तरुण दलका सदस्यहरुमाथि आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न संसदमा सांसद भण्डारीको माग (भिडिओ)
काठमाडौं । सांसद शंकर भण्डारीले बाँके विनौनाका तरुण दलका सदस्यहरु सुलभ मल्ल र सन्दीप विष्टलाई आक्रमणमा संलग्न कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
सांसद भण्डारीले बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग गरेका हुन् । राजनीतिक आवरणमा लुकेका अपराधीहरुबाट खुँडा प्रहारबाट आततायी घटना घटाइएको सांसद भण्डारीको भनाइ थियो ।
घटनामा वडा अध्यक्ष ज्ञानेन्द्र वलीको समूहको संलग्नता रहेको हुँदा उनीहरुलाई कडा कारबाही गर्नुपर्ने सांसद भण्डारीको माग रहेको थियो । देशमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने र हरेक नागरिकको जीउ धनको सुरक्षा गर्ने जिम्मेवारी सरकारको भएको सांसद भण्डारीको भनाइ थियो ।
आक्रमणमा परी घाइते भएका तरुण मल्ल र विष्टको उपचार खर्च सरकारले व्यहोर्नसमेत सांसद भण्डारीले माग गरेका थिए । त्यस्तै, घाइतेहरुको स्वास्थ्य लाभको कामनासमेत सांसद भण्डारीले गरेका थिए । संसदमा बोल्ने क्रममा सांसद भण्डारीले पछिल्लो केही दिन यता वर्षाका कारण प्रमुख राजमार्गहरु अवरुद्ध हुन पुगेको हुँदा त्यसतर्फ समेत सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिएका थिए ।