अर्गानिक खेतीका अगुवा किसान बने पशु प्राविधिक रामनाथ
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका- १४ बेलबरियाका रामनाथ उपाध्याय लामो समय पेटको बिरामी थिए । यसको उपचारका लागि उनले अस्पतालमा धेरै रकम खर्च गरे, तर भान्सा सुधार नगरेसम्म उनको स्वास्थ्य सुध्रिएन । जसै आफ्नो स्वास्थ्यमा सुधार आयो, रामनाथ पहिलेका सबै काम छाडेर अर्गानिक तरकारी खेतीमा लागे । अहिले उनी अर्गानिक तरकारी खेतीका अगुवा किसानले परिचित भएका छन् ।
२०५२ देखि २०५५ सालसम्म अन्नपूर्ण एग्रोभेटमा काम गरेका उनलाई तत्कालीन प्राविधिक प्रमुख चित्रबहादुर गौतमले तालिमका लागि एउटा अवसर देखाएका थिए । गौतमकै सुझावअनुसार उनले दाङमा रहेको राप्ती प्राविधिक शिक्षालयमा ३ महिनाको जेटीए तालिम लिए । आफ्नो रुचि कृषि क्षेत्रमा हुँदा पनि उनले पशुतर्फको भेटेनरी जेटीएको तालिम लिएका थिए । तालिमपश्चात उनी पुनः अन्नपूर्णमै फर्के । उनले आफ्नै एग्रोभेट पनि चलाए, तर भेटेनेरीको काममा सन्तोष नलागेपछि रामनाथ कृषि क्षेत्रमा लागे ।
उनले बेलबरियाको आफ्नै जग्गामा व्यवसायिक कृषि अघि बढाए । रामनाथले १ विघा १० कट्ठाभन्दा बढी क्षेत्रफलमा खाद्यान्न, तरकारी र फलफूल खेती सँगसँगै मलको लागि गाईपालन गरेका छन् । कुनै समय १५ वटासम्म पशु पालेका उनको फार्ममा अहिले ४ वटा गाई र दुइटा बाच्छाबाच्छी छन् ।
‘पशुविना कृषि सम्भव रहेनछ, अर्गानिक कृषिका लागि त अझ पशुपालन गर्नैपर्यो’, उनी भन्छन्, ‘रुचिअनुसारको काम गर्न पाएपछि धेरै सन्तोष हुने रहेछ, पहिले बजारमा धेरै प्रतिस्पर्धा थियो, तर अर्गानिक खेती प्रणाली थालेपछि आफू पनि निरोगी भइयो, अरुलाई पनि सिकाउन पाइएको छ ।’
अहिले उनको फार्ममा घिरौला, लौका, काँक्रा, तीतेकरेलालगायत लोभलाग्दो फलेका छन् । यस्तै यसपछिको सिजनमा लगाउने तरकारीका लागि उनले अहिले नर्सरीमा विरुवा उत्पादन गरिरहेका छन् । बढी भएको बिक्री वितरणसमेत गर्ने गरेको उनले बताए । उनको उत्पादन बुटवल जैविक तरकारी उपज तथा संकलन केन्द्रले खरिद गर्दै आएको छ । कतिपय व्यवसायीले घरमै आएर लैजाने रामनाथ बताउँछन् ।
धौलागिरी कृषि तथा पशुपंक्षी फार्म स्थापना गरेका उपाध्यायलाई अहिले बुटवल उपमहानगरपालिकाले पनि सघाएको छ । उपमहानगरले अर्गानिक खेतीलाई प्रोत्साहन गर्न अर्गानिक उत्पादन अनिवार्य उपभोग गर्ने नीति ल्याउनुपर्ने उनको भनाइ छ ।
बुटवल उपमहानगरका कर्मचारी, जनप्रतिनिधिहरुसँगै सरकारी क्यान्टिनमा अनिवार्य रुपमा बुटवलमै उत्पादित अर्गानिक तरकारी प्रयोग गर्नुपर्ने नियम बनाउनुपर्नेमा उनले जोड दिए । ‘यो नियम आउनेबित्तिकै अझ व्यापक रुपमा बुटवलमा अर्गानिक खेती फस्टाउनेछ’, रामनाथले भने ।
उनका अनुसार तरकारी खेती र पशुपालनबाट आउने आम्दानी घर खर्च चलाउनमात्रै ठिक्क छ । वर्षमा ३-४ लाख आम्दानी हुने गरेको उनी बताउँछन् । अर्गानिक उत्पादन अन्य तरकारीभन्दा केही महँगो पर्ने भए पनि उपभोक्ताले त्यो बुझ्न नसकेको उनको भनाइ छ ।
‘विषादी हालेको उत्पादन छिटो हुन्छ, राम्रो देखिन्छ, तर अर्गानिकवाला केही बाँगोटिंगो हुन्छन्, कम उत्पादन हुनसक्छ । त्यसैले लागतअनुसार अलि महँगो पनि हुन्छ, यसबारे उपभोक्तामा सचेतना बढाउनुपर्छ’, उनले भने ।
उनले आफ्नोमात्रै जमिन नपुगेर १० कट्ठा भाडामा लिएका छन् । बुटवल १४ र १५ वडाका अधिकांश किसानले आफ्नो बालीमा समस्या आयो भने रामनाथसँग सल्लाह लिने गरेका छन् । आफूले जानेको कुरा सिकाउने कति समस्या आफै समाधान गर्न सघाउने उनी बताउँछन् ।
प्रविधिको प्रयोगबाट घरमै समस्याको पहिचान गरी सोहीअनुसारको उपचार गर्न सल्लाह दिँदै आएको उनको भनाइ छ । उनले अन्य किसानलाई पनि आफूले जस्तै अर्गानिक खेती गर्न र सोहीअनुसार विषादी वा मल प्रयोग गर्न सल्लाहसुझाव दिँदै आएका छन् ।
रामनाथकी छोरी पशु प्राविधिक छिन्, जाे कोशी प्रदेशमा स्थायी जागिरे छिन् । कक्षा १२ पास गरेका छोरालाई भने केमिकल इन्जिनियर पढाउने योजना रहेको उनले सुनाए ।