कांग्रेसका ´फरार सांसद` सदनमा उपस्थित, प्रहरी रमिते – Nepal Press

कांग्रेसका ´फरार सांसद` सदनमा उपस्थित, प्रहरी रमिते

दाङ । कांग्रेसका ´फरार सांसद` धनबहादुर केसी उर्फ डीबी लुम्बिनी प्रदेशसभामा उपस्थित भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन उनी प्रदेशसभा बैठकमा आइपुगेका हुन् ।

गत साउन ७ गते नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का नेता आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदैछन् । उनलाई विश्वासको मत दिन केहीबेरअघि उनी बैठकस्थलमा आइपुगे ।

सम्बन्ध विच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको हो । २०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरीवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका छैनन् । कानुनतः केसी सांसदको उम्मेदवार समेत बन्न योग्य नभएको भन्दै आलोचनाबीच उनी रूकुमपूर्वको प्रदेश (ख) सांसद निर्वाचित भए ।

केसीलाई तत्काल पक्राउ गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल माओवादीका प्रमुख सचेतक इन्द्रजीत थारूले माग गरे ।

´अदालतबाट दोषी प्रमाणित भएका व्यक्ति सदनमा होइन जेलमा हुनुपर्छ`, थारूले नेपाल प्रेससँग भने,´जेलमा बस्नुपर्ने मान्छे सदनमा बस्नु कानूनी राज्यको उपहास हो ।’

लुम्बिनी प्रदेश प्रहरी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले यस विषयमा आफूले बुझ्नुपर्ने बताए । दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले पनि यसबारेमा बुझ्नुपर्ने बताए । प्रहरीका एक उच्च अधिकारीले गृहमन्त्री रमेश लेखकले सांसद केसीलाई पक्राउ नगर्न दबाब दिएको दाबी गरे ।

´पक्राउ नगर्न गृहमन्त्रीको दबाब छ`, उनले भने,´फरार मान्छे संसदमा देख्दा पनि हामी रमिते बन्न बाध्य छौँ ।`

(प्रदेश सभा सचिवालयमा आज हाजिर गर्दै केसी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर