कमला पुल बनाउन माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन, वडाध्यक्षहरू पनि सहभागी (भिडिओ)
काठमाडौं । धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीय युवाले सामूहिक आमरण अनशन थालेका छन् ।
कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषाको अगुवाइमा आन्दोलित युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि अनशन बसेका हुन् । गत साता मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणको प्रक्रिया अगाडि बढाउन माग राख्दै ७ दिने अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाइएको थियो ।
तर, मुख्यमन्त्रीले आफूहरूको मागप्रति बेवास्ता गरेपछि आमरण अनशनमा बसेको संघर्ष समितिका संयोजक प्रवीण यादवले बताए । उनीसँगै सिरहाको औरही- ४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका-४ का वडाध्यक्ष समशाद आलम, सिरहा-६ का वडाध्यक्ष इन्द्रजति यादव, सिरहा ८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादवलगायत १० जना अनशन बसेका छन् ।
मुख्यमन्त्री सिंहले सरकारले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफैँ गम्भिर रहेकोले युवाहरू आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘सिरहा-धनुषाका साथीहरूले मलाई एक सूत्रीय माग राखेर ज्ञापन पत्र बुझाउनुभएको थियो, उहाँहरूकै ज्ञापन पत्रमा एकसाता भित्र नयाँ पुल निर्माण सम्भव नरहेको र यसका लागि संघ सरकारसँग पहल गर्न भन्नु भएको रहेछ । मागलाई गम्भीरताका साथ लिएर सोही दिन हामीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई बोधार्थ राखेर संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मागसहित पत्र पनि लेखिसकेका छौँ ।’
मधेश सरकारको गत साउन ३१ गते बसेको मन्त्रिपरिषद बैठकबाट हुलाकी राजमार्ग अन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णय समेत गरिएको उनले बताए । संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफैँ बजेट छुट्याएर पुल बनाउन सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल अघि बढाइएको उनको भनाइ छ ।