बुटवलमा मगर साहित्य महोत्सवको तयारी
रुपन्देही । बुटवलमा वृहत मगर साहित्य महोत्सवको तयारी गरिएको छ । आगामी मंसिर २१ र २२ गते नेपाल मगर महिला संघ रुपन्देहीले आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सवमा मगर संस्कृति, कला र साहित्यका क्षेत्रमा विशेष छलफल गर्ने तयारी छ ।
मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसनको आयोजना गरिने महोत्सव प्रचार समितिका संयोजक यम रानाले बताए ।
देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ दर्जन बढी देशहरुमा उप समिति गठन गरी तयारीलाई अघि बढाइएको प्रचार संयोजक रानाले जानकारी दिए ।
महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने गाहाले जानकारी दिए ।
सम्मेलन सम्पन्न गर्न २० लाख खर्च अनुमान गरिएको छ भने उक्त रकम सहयोग संकलन, मगर चलचित्र च्यारिटी शो, विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन, क्यूआर कोडबाट न्यूनतम १० रुपैयाँ दान अभियान तथा स्थानीय सरकारसँग सहकार्य गरी संकलन गरिने उनले बताए ।
सम्मेलनमा आदिकवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने महोत्सव मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् ।