुटाएपछि विधेयक पारित गरेर शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुग्ने भएको हो ।